२०८३ बैशाख १३

निर्वाचनस्थलबाट पोखरेलको संयमित सन्देश: नतिजा जे आए पनि स्वीकार्य छ, प्रतिस्पर्धालाई अन्यथा नलिऔँ

काठमाडौँ । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले निर्वाचनको परिणाम जस्तोसुकै आए पनि स्वीकार्य हुने स्पष्ट पारेका छन् ।

बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पोखरेलले पार्टीभित्र प्रतिस्पर्धाको राजनीति एमालेले आत्मसाथ गरेको सिद्धान्त भएकाले यसलाई अन्यथा लिन नहुने बताए ।

पार्टीभित्र हुने प्रतिस्पर्धाले पार्टीलाई थप मजबुत र लोकतान्त्रिक बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।

उनले भने, ‘पार्टीभित्र प्रतिस्पर्धाको राजनीति भनेको हामीले आत्मसाथ गरेको विचार हो । त्यसकारण यसलाई के के न होला भनेर सोच्नु हुँदैन, अरु पार्टीले यस्तो गरेको भए ओहो उत्पात राम्रो भनिन्थ्यो ।’

एमालेले प्रतिस्पर्धाको अभ्यास गर्दा यसलाई राम्रो भन्नुपर्ने उनको भनाइ थियो । ‘प्रतिस्पर्धा गर्न तयार हुनेले प्रतिस्पर्धाबाट प्राप्त हुने परिणामलाई पनि स्वीकार गर्छ, हामी स्विकार्छौँ,’ उनले भने । महाधिवेशन प्रतिनिधिहरूले स्वविवेक प्रयोग गर्ने भन्दै उनीहरूको मतको कदर गर्दै अगाढि बढ्नुपर्नेमा पोखरेलले जोड दिए ।