२०८३ बैशाख १३

एमाले महाधिवेशनको मतगणना तयारी पूरा, सबै पदको नतिजा एकैपटक सार्वजनिक हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतपरिणाम एकैसाथ सार्वजनिक गरिने भएको छ। एमाले निर्वाचन आयोगका अनुसार अध्यक्षसहित सबै पदका उम्मेदवारको नतिजा छुट्टाछुट्टै नभई एकैपटक घोषणा गर्ने तयारी गरिएको हो ।

आयोगका अनुसार विद्युतीय भोटिङ मेसिनबाट चिप निकाल्ने काम अन्तिम चरणमा पुगेको छ। यो प्रक्रिया पूरा हुनासाथ मतगणना सुरु गरिनेछ। मतगणना सुरु भएपछि करिब तीन घण्टाभित्र सबै पदको अन्तिम परिणाम आउने अनुमान गरिएको छ।

नयाँ नेतृत्वका लागि भएको मतदानमा कुल २ हजार २६३ प्रतिनिधिमध्ये २ हजार २२७ जनाले मताधिकार प्रयोग गरेका थिए। बाँकी ३६ प्रतिनिधि विभिन्न कारणले मतदानमा सहभागी हुन सकेनन्।

लामो समयदेखि प्रतीक्षामा रहेका प्रतिनिधि, कार्यकर्ता र राजनीतिक वृत्तको नजर अहिले मतगणनाको सुरुवात र अन्तिम नतिजातर्फ केन्द्रित भएको छ। महाधिवेशनको नतिजाले एमालेको आगामी नेतृत्व र राजनीतिक दिशा निर्धारण गर्ने भएकाले पार्टीभित्र चासो थपिएको छ।