२०८३ बैशाख १३

प्रचण्डको चेतावनी: स्टन्टबाजी गरेका तत्वहरू हाबी भए, यसले देश र जनतालाई भ्रममा नपारोस

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको राजनीतिमा विचारभन्दा बढी स्टन्टबाजी हाबी हुँदै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा गरिने क्षणिक प्रदर्शनकै भरमा समाजलाई भ्रमित पार्ने प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाइरहेको प्रचण्डको टिप्पणी छ।

शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले आफूहरूले नेतृत्व गरेको नेकपा कुनै व्यक्ति वा स्टन्टमा होइन, विचार र सिद्धान्तको जगमा अघि बढ्ने पार्टी भएको स्पष्ट पारे। उनले विगतका कठिन परिस्थितिको स्मरण गर्दै भदौ २४ पछिको अवस्थाले देश केही समय राज्यविहीनताको किनारमा पुगेको बताए।

प्रचण्डका अनुसार त्यतिबेला राष्ट्रिय स्वाधीनता, आत्मनिर्णयको अधिकार र जनताको सार्वभौमसत्तामै खतरा देखिएको थियो। देश थप दुर्घटनातर्फ नजाओस् र संविधान जोगियोस् भन्ने उद्देश्यले नै वर्तमान सरकार गठनमा सहजीकरण गरिएको उनले दाबी गरे।

उनले आजको आवश्यकता राष्ट्रिय एकता भएको उल्लेख गर्दै अब आफूहरू विगतभन्दा फरक सोच र कार्यशैलीका साथ अघि बढ्ने प्रतिबद्धता जनाए। नेपालकै राजनीतिक इतिहासमा १६ घटकलाई एकताबद्ध गर्न सफल भएको प्रसंग उल्लेख गर्दै प्रचण्डले सहकार्य नै देशको निकास भएको बताए।

आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचन नसार्न उनले स्पष्ट चेतावनी दिए। संसद् पुनःस्थापना हुने कि निर्वाचन हुने भन्ने बहस चलिरहे पनि, संविधानलाई थप क्षति हुन नदिन निर्वाचन नै सबैभन्दा सहज र लोकतान्त्रिक बाटो भएको उनको भनाइ छ।

“निर्वाचन बिथोल्ने प्रयास कसैले नगरोस्,” प्रचण्डले भने, “नेपाली जनताको मतदानमार्फत आफ्नो भविष्य तय गर्ने चाहनालाई भ्रमित पार्ने अधिकार कसैलाई छैन।”

संसद् पुनःस्थापना गरेर पुरानै सरकार दोहोर्याउन सकिन्छ भन्ने भ्रममा नपर्न उनले आग्रह गरे। निर्वाचन अब अपरिहार्य विकल्प भएको उल्लेख गर्दै उनले नेपाली जनता चुनावका लागि मानसिक रूपमा तयार भइसकेको बताए।

अन्त्यमा प्रचण्डले कांग्रेस र एमालेलाई डबल स्टाण्डर्डको राजनीति नगर्न सुझाव दिँदै, घोषित मितिमै निर्वाचन सफल पार्न सबैको साझा जिम्मेवारी रहेको स्मरण गराए। साथै, जेन–जी आफ्नो मात्रै पेवा हो भन्ने भ्रम कसैले पनि नपाल्न उनले चेतावनी दिए।