काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आजदेखि औपचारिक भारत भ्रमणमा निस्कँदैछन्।
जेन-जी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछि उनको यो पहिलो औपचारिक विदेश यात्रा हो। जसलाई राजनीतिक रूपमा समेत अर्थपूर्ण तरिकाले हेरिएको छ ।
डा. भट्टराईको सचिवालयले आइतबार बिहान जारी गरेको विज्ञप्ति अनुसार, भ्रमणका क्रममा उनले भारतका बौद्धिक, कूटनीतिक र शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग भेटघाट तथा संवाद गर्नेछन्। ती भेटमा नेपाल-भारत सम्बन्ध, क्षेत्रीय सहकार्य, लोकतान्त्रिक अभ्यास र समसामयिक राजनीतिक मुद्दा मुख्य एजेन्डा रहने जनाइएको छ।
कार्यक्रमअन्तर्गत डा.भट्टराईले आईआईटी बम्बईमा आयोजना हुने टेकफेस्टमा “South Asia’s Democratic Future: Youth, Technology and Inclusive Democracy” विषयमा कीनोट सम्बोधन गर्नेछन्। युवापुस्ताको भूमिका, प्रविधिको प्रयोग र समावेशी लोकतन्त्रबारे उनको धारणा यस कार्यक्रममा केन्द्रमा रहनेछ।
त्यसैगरी, उनले नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टर (IIC) मा साउथ एसियन फोरम फर पिपुल्स इनिसिएटिभ (SAFPI) ले आयोजना गर्ने विशेष कार्यक्रममा मुख्य वक्ताका रूपमा सहभागिता जनाउने कार्यक्रम पनि तय भएको छ।
डा. भट्टराई पुस ९ गते नेपाल फर्किने तालिका रहेको छ। उनको सचिवालयद्वारा जारी प्रेस नोटमा यो भ्रमणले नेपाल-भारतबीचको आपसी समझदारी, मित्रता र लोकतान्त्रिक संवादलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।




