२०८३ बैशाख १३

मितेरी पुल बनेसँगै रसुवा नाकामा आजदेखि आवतजावत खुला

रसुवा । गत असार २४ गते आएको बाढीले क्षतिग्रस्त भएको रसुवागढीस्थित मितेरी पुल निर्माण भएसँगै आजदेखि नाका सञ्चालनमा आएको छ ।

मितेरी बेलिब्रिज पुलको निर्माण पुरा भएको र निरीक्षण समेत पास भएकाले आजदेखि सीमापार ढुवानीमा संलग्न चालक र यात्रुहरूलाई प्रवेश गर्न अनुमति दिइएको हो । यसअघि चीनियाँ पक्षले सूचना प्रकाशित गर्दै सबै  सम्बन्धित पक्षलाई आवश्यक तयारी पूरा गरी सवारी साधन लोड लगायतका अग्रिम तयारी गर्न आग्रह गर्दै आजदेखि आवतजावत शुरु हुने जानकारी गराएको थियो ।

नाकाबाट आयात निर्यातको गतिबिधि भने जनवरी १ देखि शुरु हुने भएको छ ।  

जी२१६ सीमा क्षेत्रमा सडक कालोपत्रेको काम भइरहेकाले जनवरी १ देखि अर्को बर्षको  जनवरी ८ सम्म आधा दिन मात्र सीमापार आवागमनका लागि प्रयोग हुने र यस अवधिमा चिनियाँ समय अनुसार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म आवागमन खुला रहनेछ भने बाँकी समय दुवै तर्फबाट आवागमन नियन्त्रण गरिने चिनियाँ पक्षले जानकारी दिएको छ ।

२०७६ जेठदेखि सञ्चालनमा आएको उक्त पुल बाढीले बगाएसँगै दुई देश बीचको सडकसम्पर्क बिच्छेद भएको छ । उक्त पुल चिनियाँ लगानीमा निर्माण भएको हो ।