सिराहा । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले सिराहाको लाहानचोकमा आफ्नो आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याउँदै नेपालमा सेवा विस्तार गरेको छ।
यससँगै लाहान तथा आसपासका शाओमी प्रयोगकर्ताले अब आफ्ना उपकरणको मर्मत, सेवा र प्राविधिक सहयोग सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
ग्राहकलाई छिटो, भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको यस सर्भिस सेन्टरबाट शाओमीका स्मार्टफोन, स्मार्टवाच, फिटनेस ब्यान्ड, इयरफोन, हेडफोन तथा अन्य आइओटी उपकरणहरूको मर्मत तथा प्राविधिक सेवा प्रदान गरिने कम्पनीले जनाएको छ। यहाँ शाओमीका वास्तविक (जेनुइन) स्पेयर पार्ट्स प्रयोग गरिने भएकाले सेवाको गुणस्तरमा कुनै सम्झौता नहुने विश्वास लिइएको छ।
सर्भिस सेन्टरको सञ्चालन टेलिडाइरेक्ट प्रा. लि. ले गर्नेछ, जुन रमेश कर्पअन्तर्गतको कम्पनी हो। टेलिडाइरेक्टले यसअघि पनि नेपालभर शाओमी ब्रान्डका लागि आधिकारिक सर्भिस प्रदान गर्दै आएको छ।
उद्घाटनको अवसरमा लाहानचोकस्थित सर्भिस सेन्टरले एक महिनासम्म विशेष अफर सार्वजनिक गरेको छ। यस अवधिमा ग्राहकहरूले सबै उपकरणको निःशुल्क सर्भिसिङ र सफ्टवेयर अपडेट पाउनेछन् भने वारन्टी बाहिर रहेका स्पेयर पार्ट्स तथा मर्मत सेवामा २५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। साथै, वारन्टी बाहिरका स्पेयर पार्ट्समा कुनै सर्भिस शुल्क नलाग्ने सुविधा पनि दिइनेछ।
यस अवसरमा शाओमी नेपालका प्रतिनिधिले भने, “लाहानमा आधिकारिक सर्भिस सेन्टर सञ्चालन गर्न पाउँदा हामी निकै खुसी छौँ। स्मार्टफोन मात्र नभई वेअरएबल्स र एयरबड्सजस्ता लोकप्रिय उपकरणहरूको पनि आधिकारिक सेवा उपलब्ध हुँदा उपभोक्ताले अझ सहज र सुरक्षित महसुस गर्नुहुनेछ। टेलिडाइरेक्टसँगको सहकार्यले सेवाको पहुँच र गुणस्तर दुवै बलियो बनाउने विश्वास छ।”
लाहानस्थित यस सर्भिस सेन्टरमा दक्ष र तालिमप्राप्त प्राविधिकहरू उपलब्ध रहनेछन्, जसले सामान्य मर्मतदेखि जटिल प्राविधिक समस्यासम्म आधिकारिक मापदण्डअनुसार सेवा प्रदान गर्नेछन्।
शाओमी प्रयोगकर्ताले तत्काल सल्लाह र सर्भिसका लागि सिधै उक्त केन्द्रमा सम्पर्क गर्न सक्नेछन्।




