२०८३ बैशाख १३

कम्बोडियामा अलपत्र परेका ५१ जना नेपालीको उद्दार

काठमाडौँ । कम्बोडियामा अलपत्र परेका ५१ जना नेपालीको उद्दार गरिएको छ । विभिन्न व्यक्तिको प्रलोभनमा परेर त्यहाँ पुगेका उनीहरूलाई अनलाइन ठगी केन्द्र, क्यासिनो तथा अन्य गैरकानुनी काममा लगाइएको थियो ।

नेपाली राजदूतावास बैंकक को पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरूको उद्दार गरिएको हो । गैरआवासीय नेपाली संघ कम्बोडियाको सहजीकरणमा उनीहरूलाई चैत्र १० गते कम्बोडियाबाट उडाएर चैत्र ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।

राजदूतावासका अनुसार कम्बोडियामा अझै पनि केही नेपाली अलपत्र अवस्थामा रहेका छन् । उनीहरूलाई पनि नेपाल फर्काउने प्रक्रिया अघि बढाइएको छ ।

कम्बोडियामा नेपालीहरूलाई अनलाइन ठगी लगायत गैरकानुनी काममा लगाइएको र धेरैजना बिना भिसा वा भिसा अवधि सकिएपछि पनि बसिरहेको जानकारी प्राप्त भएको दूतावासले जनाएको छ । यस्तो अवस्थामा रहेका नेपालीलाई तत्काल सम्पर्कमा आउन आग्रह गरिएको छ ।

त्यहाँ काम गर्ने क्रममा धेरै नेपालीको राहदानी कम्पनीले जफत गरेको वा हराएको गुनासो आएको छ । यस्तो अवस्थामा नेपाल फर्कनका लागि राजदूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमति पत्र उपलब्ध गराउने व्यवस्था रहेको जनाएको छ ।

पछिल्ला वर्षहरूमा कम्बोडिया जाने नेपालीको संख्या बढ्दो क्रममा रहेको देखिएको छ । सन् २०२१ मा १०१ जना पुगेका नेपाली सन् २०२५ सम्म आइपुग्दा ९ हजार ६७६ पुगेका छन् ।

राजदूतावासले वैदेशिक रोजगारीका लागि अनिवार्य रूपमा श्रम स्वीकृति लिएर मात्र जान र छिटो धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डजस्ता देशमा भ्रमणको बहानामा नजान पुनः आग्रह गरेको छ । साथै, यसबारे जनचेतना फैलाउन सञ्चार माध्यम र नागरिक समाजलाई समेत सहयोग गर्न अपिल गरिएको छ ।

Read More

इयु टी-२० बेल्जियममा ८ नेपाली खेलाडी खेल्ने

काठमाडौँ । बेल्जियममा हुने इयु टी-२० बेल्जियममा ८ नेपाली खेलाडी खेल्ने भएका छन् ।

आगामी जुन ६ देखि १४ सम्म हुने इयु टी-२० बेल्जियममा ६ फ्रेन्चाइजी सहभागी हुदैछन् । जसमा एकसेल युनाइटेड ब्रसेल्स, एन्टवर्प एङ्कर्स, गेन्ट ग्लेडिएटर्स, जेबी ब्रुगेस, लुभेन र लिज रेड लायन्स रहेका छन् ।

जेबी ब्रुगेसले मात्र नेपाली पाँच खेलाडीलाई अनुबन्ध गरेको छ । जसमा अनिल शाह, दिपेन्द्र सिंह ऐरी, गुलशन झा, इशान पाण्डे र ललित राजबंशी रहेका छन् ।

त्यसैगरी लिज रेड लायन्सले सन्दीप लामिछानेलाई अनुबन्ध गरेको छ भने गेन्ट ग्लेडिएटर्सले रोहित पौडेललाई अनुबन्ध गरेको छ । त्यस्तै एन्टवर्प एङ्कर्सले आसिफ सेखलाई अनुबन्ध गरेको छ ।

बेल्जियम क्रिकेट एसोसियसनको आयोजनामा पहिलो पटक इयु टी-२० बेल्जियम हुन लागेको हो । 

Read More

१ करोड ८४ लाख दर्शकले हेरे बिटिएसको पुनरागमन कन्सर्ट

काठमाडौँ । दक्षिण कोरियाली चर्चित सङ्गीत समूह बिटिएसको पुनरागमन कन्सर्टले विश्वभर ठूलो चर्चा पाएको छ । नेटफ्लिक्समार्फत प्रत्यक्ष प्रसारण गरिएको उक्त कन्सर्ट १ करोड ८४ लाख दर्शकले हेरेका छन् ।

शनिबार भएको एक घण्टाको कार्यक्रममा समूहका सबै सात सदस्यहरु जिन, सुगा, जे-होप, आरएम, जिमिन, भी र जङकुक एकैपटक मञ्चमा देखिएका थिए । सन् २०२२ अक्टोबरपछि पहिलोपटक उनीहरू सँगै प्रस्तुत भएका हुन् ।

कन्सर्ट दक्षिण कोरियाको सोलस्थित ग्वाङ्ह्वामुन स्क्वायरमा आयोजना गरिएको थियो, जहाँ करिब १ लाख ४ हजार दर्शक सहभागी भएका थिए । यद्यपि सुरक्षाका कारण मुख्य स्थलभित्र झण्डै २२ हजार दर्शकलाई मात्र प्रवेश दिइएको थियो । अन्यले वरपर राखिएका ठूला पर्दामार्फत कार्यक्रम हेरेका थिए ।

यो कार्यक्रम विश्वका १९० भन्दा बढी देशमा एकैसाथ प्रसारण गरिएको थियो । कन्सर्टपछि नेटफ्लिक्सको लोकप्रिय सूचीमा २४ देशमा शीर्ष स्थानमा पुगेको जनाइएको छ ।

कार्यक्रम व्यवस्थापनका लागि करिब ७ हजार प्रहरी परिचालन गरिएको थियो । भीड नियन्त्रणका लागि विशेष सुरक्षा प्रवन्ध गरिएको थियो ।

कन्सर्टसँगै समूहले विश्व भ्रमण पनि सुरु गरेको छ, जसमा ८२ वटा कार्यक्रम तय गरिएको छ । साथै ‘अरिराङ’ नामक नयाँ एल्बम पनि सार्वजनिक गर्ने तयारी छ ।

कन्सर्टपछि हाइबको सेयरमा भने गिरावट आएको छ । सोमबार कम्पनीको सेयर मूल्य करिब १५.५ प्रतिशतले घटेको छ । विश्लेषकका अनुसार पुनरागमनपछि कन्सर्ट, एल्बम बिक्री, सामग्री व्यापार र प्रसारणबाट समूहले १ अर्ब डलरभन्दा बढी आम्दानी गर्ने अपेक्षा गरिएको छ । बिटिएस हाइबको एक सिस्टर कम्पनिको रुपमा काम गर्दछ र हाइबको मुख्य आम्दानीको स्रोत बिटिएसलाई मानिन्छ र उनीहरूको विश्राम अवधिमा कम्पनीको नाफा घटेको थियो ।

Read More

सुन एकैदिन तोलाको १४ हजार ६ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको १४ हजार ६ सयले बढेर तोलाको २ लाख ८८ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ७३ हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४१५  रुपैयाँले बढेर ४९२० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४५०५ मा कारोबार भएको थियो ।    

Read More

आदित्य बिरला समुहले किन्यो रोयल च्यालेन्जर्स बैंगलुरु

काठमाडौँ । भारतको प्रसिद्ध आइपिएल फ्रेन्चाइजी रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) नयाँ लगानी समूहलाई बिक्री भएको छ । करिब १७८ करोड अमेरिकी डलरमा यो टोलीको पूर्ण स्वामित्व आदित्य बिरला समुहले किनेको हो ।

युनाइटेड स्पिरिट्स लिमिटेडले आदित्य बिरला समुहसहितको संयुक्त समूहले आरसिबीलाई किनेको हो । उक्त समूहमा टाइम्स अफ इन्डिया समूह, बोल्ट भेन्चर्स र ब्ल्याकस्टोनको लगानी रणनीति पनि समावेश छन् ।

सम्झौतापछि पुरुष र महिला दुवै टोली अब नयाँ समूहले सञ्चालन गर्नेछ । यसअघि यी टोलीहरू रोयल च्यालेन्जर्स स्पोर्ट्स प्राइभेट लिमिटेडमार्फत सञ्चालन हुँदै आएका थिए ।

सन् २०२१ मा भारतीय क्रिकेट नियन्त्रण बोर्डले लखनउ र अहमदाबाद टोली बेच्दा प्राप्त कुल रकमभन्दा पनि यो रकम बढी हो । हाल रोयल च्यालेन्जर्स बैंगलुरु पुरुष र महिला दुवै प्रतियोगितामा साविक विजेता टोली हुन् ।

यसअघि डियाजियोले क्रिकेट आफ्नो मुख्य व्यवसाय नभएको भन्दै लगानी पुनरावलोकन गरिरहेको जनाएको थियो र यो कारोबार चालु आर्थिक वर्षभित्रै टुंग्याउने लक्ष्य राखेको थियो । 

अब यो सम्झौता कार्यान्वयनका लागि भारतीय क्रिकेट नियन्त्रण बोर्ड र प्रतिस्पर्धा आयोगको स्वीकृति आवश्यक पर्ने बताइएको छ ।

सन् २००८ मा आईपिएल सुरु हुँदा बैंगलुरु टोली ११ करोड १६ लाख डलरमा खरिद गरिएको थियो । त्यसपछि यसको मूल्य उल्लेख्य रूपमा बढ्दै आएको छ ।

नयाँ लगानी समूहले टोलीप्रति गर्व व्यक्त गर्दै मैदानभित्र र बाहिर दुवै क्षेत्रमा नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।

यसअघि राजस्थान रोयललाई पनि अमेरिकी मूलका व्यवसायी काल सोमानीले करिब १.६३ अर्ब अमेरिकी डलरमा किन्ने सम्झौता गरेका छन । 

आइपिएलको नयाँ सिजन आगामी शनिबारदेखि शुरु हुदैछ । 

Read More

बेथिति हटाउने अभियान प्रधानमन्त्री, मन्त्री र सचिवबाट शुरु गरिनुपर्छ- महावीर पुन

काठमाडौँ । म्याग्दीबाट निर्वाचित सांसद महावीर पुनले  बेथितिहरु हटाउने अभियान प्रधानमन्त्रीसहित मन्त्रीहरु, नव निर्वाचित सांसदहरु, सचिवबाट शुरु गरिनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै पुनले अब आउने दिनहरुमा भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, नातावाद, कृपावाद, घुसखोरी, चाकरीवाज, भनसुनवाद सबै बेथितिहरु हटाउने अभियान प्रधानमन्त्री सहित मन्त्रीहरु, नव निर्वाचित सांसदहरु, सचिवहरु सहसचिवहरु बाटनै सुरु गर्नुपर्ने बताएका हुन् । 

उनले माथिका सुध्रिए भने तलका सुध्रिने भन्दै नवनिर्वाचित सासंदहरु भनसुनवाद, नातावाद र चाकरीवाज जस्ता नेपाली कुसंस्कारबाट टाढा बस्न सुझाव दिएका छन् ।

Read More

खाडी क्षेत्रमा अवस्था अनुकूल नभएपछि साम्बाले न्यूजील्याण्डमा गरिन् घुँडाको शल्यक्रिया

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको सफल शल्यक्रिया भएको छ ।

साम्बाले सामाजिक सञ्जालमार्फत बुधबार बिहान  न्युजील्यान्डको अकल्यान्डमा डाक्टर साइमन र उनको टोलीद्वारा शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएकी छन् ।

साम्बाका अनुसार खाडी क्षेत्रमा अवस्था अनुकूल नरहेका कारण कतारस्थित अस्पेटार अस्पताल पुग्न समस्या भएपछि विशेषज्ञको सुझावमा न्युजील्याण्डमै शल्यक्रिया गरिएको हो । अब चिकित्सककै निगरानीमा रिह्याब (पुनर्स्थापना) प्रक्रिया सुरु हुने र अवस्था सामान्य भएसँगै अस्पेटारमा निरन्तरता दिने उनले बताएकी छन् ।

उनले भनेकी छन्-

‘लामो प्रतिक्षापछि अन्तत: मेरो घुँडाको शल्यक्रिया भएको छ । बुधबार विहान डाक्टर साइमन र वँहाको टोलीबाट न्युजील्यान्डको अकल्यान्डमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको जानकारी गराउँदछु । खाडी क्षेत्रमा हाल अवस्था सामान्य नरहेकै कारण कतार र एस्पेटार पुग्न समस्या भएपछि त्यहाँकै सुझाव अनुसार न्युजील्यान्डमै उपलब्ध विशेषज्ञबाट मेरो शल्यक्रिया गरिएको छ । अब  यहाँको डाक्टकै निगरानीमा मेरो पुनर्स्थापनाको काम भोलिदेखि सुरू हुनेछ । स्थिति सामान्य हुनेबितिक्कै रिह्याब एस्पेटारमा निरन्तरता दिने जानकारी सबैमा गर्दछु । यस पिडाको घडीमा मलाई साथ दिनुहुने वेलिंगटन र अकल्यान्डमा रहनुभएका नेपाली परिवारलाई जति धन्यवाद दिएपनि कम हुन्छ ।

मेरो क्लब वेलिंगटन फिनिक्स र मेरो व्यवस्थापन टिमले दिनरात गरेर यो शल्यक्रियाको लागि समय मिलाउनुभएको छ । आम समर्थक जसले सधैं मेरो लागि सहयोग र माया दिनुभयो, त्यसै उर्जा लिएर म पुनरागमनको यात्रामा अघि बढेको छु । यहाँहरु सबैलाई हृदयदेखि धन्यवाद । अब सम्पूर्ण ध्यान पुनरागमनमा ।’

यसअघि उनले गत फागुन १४ गते (एक महिना अघि) उपचारका लागि आर्थिक सहयोगको सार्वजनिक अपिल गरेकी थिइन् । घुँडाको एसीएलमा राखिएको पुरानो ग्राफ्ट र एमसिएल दुवैमा चोट लागेकाले जटिल शल्यक्रिया आवश्यक परेको र अनुमानित ८० हजार अमेरिकी डलर खर्च लाग्ने उनले उल्लेख गरेकी थिइन् । शुभचिन्तक तथा विभिन्न संघसंस्थाबाट सहयोग प्राप्त भएपछि उनले २४ घण्टामै धन्यवाद दिँदै सहयोग संकलन रोकेकी थिइन् ।

साम्बाले उक्त अपिलमा उपचार प्रक्रियामा ढिलाइ भएको भन्दै अखिल नेपाल फुटबल संघप्रति असन्तुष्टि जनाएकी थिइन् । 

साम्बा न्युजील्याण्डको क्लब वेलिङ्टन फिनिक्सबाट खेल्नेक्रममा गत पुस ५ गते अस्ट्रेलियाको महिला फुटबल लिगअन्तर्गत ब्रिस्बेन रोअरविरुद्धको खेलमा घाइते भएकी थिइन् । खेलको दोस्रो हाफमा हावामा आएको बल हेड गर्ने क्रममा विपक्षी टोलीकी गोलकिपरसँग ठोक्किँदा उनको दाहिने घुँडामा गम्भीर चोट लागेको थियो ।

Read More

जुकरबर्गको ‘मेटाभर्स’ भिजन असफल हुदा गुमाए ८० बिलियन डलर

काठमाडौँ । २०२१ मा फेसबुकका संस्थापक मार्क जुकरबर्गले कम्पनीको नाम परिवर्तन गरेर ‘मेटा’ राख्दा, उनले एउटा भर्चुअल संसार (मेटाभर्स – भर्चुअल रियालिटी) को परिकल्पना गरे जहाँ मानिसहरू अवतारको रूपमा बस्ने, काम गर्ने र खेल्ने गर्थे । आज, त्यो दृष्टिकोण पतनको संघारमा छ । मेटाले हालै मेटाभर्समा काम गर्ने आफ्ना १० प्रतिशत कर्मचारीहरूलाई बर्खास्त गरेको छ ।

कम्पनीले जुन १५ देखि मानिसहरूले अब भिआर हेडसेटहरू मार्फत होराइजन वर्ल्ड्स जस्ता इमर्सिभ प्लेटफर्महरू प्रयोग गर्न सक्ने छैनन् । कम्पनीले लगभग ८० बिलियन डलर गुमाएको परियोजना अब समाप्त हुँदैछ ।

जुकरबर्गको यो महत्वाकांक्षी योजनालाई प्राविधिक संसारको सबैभन्दा महँगो असफलताहरू मध्ये एक मानिन्छ, किनकि कम्पनीको ध्यान अब एआईमा सरेको छ । जुकरबर्गले २०१४ मा लगभग २ बिलियन डलरमा कम्पनी अधिग्रहण गरेर यो यात्रा सुरु गरेका थिए । उनीहरू भर्चुअल रियालिटीले स्मार्टफोनहरू प्रतिस्थापन गर्नेमा विश्वस्त थिए । यस उद्देश्यका लागि, तिनीहरूले गेमिङ स्टुडियोहरू टेक ओभर गरे र विकासकर्ताहरूमा लाखौं खर्च गरे । कोभिड लकडाउनको समयमा, यो विचार क्रान्तिकारी देखिन्थ्यो, तर पछि वास्तविकता धेरै फरक साबित भयो । मेटाभर्सका प्रारम्भिक संस्करणहरू प्राविधिक कमजोरीहरूले भरिएका थिए, जसले गर्दा सामाजिक सञ्जालमा व्यापक उपहास भयो । लगभग ८० बिलियन डलर खर्च गरे पनि, यसले स्वीकार्यता पाउन सकेन ।

मेटाभर्स मात्र होइन, यस दौडमा प्रवेश गरेको विशाल एप्पलले पनि ठूलो धक्का भोग्यो । २०२४ मा सुरु भएको एप्पल भिजन प्रोको लागत लगभग ३५ सय डलर थियो, जुन एक औसत व्यक्तिको बजेटभन्दा धेरै बढी थियो । विश्लेषकहरू भीआर प्रविधिलाई स्वतन्त्र प्लेटफर्मको रूपमा स्थापित गर्नु अपेक्षा गरिएको भन्दा बढी गाह्रो र समय खपत गर्ने हुने विश्लेषण रहेको छ ।

डिज्नी जस्ता कम्पनीहरूले पनि आफ्ना प्रमुख मेटाभर्स अधिकारीहरूको पद हटाएका छन् । अब, मेटाभर्सले आफ्नो प्रमुख एप, होराइजन वर्ल्ड्सलाई भिआरबाट मोबाइल फोनमा सारेको छ र औपचारिक रूपमा परियोजनाको हार स्वीकार गरिएको छ ।

मेटाले हार स्वीकार गरेको छ । गत वर्ष एक सम्मेलनमा, जुकरबर्गले ‘मेटाभर्स’ शब्द दुई पटक मात्र उल्लेख गरेका थिए, जबकि ‘एआई’ २३ पटक उल्लेख गरेका थिए । कम्पनीले अब यस वर्ष ‘सुपर इन्टेलिजेन्ट’ एआई निर्माण गर्न १४ बिलियन डलर खर्च गर्ने योजना बनाएको छ । जुकरबर्गको नयाँ लक्ष्य भनेको मानिस जत्तिकै बुद्धिमान डिजिटल साथी सिर्जना गर्नु हो । जुकरबर्गले ‘मेटा’ भनेको भविष्य अब एआई डाटा सेन्टरहरू र कोडिङका तहहरू मुनि कतै गाडिएको छ ।

Read More

ग्रीजम्यानको अमेरिकी क्लब ओर्लान्डो सिटीमा दुई बर्षको सम्झौता

काठमाडौँ । फ्रान्सका चर्चित फुटबल खेलाडी एन्टोनी ग्रीजम्यानले अमेरिकी क्लब ओर्लान्डो सिटीमा दुई बर्षको सम्झौता गरेका छन् ।

ग्रीजम्यान एट्लेटिको म्याड्रिड छोडेर जुलाईदेखि ओर्लान्डो सिटीमा आवद्ध हुने भएका छन् । उनले ओर्लान्डो सिटीमा दुई वर्षको सम्झौता गरेका छन् र थप एक वर्ष नविकरणको विकल्प पनि रहको बताइएको छ । 

३५ बर्षिय ग्रीजम्यान यस सिजनको अन्त्यसम्म एट्लेटिकोमै रहनेछन् । यस अवधिमा टोलीले युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बार्सिलोनाविरुद्ध खेल्नेछ भने कोपा डेल रे फाइनलमा रियल सोसिडाडसँग प्रतिस्पर्धा गर्नेछ ।

सन् २०१८ मा विश्वकप जितेको फ्रान्स टोलीका सदस्य रहेका ग्रीजम्यानले सन् २०२४ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । उनी एट्लेटिको म्याड्रिडका सर्वाधिक गोलकर्ता हुन्, जहाँ उनले हालसम्म २१० गोल गरेका छन् । 

एट्लेटिकोसँगको सम्झौता सन् २०२७ सम्म रहेको भए पनि उनले अमेरिकी लिग खेल्ने निर्णय गरेका छन् ।

२०१४ देखि एट्लेटिकोमा खेलिरहेका ग्रीजम्यान बीचमा दुई बर्ष बार्सिलोनामा गएपनि बार्सिलोनामा सुखद क्यारियर नभएपछि उनी पुन: एट्लेटिकोमा फर्किएका थिए ।

Read More

काँग्रेसको केन्द्रीय समितिको बैठक आजपनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज पनि बस्दैछ । पार्टी प्रवक्ता देवराज चालिसेका काँग्रेसको बैठक आज बिहान ११ बजेदेखि शुरु हुने छ । 

मंगलबारदेखि शुरु भएको बैठकमा  केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रम जारी रहेको छ । मंगलबार २८ जना केन्द्रीय सदस्यले बोलेका थिए ।  

बैठकमा १५औँ नियमित महाधिवेशन तयारी, संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन, उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन र भ्रातृ सङ्घ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समिति लगायतका विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए ।

त्यस्तै मंगलबार बैठकमा सभापति गगन थापाले अगामी भदौ २४, २५ र २६ गतेसम्म १५औँ अधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका छन् ।

Read More