२०८३ जेष्ठ २

एमालेको संसदीय दलको उपनेता बनिन् पदमा अर्याल

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको उपनेतामा पदमा अर्याल मनोनित भएकी छन् ।

एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले उपनेतामा पद्मा अर्याललाई मनोयन गरेका हुन् ।

नेता बादलले यसअघि एमालेको संसदीय दलको प्रमुख सचेतकमा ऐन महर र सचेतकमा निशा घतानीलाई मनोनयन गरेका थिए ।

Read More

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको ४४ सयले बढेर तोलाको ३ लाख २ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ९८ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५५ रुपैयाँले बढेर ५६९५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५३४० मा कारोबार भएको थियो । 

Read More

गगन थापाले एसइईको नतिजा अपेक्षाकृत छिटो प्रकाशित गरेकोमा सरकारलाई दिए धन्यवाद

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले यस वर्षको एसइई परीक्षाको नतिजा अपेक्षाकृत छिटो सार्वजनिक भएकोमा सरकार, सम्बन्धित निकाय तथा संलग्न सबैलाई धन्यवाद तथा बधाई दिएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यस वर्षको एसइई परीक्षामा सफल भएका सम्पूर्ण विद्यार्थीलाई हार्दिक बधाई दिदै नतिजा छिटो प्रकाशन गरेकोमा सरकार र सम्बन्धित निकायलाई धन्यवाद दिएका हुन् । 

उनले विद्यार्थीहरूको मेहनत, लगनशीलता र निरन्तर प्रयासले सार्थकता पाएको बताएका छन् । त्यस्तै अपेक्षित नतिजा प्राप्त गर्न नसकेका विद्यार्थीलाई निराश नहुन आग्रह गर्दै उनले यसलाई जीवनको एउटा खुड्किलोका रूपमा लिन सुझाव दिएका छन् । आगामी ग्रेड वृद्धि परीक्षा आफ्नो क्षमता प्रमाणित गर्ने अर्को अवसर भएको उल्लेख गर्दै आत्मविश्वासका साथ अगाडि बढ्न आग्रह गरेका छन् ।

सभापति थापाले विद्यार्थीहरूको मनोबल उच्च राख्न तथा आवश्यक शैक्षिक परामर्श उपलब्ध गराउन स्थानीय सरकारहरूलाई तत्काल समन्वय गर्न पनि अनुरोध गरेका छन् ।

Read More

महानगरको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण: ६० जनाको एचपीभी पोजेटिभ देखियो

काठमाडौँ । काठमाडौँ महानगरले वीर अस्पतालको सहकार्यमा शुरु गरेको  स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण तथा प्रारम्भिक उपचारका क्रममा ६० जनाको रिपोर्टमा एचपीभी पोजेटिभ देखिएको छ ।

महानगरले गत चैत १६ गतेदेखि वैशाख २१ गतेसम्ममा १ हजार ७ सय महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गर्दा ६० जनाको रिपोर्टमा एचपीभी पोजेटिभ देखिएको हो । 

महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण तथा प्रारम्भिक उपचारका क्रममा एचपीभी जाँच गरिएका २ हजार ७७९ जना महिलामध्ये १ हजार ७ सय जनाको रिपोर्ट आएको छ । उनीहरुमध्ये १८ जनाको कल्पोस्कोपी गरिएको छ । रिपोर्टमा पोजेटिभ देखिएका महिलाहरुलाई हरेक वुधबार र शुक्रबार वीर अस्पतालमा बोलाएर कल्पोस्कोपी गर्ने गरिएको छ । यस्तै स्तन, पाठेघरको भिडियो एक्सरे र स्तनको मेमोग्रामका लागि तालिका मिलाएर विरामीहरुलाई बोलाउने गरिएको छ । 

यसरी गरिने जाँच र प्रारम्भिक उपचारका लागि लाग्ने शुल्क महानगरपालिकाले व्यहोरेको छ भने सेवाग्राहीलाई जँचाएको र प्रारम्भिक उपचार गरेको कुनै शुल्क नलाग्ने महानगरले जनाएको छ ।  एचपीभी पोजेटिभ हुनु क्यान्सर हुनु होइन भने यसबाट संक्रमण भएर क्यान्सर हुन सक्ने जोखिम हुने बताइन्छ । 

सिआइएन अर्थात् सर्भाइकल इन्ट्रापेथिलियल नियोप्लासिया क्यान्सरको प्रारम्भिक अवस्था हो र यो अवस्थाका ३ वटा तह (ग्रेड) हुन्छन् । पहिलो तहलाई सिआइएन वान, दोस्रोलाई सिआएएन टु र तेस्रोलाई सिआइएन थ्री भनिन्छ । 

क्यान्सर परीक्षण गरिएको ३५ दिन अवधिमा ३ हजार ४९४ जनाले जाँच गराउन स्वास्थ्य प्रवर्धन केन्द्रमा नाम दर्ता गरेर रिफरल स्लिप लिएको जानकारी दिँदै कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्टले, रिफरल स्लिप लिएका मध्ये २ हजार ९७५ जना मात्र जाँचका लागि अस्पताल पुगेको जानकारी दिएको बताइन ।

जाँच गर्न पुगेका मध्ये (२ हजार ७७९ जनाको एचपीभी) सँगै २ हजार ९६४ जनाको स्तन क्यान्सर परीक्षण गरियो र उनीहरुमध्ये ४११ जनाको मेमोग्राम गरिएको छ । त्यस्तै ५९ जनाको पाठेघरको र ३६५ जनाको स्तनको गरी ४९४ जनाको भिडियो एक्सरे गरिएको थियो । 

४५ जनाको पाठेघरको मुखमा मासु पलाएको (सर्भाइकल पोलिप) देखिएको छ । २ जनाको पाठेघरमा पलाएको मासु फालिएको छ । ३ जनाको आङ् खसेको छ भने ८ जनामा पाठेघरको मुखमा संक्रमण (पीआइडी) देखिएको छ । 

ह्युमन प्यापोलिमा भाइरस (एचपीभी) ५ बर्षदेखि १० बर्षसम्म रहिरह्यो भने पाठेघरको मुखमा क्यान्सरको जोखिम रहन्छ । ३० बर्षदेखि ६० बर्ष समूहका महिलाले हरेक ५ बर्षमा एकपटक यसको परीक्षण गराउनुपर्छ । 

१ जनाभन्दा धेरै पुरुषसँग यौन सम्पर्क भएका, १६ बर्षभन्दा कम उमेरमा यौन सम्पर्क भएका, महिनावारी भएको पहिलो वर्षभित्रै यौन सम्पर्कमा भएका, एचआइभी जस्ता यौनजन्य संक्रमण भएका, ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) देखिएका, धुमपान गर्ने, प्रतिरक्षा प्रणाली कमजोर भएका, धेरैपटक गर्भवती भएका, कहिल्यै जाँच नगराएका महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर हुने जोखिम धेरै हुन्छ । 

स्तन क्यान्सर यही कारणले हुन्छ भन्ने तथ्य सार्वजनिक भएको पाइँदैन । तर,  उमेर बढ्दै जाँदा (विशेषगरी ५० वर्ष काटेपछि) स्तन क्यान्सरको जोखिम देखिन्छ । यदि आमा, दिदीबहिनी वा छोरी कसैलाई स्तन क्यान्सर भएको छ भने अन्य सदस्यमा यसको जोखिम धेरै हुने चिकित्सकहरुको भनाइ छ । 

१२ वर्ष अघि अर्थात् सानै उमेरमा महिनावारी हुनु, ढिलो उमेरमा (५५ वर्षपछि) महिनावारी सुक्नु, लामो समयसम्म हर्मोन फेरबदल गर्ने औषधिहरूको प्रयोग गर्नु, ३० वर्षको उमेरपछि पहिलो सन्तान जन्माउनु, सन्तानलाई स्तनपान नगराउनु, कहिल्यै गर्भवती नहुनु, अत्याधिक धुमपान गर्नु, मोटोपना, शारीरिक व्यायामको अभाव र अस्वस्थ्यकर खानपानलाई पनि क्यान्सरको कारणका रुपमा लिइन्छ । 

स्तन वा काखीमुनि एउटा कडा, नदुख्ने र छाम्दा नहल्लिने गिर्खा वा गाँठो देखिनु स्तन क्यान्सरको प्रमुख लक्षण हो । स्तनको आकारमा अचानक परिवर्तन आउनु, छाला रातो हुनु, खस्रो हुनु तथा सुन्तलाको बोक्रा जस्तो खस्रो हुनु, निप्पल भित्रतिर धसिनु, स्तनबाट तरल पदार्थ बग्नु जस्ता स्तन क्यान्सरका लक्षण हुन् । 

Read More

विश्वकप डिभिजन लिग- २ : स्कटल्याण्डले टस जित्यो, नेपालले पहिला बलिङ गर्ने

काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र स्कटल्याण्ड आमने सामने हुदैछन् ।

टियु क्रिकेट मैदानमा हुने यस खेलमा स्कटल्याण्डले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।

यस खेलमा नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप-कप्तान), आसिफ सेख, आरिफ सेख, गुलशन झा, सन्दीप लामिछाने, ललित राजवंशी, नन्दन यादव, अर्जुन कुमाल, विनोद भण्डारी र करण केसी रहेका छन् ।

नेपाल र स्कटल्याण्ड एकदिवसीय क्रिकेटमा यसअघि ९ पटक खेलेका छन्, जसमा नेपालले ५ र स्कटल्याण्डले ३ जित हासिल गरेका छन् भने एक खेल नतिजा बिना टुंगिएको थियो । 

जारी लिग- २ अंक तालिकामा नेपालले अहिलेसम्म २४ खेल खेलेर ८ जित र १४ हार बेहोरेको छ भने २ खेलमा अंक बाड्दा १८ अंक हासिल गरेको छ । नेपाल हाल सातौं स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्डले भने अहिलेसम्म २८ खेलमा १४ जित र ८ हार तथा ६ खेलमा अंक बाड्दा ३४ अंकसहित दोस्रो स्थानमा रहेको छ । 

यस सिरिज अन्तर्गत मे १२ मा नेपाल र स्कटल्याण्ड खेल्ने छन् भने मे १४ मा स्कटल्याण्ड र अमेरिका, मे १६ मा नेपाल र अमेरिका, मे १८ मा नेपाल र स्कटल्याण्ड, मे २० मा स्कटल्याण्ड र अमेरिका तथा मे २२ मा नेपाल र अमेरिका खेल्ने तालिका रहेको छ ।

Read More

‘फाला फाला’ प्रकरणमा फसे दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसा

काठमाडौँ । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आफूमाथि महाभियोग प्रक्रिया सुरु हुन लागे पनि पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन् ।

उनले राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै केही समूहले राजीनामाको माग गरिरहेको भए पनि धेरै नागरिकले आफू पदमै रहन चाहेको बताएका छन् । उनले संवैधानिक प्रक्रिया पूरा नहुँदासम्म राजीनामा नदिने अडान दोहोर्‍याएका छन् ।

राष्ट्रपति रामाफोसाले अहिले राजीनामा दिए आफूले अनुसन्धान प्रतिवेदनलाई सही ठानेको अर्थ लाग्ने बताएका छन् । उनले उक्त प्रतिवेदनमा गम्भीर कमजोरी रहेको दाबी गर्दै आफ्नो कार्यकाल पूरा गर्ने बताएका छन् ।

यो विवाद ‘फाला फाला’ नामक निजी फार्मसँग सम्बन्धित छ । उक्त फार्ममा विदेशी जातका गाईभैंसी पालन गरिन्छ । सन् २०२० मा फार्मबाट करिब पाँच लाख ८० हजार अमेरिकी डलर चोरी भएको आरोप लागेको थियो । उक्त रकम छालाको सोफाभित्र लुकाएर राखिएको बताइएको छ ।

घटना सार्वजनिक भएको दुई वर्षपछि दक्षिण अफ्रिकाको राज्य सुरक्षा एजेन्सीका पूर्व प्रमुख अर्थर फ्रासरले राष्ट्रपति विरुद्ध उजुरी दिएका थिए । उजुरीमा राष्ट्रपति रामाफोसाले ठूलो रकमबारे सरकारी निकायलाई जानकारी नदिएको र चोरीको घटना प्रहरीमा दर्ता नगरेको आरोप लगाइएको थियो । रामाफोसाले भने उक्त रकम सुडानी व्यापारी मुस्तफा मोहम्मद इब्राहिम हाजिमलाई भैंसी बिक्री गरेर प्राप्त भएको दाबी गरेका थिए । तर घटनापछि कानुनी र नैतिक प्रश्न उठेका थिए । 

विवाद बढेपछि दक्षिण अफ्रिकी संसदले स्वतन्त्र अनुसन्धान समिति गठन गरेको थियो । समितिको प्रारम्भिक प्रतिवेदनमा राष्ट्रपतिले गम्भीर कानुन उल्लंघन गरेको हुन सक्ने उल्लेख गरिएको थियो । त्यसपछि सन् २०२२ मा उनीविरुद्ध महाभियोग प्रक्रिया सुरु गर्ने अवस्था बनेको थियो ।

यद्यपि पछि दक्षिण अफ्रिकी रिजर्भ बैंक र सार्वजनिक संरक्षक कार्यालयले केही कानुनी आरोपबाट रामाफोसालाई राहत दिएका थिए । उनीहरूको निष्कर्षअनुसार भैंसी बिक्री प्रक्रिया पूरा नभएकाले रकम औपचारिक रूपमा घोषणा गर्न कानुनी बाध्यता नरहेको बताइएको थियो ।

यसबीच दक्षिण अफ्रिकाको संवैधानिक अदालतले संसदले सन् २०२२ मा अनुसन्धान प्रतिवेदन खारेज गर्नु गलत र असंवैधानिक भएको फैसला गरेको छ । अदालतले उक्त प्रतिवेदनलाई औपचारिक महाभियोग समितिमा पठाउन आदेश दिएको छ ।

अदालतको आदेशपछि संसदकी सभामुख थोको डिडिजाले महाभियोग समिति गठन गरिने घोषणा गरेकी छन् । समितिले सार्वजनिक सुनुवाइ गर्दै ‘फाला फाला’ प्रकरणमा राष्ट्रपतिको भूमिकाबारे थप अनुसन्धान गर्ने जनाइएको छ ।

Read More

क्रुज जहाजमा हान्ता भाइरसबाट संक्रमित १७ अमेरिकीलाई ४२ दिनको क्वारेन्टिनमा राखियो

काठमाडौँ । हान्ता भाइरसको सम्पर्कमा आएका १७ अमेरिकी यात्रुलाई अमेरिकाको नेब्रास्का मेडिकल सेन्टरमा ल्याएर निगरानीमा राखिएको छ । उनीहरूलाई ४२ दिनसम्म क्वारेन्टिनमा राखेर स्वास्थ्य परीक्षण गरिने अमेरिकी स्वास्थ्य विभागले जनाएको छ ।

अमेरिकी स्वास्थ्य विभागका अनुसार ती सबै यात्रुलाई अमेरिकी सरकारको विशेष विमानमार्फत फर्काइएको हो । उनीहरू ‘एमभी होन्डियस’ नामक क्रुज जहाजबाट फर्किएका यात्रु हुन् । उक्त जहाज स्पेनको क्यानरी टापुमा रोकिएको बेला हान्ता भाइरसका घटना देखिएका थिए ।

यात्रुमध्ये एक जनामा हंता भाइरस संक्रमण पुष्टि भएको छ भने अर्का एक जनामा सामान्य लक्षण देखिएको बताइएको छ । सावधानीका रूपमा दुवैलाई विशेष सुरक्षा प्रणालीभित्र राखिएको छ । अब बाँकी यात्रुको पनि परीक्षण गरिनेछ । संक्रमण पुष्टि भए उपचार गरिनेछ भने स्वस्थ देखिएका व्यक्तिलाई घर पठाउन सकिने जनाइएको छ । यद्यपि उनीहरूको स्वास्थ्य निगरानी भने जारी रहनेछ ।

चिकित्सकका अनुसार हान्ता भाइरसका लक्षण देखिन एकदेखि आठ हप्तासम्म लाग्न सक्छ । संक्रमणपछि बिरामीमा उच्च ज्वरो, शरीर दुख्ने, कमजोरी, सास फेर्न गाह्रो हुने लगायत समस्या देखिन सक्छन् । अवस्था गम्भीर बने फोक्सोमा पानी जम्ने र ज्यानै जाने खतरा पनि रहने बताइएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हंता भाइरसबाट संक्रमितमध्ये ३५ देखि ४० प्रतिशत मानिसको ६ हप्ताभित्र मृत्यु हुने जोखिम हुन्छ । यो भाइरस मुख्यतः मुसा र गिलहरीजस्ता जनावरबाट सर्ने गर्छ । ती जनावरको दिसा, पिसाब र र्‍यालमार्फत भाइरस फैलिने बताइएको छ । दक्षिण कोरियाको “हंटन” नदीको नामबाट यस भाइरसको नाम राखिएको हो ।

विश्व स्वास्थ्य संगठनले “एन्डिज” नामक हंता भाइरसको विशेष प्रकार मानिसबाट मानिसमा पनि सर्न सक्ने जनाएको छ । संक्रमित व्यक्तिको र्‍याल, थुक, सँगै खाना खाने वा एउटै ओछ्यानमा सुत्दा संक्रमण फैलिन सक्ने बताइएको छ । बिरामीको स्याहार गर्ने व्यक्तिमा जोखिम बढी रहने चिकित्सकहरूको भनाइ छ ।

हान्ता भाइरसको पहिलो घटना सन् १९९३ मा अमेरिकामा देखिएको थियो । त्यतिबेला एक अमेरिकी दम्पतीको मृत्यु भएपछि गरिएको अनुसन्धानमा उनीहरूको घर आसपास मुसाका बासस्थान र भाइरसका संकेत फेला परेका थिए । अमेरिकाको राष्ट्रिय स्वास्थ्य संस्थाका अनुसार विश्वभर हरेक वर्ष करिब एक लाख ५० हजार हंता भाइरसका घटना देखिन्छन् । तीमध्ये अधिकांश युरोप र एसियामा हुने गरेका छन् । आधाभन्दा बढी संक्रमण चीनमा हुने गरेको बताइएको छ ।

सन् २०१८ मा अर्जेन्टिनामा भएको एक जन्मदिन समारोहमा यो भाइरस ३४ जनामा फैलिएको थियो । त्यसमध्ये ११ जनाको मृत्यु भएको थियो । अमेरिकी अधिकारीहरूले हंता भाइरस सजिलै नफैलिने बताएका छन् । लक्षण देखिएको संक्रमित व्यक्तिसँग अत्यन्त नजिकको सम्पर्कमा रहे मात्रै संक्रमणको जोखिम हुने उनीहरूको भनाइ छ ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका कार्यवाहक निर्देशक जय भट्टाचार्यले संक्रमित व्यक्तिसँग नजिक रहेका मानिसको पहिचान गरेर जोखिमको स्तर निर्धारण गरिने बताएका छन् । संक्रमित व्यक्तिसँग नजिक सम्पर्क नभएका यात्रुलाई कम जोखिम समूहमा राखिने उनले जानकारी दिए ।

अधिकारीहरूका अनुसार यो भाइरस कोभिड–१९ जस्तो तीव्र गतिमा फैलिने प्रकृतिको होइन । अधिकांश अवस्थामा संक्रमित मुसाको दिसा, पिसाब वा र्‍यालको सम्पर्कबाट संक्रमण हुने गरेको छ । मानिसबाट मानिसमा सर्ने घटना भने निकै कम देखिएका छन् ।

हालसम्म हान्ता भाइरसको कुनै विशेष औषधि वा खोप उपलब्ध छैन । चिकित्सकहरूले बिरामीको लक्षणअनुसार उपचार गर्दै अवस्था जटिल हुन नदिने प्रयास गर्ने गरेका छन् । सास फेर्न समस्या भए अक्सिजन वा भेन्टिलेटरको सहायता दिइन्छ । शरीरमा पानी र रक्तचाप सन्तुलित राख्न औषधि तथा तरल पदार्थ प्रयोग गरिन्छ । चिकित्सकहरूले समयमै पहिचान र उपचार गर्न सके बिरामी बच्ने सम्भावना बढ्ने बताएका छन् । ज्वरो, कमजोरी वा सास फेर्न गाह्रो हुने लक्षण देखिए तुरुन्त अस्पताल जान आग्रह गरिएको छ ।

प्रारम्भिक परीक्षणपछि केही यात्रुलाई घर फर्कन अनुमति दिन सकिने स्वास्थ्य अधिकारीहरूले बताएका छन् । तर उनीहरूलाई सुरक्षित रूपमा पठाइने र त्यसपछि पनि स्थानीय स्वास्थ्य निकाय तथा रोग नियन्त्रण केन्द्रले निगरानी जारी राख्ने जनाइएको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार भाइरसको सम्पर्कमा आएपछि ४२ दिनसम्म निगरानी आवश्यक हुन्छ । यस अवधिमा ज्वरो वा अन्य लक्षण देखिए तुरुन्त आफूलाई अलग राख्नुपर्नेछ ।

नेब्रास्का मेडिकल सेन्टरमा अमेरिकाको विशेष राष्ट्रिय क्वारेन्टिन इकाइ सञ्चालनमा छ । यो अमेरिकाको संघीय सहयोग प्राप्त एकमात्र क्वारेन्टिन सुविधा हो । यहाँका कोठामा विशेष नकारात्मक हावाचाप प्रणाली जडान गरिएको छ, जसले भाइरस हावामार्फत फैलिन नदिने बताइएको छ ।

अधिकारीहरूका अनुसार यात्रुलाई स्ट्रेचरमा ल्याइएको थिएन । उनीहरू आफैं विमानबाट ओर्लिएर सवारी साधनमार्फत क्वारेन्टिन कक्षसम्म पुगेका थिए ।  चिकित्सक माइकल वाडम्यानका अनुसार क्वारेन्टिन केन्द्रको व्यवस्था होटलजस्तै बनाइएको छ । यात्रुलाई कोठामै खाना उपलब्ध गराइनेछ, सामान्य व्यायाम गर्न पाइनेछ र दैनिक स्वास्थ्य परीक्षण गरिनेछ ।

यदि कुनै यात्रु गम्भीर बिरामी भए उनलाई अस्पतालको विशेष जैव सुरक्षा उपचार इकाइमा सारिनेछ, जहाँ खतरनाक संक्रामक रोगको उपचार गरिन्छ ।

Read More

नीति तथा कार्यक्रममा सरकारकै १०० बुँदे वाचापत्रको भावना समेत समेट्न सकेन- महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको नीति तथा कार्यक्रम, प्रधानमन्त्रीको आचरण र संसदीय मर्यादामाथि टिप्पणी गर्दै गम्भीर प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले दीर्घकालीन योजनालाई पहिले ‘हावादारी’ भन्दै आलोचना गर्नेहरू अहिले तिनै एजेन्डा नीति तथा कार्यक्रममार्फत दोहोर्याउन बाध्य भएको बताएका हुन् ।

उनले ‘पुरानाले गरेनन्, हामी गर्छौं’ भन्ने दलको नीति तथा कार्यक्रम सुन्दा विगतभन्दा फरक दृष्टिकोण वा नयाँ सोच नदेखिएको टिप्पणी गरेका छन् । महासचिव पोखरेलले नीति तथा कार्यक्रमले सरकारकै १०० बुँदे वाचापत्रको भावना समेत समेट्न नसकेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्- ‘सुरुकै नीति तथा कार्यक्रमको अवस्था यस्तो छ भने बजेट आउँदासम्म के होला ?’ 

पोखरेलले सरकारको पहिलो नीति तथा कार्यक्रम राष्ट्रपतिबाट सम्बोधन हुने समारोहमा प्रधानमन्त्री बालेनको अनौपचारिक पोशाक र राष्ट्रपतिको सम्बोधन नसकिँदै संसदबाट बाहिरिएको घटनाप्रति पनि असन्तुष्टि जनाएका छन् । उनले उक्त घटनाले नयाँ भनिने शक्तिहरूको संसदीय आचरण र भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको बताएका छन् ।

उनले जनताले ठूलो अपेक्षा र बलियो जनादेश दिएको कुरा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले बुझ्न नसके मुलुक पुनः द्वन्द्व र अस्थिरतामा फस्न सक्ने चेतावनी दिएका छन् ।

महासचिव पोखरेलले रास्वपाका नेताहरूलाई सुरुदेखि नै गम्भीर र सचेत बन्न आग्रह गरेका छन् ।

Read More

सार्बजनिक लेखा समितिसहित संसदका आठ समितिको बैठक बस्दै

काठमाडौँ । आज प्रतिनिधि सभाको सार्बजनिक लेखा समितिसहित विभिन्न समितिको बैठक बस्दैछ । 

प्रतिनिधि सभा अन्तर्गतको सार्बजनिक लेखा समितिको बिहान १० बजे बस्ने बैठकमा समिति सम्बन्धी प्रस्तुतीकरण हुने जानकारी समितिले दिएको छ ।

त्यस्तै आज अर्थ समितिको बैठक बिहान १० बजे, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे १० बजे, पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे, महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १० बजे बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै आज राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउसो १ बजे र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्ने भएको छ ।

Read More

एसइईको पुरक परीक्षा असार १ गतेदेखि

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी असार १ गतेदेखि हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सोमबार राति नतिजा सार्वजनिक गर्दै पूरक परीक्षा असार १ गते सोमबारदेखि ९ गतेसम्म हुने जनाएको हो। 

बोर्डका अनुसार अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् । नतिजा अनुसार एसइईमा सहभागीमध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी नन ग्रेडेड भएका छन् । 

Read More