काठमाडौँ । नेपाली काँग्रेसका नेता भिष्मराज आङदाम्बेले प्रधानमन्त्री बालेन्द्र शाहको स्वास्थ्य बारे संसदलाई जानकारी दिन माग गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता आङदाम्बेले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अचानक बैठकबाट बाहिर स्वास्थ्य बिग्रिएर गएको भन्ने विषय आएकाले प्रधानमन्त्रीको स्वास्थ्य बारे संसदलाई जानकारी दिन माग गरेका हुन् । उनले प्रधानमन्त्रीका कारण संसदीय समितिका बैठक समेत प्रभावित भएको प्रति उनले सरकार र रास्वपाको ध्यानाकर्षण गराए । उनले करिब दुई तिहाइको जित हासिल गर्दा पनि एउटा गृहमन्त्री नियुक्त समेत गर्न नसकेको भन्दै आलोचना गरेका थिए ।
साथै उनले तत्कालीन गृहमन्त्री सुधन गुरूङमाथि छानबिन गर्न सरकार हिच्किचाएको भन्दै प्रश्न गरेका छन् । उनले भने- ‘अरूलाई भ्रष्टाचारको एकोहोरो आरोपबाट अल्गोरिदमिक खेदाइ गर्ने तर आफ्नै तत्कालीन गृहमन्त्रीमाथि लागेको संगीन आरोपहरूको कुनै छानबिन नगर्ने कस्तो सुशासन हो ? तत्कालीन गृहमन्त्री माथिको आरोपहरूको निष्पक्ष छानबिन किन हच्किएको म सभामुखज्यूमार्फत सोध्न चाहन्छु ।’
काठमाडौँ । इरानले आफूविरुद्ध फेरि हमला भए युरेनियमलाई ९० प्रतिशतसम्म समृद्ध बनाउने चेतावनी दिएको छ । इरानी संसदको आयोगका प्रवक्ता इब्राहिम रेजाईले यस्तो विकल्पबारे संसदमा समीक्षा हुने बताएका हुन् ।
इरानले अमेरिका र इजरायललाई लक्षित गर्दै पुनः आक्रमण भए कडा कदम चाल्ने संकेत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
९० प्रतिशतसम्मको युरेनियम संवर्धनलाई हतियारस्तरको मानिन्छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार इरानले यसअघि नै ६० प्रतिशतसम्म युरेनियम संवर्धन गरिसकेको छ, जुन आणविक हतियार निर्माणको तह नजिक मानिन्छ ।
एजेन्सीको पछिल्लो प्रतिवेदनअनुसार पछिल्ला वर्षहरूमा इरानले ६० प्रतिशत शुद्धताको युरेनियम उत्पादनलाई तीव्र बनाएको छ ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले कांग्रेसको बृहत्तर एकतामा असर पुगेको बताएका छन् ।
उनले सोमबार धारणा सार्वजनिक गर्दै पार्टीको समग्र एकता बिना राष्ट्रिय राजनीतिमा कांग्रेसले प्रभावकारी भूमिका खेल्न नसक्ने उल्लेख गरे । विगतको निर्वाचन परिणामले कांग्रेसलाई ठूलो शिक्षा दिएको भन्दै उनले पार्टीभित्रको एकतालाई राष्ट्रको आवश्यकता भएको बताएका छन् ।
कोइरालाले विभाजित कांग्रेसका कारण विगतमा पार्टीले नागरिकको भरोसा गुमाएको स्मरण गर्दै आगामी स्थानीय तह र प्रदेश निर्वाचनमा पनि जनविश्वास जित्न नसके कांग्रेसको औचित्यमाथि प्रश्न उठ्न सक्ने चेतावनी दिए ।
उनले हजारौं युवा, संघर्षशील र त्यागी कार्यकर्ताको राजनीतिक भविष्य सुनिश्चित गर्न पार्टी भावनात्मक र राजनीतिक रूपमा एकताबद्ध हुनुपर्ने धारणा राखे । अहिले लोकतन्त्र र संविधानवादमाथि चुनौती बढिरहेका बेला कांग्रेस गुट–उपगुटमा विभाजित हुनु दुःखद भएको उनको भनाइ छ । कोइरालाले १४ औँ महाधिवेशनपछि नवीकरण तथा वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा १५ औँ महाधिवेशनलाई ‘एकता महाधिवेशन’ का रूपमा सम्पन्न गर्नुपर्ने बताएका छन् ।
कोइरालाले सार्बजनिक गरेको पाँच बुँदे धारणा:
१. मेरो सामान्य सोच के छ भने– पार्टीको समग्र एकता नभै हामी राष्ट्रिय राजनीतिमा सकृय र सार्थक भूमिका खेल्न सक्दैनौं । विगतको निर्वाचन परिणामले हामीलाई धेरै ठूलो शिक्षा दिएको हुनुपर्छ । कांग्रेसको समग्र एकता नै राष्ट्रको आवश्यकता हो । यसमा पद र व्यक्तिको कुरा गौंण हुन जान्छ । कांग्रेसको इतिहास र परम्परा यही हो । २. विभाजित कांग्रेसले विगतमा धेरै ठूलो हण्डर मात्र खानु परेन, आम नागरिकको भरोसा र विश्वास पनि गुमाउन पुग्यो । हामीले भर्खरै सम्पन्न आम निर्वाचनमा प्राप्त गरेको मत परिणामले हामीलाई झस्काएको मात्रै छैन, बरु नयाँ सोच, दृष्टिकोण र साझा भावबाट अगाडि नबढी नहुने प्रेरणा पनि दिएको हुनुपर्छ । ३. हाम्रा अगाडि स्थानीय तह र प्रदेशको निर्वाचन छ । यसमा पनि हामी आम नागरिकको भरोसा जित्न असमर्थ भएमा राष्ट्रिय राजनीतिमा कांग्रेसको औचित्य माथि प्रश्न उठने खतरा म देख्दैछु । ४. कांग्रेससँग आबद्ध हजारौं युवा, संघर्षशिल, त्यागी समूहको राजनीतिक भविष्य र राष्ट्र निर्माणमा तिनको भूमिकालाई सुनिश्चित तब मात्र गर्न सकिन्छ जब हामी भावनात्मक रुपले एकतावद्ध हुँदै राजनीतिक रुपले नागरिक मैत्री पार्टी बनाउने दिशातर्फ अगाडि बढछौं । मलाई विश्वास छ– पार्टीको निर्णायक भूमिकामा बस्ने साथीहरु सामूहिक भावना र साझा विचारवाट अगाडि बढनु हुनेछ । ५. आज संविधानवाद र लोकतन्त्रलाई धरापमा पारेर लोक रिझ्याई (पपुलिज्म) को नाममा चौतर्फी हाम्रा आदर्श, मूल्य र सिद्धान्त माथि आक्रमण भैरहँदा पनि हामी गुट उपगुटमा विभाजन हुनु उदेक लाग्दो अवस्था हो, यसको अन्त्य जति छिटो हुन्छ नेपालको लोकतान्त्रिक पद्धतिले आफ्नो मौलिक मूल्य त्यति छिटो भेट्छ ।
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेपाली काँग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत हुदा प्रधानमन्त्रीले गरेको व्यबहार बारे प्रश्न गरेको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री वालेन्द्र शाहले संसद् बैठक छाडेर हिँडेको विषयमा असहमति राख्दै सो कार्य असंबैधानिक भएको बताएको छ ।
काँग्रेसकी प्रमुख सचेतक बासना थापाले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्री संसदबाट बाहिरिनु संवैधानिक नैतिकताविपरीत भएको बताएकी थिइन् ।
उनले सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले नै बहिष्कार गर्ने कुन संवैधानिक र नैतिक मर्यादा हो ? भन्दै यस विषयमा प्रधानमन्त्रीबाट जवाफ माग गरेकी छन् ।
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-९ बस्ने नवलपरासी पश्चिम रामग्राम नगरपालिका-७ घर भएका ४७ वर्षीय शैलेन्द्र पाण्डे, काठमाडौं महानगरपालिका-४ बस्ने टोखा नगरपालिका-९ घर भएका ३० वर्षीया सुमना अर्याल, काठमाडौं महानगरपालिका-९ बस्ने खोटाङ घर भएका ३० वर्षीय विकास सुनार, काठमाडौं महानगरपालिका-३० बस्ने नवलपरासी पूर्व घर भएका ५३ वर्षीय बासुदेव श्रेष्ठ, काठमाडौं महानगरपालिका-९ बस्ने पाँचथर घर भएका ४७ वर्षीय धन बहादुर योङहाङ र नवलपरासी पूर्व देवचुली नगरपालिका-८ घर भएकी ३३ वर्षीया नौ माया आले मगर रहेका छन् ।
पक्राउ मध्ये शैलेन्द्रले सर्विया, स्लोभाकिया लगायतका देश पठाइदिन्छु भन्दै १३ जना पीडितहरूबाट ३५ लाख ७० हजार रूपैयाँ, सुमनाले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८२ हजार रूपैयाँ, विकासले स्पेन पठाइदिन्छु भन्दै १० जना पीडितहरूबाट १० लाख रूपैयाँ, बासुदेवले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रूपैयाँ, धन बहादुरले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र नौ मायाले साइप्रस पठाइदिन्छु भन्दै ६ लाख ४ हजार ५ सय रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शैलेन्द्रलाई काठमाडौं नागार्जुन नगरपालिका-९ बाट बिहीबार, सुमना र बासुदेवलाई काठमाडौं महानगरपालिका-४ तथा विकासलाई काठमाडौं महानगरपालिका-७ बाट शुक्रबार, धन बहादुरलाई काठमाडौं महानगरपालिका-२६ बाट र नौ मायालाई नवलपरासी पूर्व देवचुली नगरपालिका-८ बाट पक्राउ गरेको हो ।
पक्राउ मध्ये शैलेन्द्र, सुमना, विकास, बासुदेव र धन बहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ भने नौ मायालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जानकारी दिएको छ ।
कठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डीपी अर्यालले भेटवार्ता गरेका छन् ।
सभामुख अर्यालले मंगलबार बिहान राष्ट्रपति निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।
राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री बालेन शाह बाहिरिएपछि चौतर्फी आलोचना भइरहेको बेला सभामुख अर्यालको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
काठमाडौँ । अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट ५ करोड ३३ लाख ब्यारेल कच्चा तेल बजारमा उपलब्ध गराउने भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले अमेरिका-इजरायल र इरानबीच बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र बढेपछि यस्तो निर्णय गरेको हो ।
रिपोर्टका अनुसार उक्त कच्चा तेल ऊर्जा कम्पनीहरूलाई ऋण स्वरूप उपलब्ध गराइनेछ । युद्ध र विश्वव्यापी आपूर्ति संकटका कारण प्रभावित तेल बजारलाई स्थिर बनाउने उद्देश्यले यो कदम चालिएको बताइएको छ ।
गत महिना अमेरिकी ऊर्जा विभागले ९ करोड २५ लाख ब्यारेल तेल उपलब्ध गराएको थियो । तर एक्सन मोबिल, ट्राफिगुरा र म्याराथन पेट्रोलियमसहित ९ ऊर्जा कम्पनीले त्यसको केवल ५८ प्रतिशत मात्र उपयोग गरेका थिए ।
प्रतिवेदनअनुसार यो निर्णय अमेरिकी ऊर्जा विभागको दीर्घकालीन रणनीतिक योजनाको हिस्सा हो । विभागले युद्धको प्रभाव कम गर्न कुल १७ करोड २० लाख ब्यारेल तेल भण्डारबाट बजारमा ल्याउने योजना बनाइरहेको जनाएको छ ।
अमेरिका-इरान तनाव र होर्मुज जलडमरूमध्यमा देखिएको संकटका कारण विश्व बजारमा तेल आपूर्तिबारे चिन्ता बढिरहेको छ । ब्रेन्ट क्रुड तेलको मूल्य प्रतिव्यारेल १०४ अमेरिकी डलर नाघिसकेको छ ।
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रुग्न रहेका सरकारी उद्योगलाई निजी क्षेत्रसँग साझेदारी गरेर संचालन गर्ने सरकारको नीति रहेको स्पष्ट गरेका छन् ।
संघीय संसद अन्तर्गतको अर्थ समितिको वैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले रुग्न रहेका उद्योगको विभिन्न चरणमा अध्ययन भइरहेको र सरकारले आफै संचालन गर्ने भन्दा पनि निजी क्षेत्रसँग सहकार्य गर्दै संचालन गर्ने स्पष्ट गरेका हुन् ।
अर्थमन्त्री वाग्लेले सांसदहरुले बजेटको विषयलाई चासो दिएर अनौपचारिक रुपमा व्यक्तिगत र समूहगत रुपमा समेत भेटघाट गरिरहेको जानकारी दिदै अधिकांश सांसदहरु नीतिगत भन्दा पनि केहि साना–साना बजेटकै कुरा लिएर आउने गरेको बताएका थिए । उनले यस पटक बजेटमा सिधै अर्थ मन्त्रालय प्रवेश नगर्ने र जुन मन्त्रालय अन्तर्गतको योजना हो त्यहि मन्त्रालय अन्तर्गत आउनु पर्छ भन्ने सिद्धान्तको आधारमा अगाडि बढिरहेको सांसदहरुलाई जानकारी गराएका थिए ।
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले सोमबार राति नतिजा प्रकाशित गर्दै यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जनाएको हो ।
यस वर्षको एसइईमा सहभागी कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीमध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी नन–ग्रेडेड भएका छन् । बोर्डका अनुसार नियमिततर्फ ४ लाख ४१ हजार ५६६ तथा ग्रेडवृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
यस वर्षको नतिजा अनुसार उच्च जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या उल्लेखनीय देखिएको छ । विवरण यसप्रकार छः
जीपीए समूह
विद्यार्थी संख्या
३.६० – ४.००
४८,३९२
३.२० – ३.६०
८०,३७२
२.८० – ३.२०
९४,२२२
२.४० – २.८०
५५,९७७
२.०० – २.४०
५,१९०
१.६० – २.००
७
यस वर्षको एसइई नतिजा प्रकाशन प्रक्रियामा परीक्षा व्यवस्थापन र मूल्यांकन प्रणालीमा गरिएको सुधारलाई सरकारको प्रभावकारी कार्यसम्पादनका रूपमा हेरिएको छ । सरकारले परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्न स्पष्ट निर्देशन दिएको थियो । सोहीअनुसार परीक्षा नियन्त्रण कार्यालयले निर्धारित समयसीमाभित्रै नतिजा प्रकाशन गर्दै प्रशासनिक दक्षता र समन्वय क्षमताको उदाहरण प्रस्तुत गरेको छ ।
गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा पहिलो पटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण गरिएको थियो । परीक्षा सकिएलगत्तै दैनिक रूपमा उत्तरपुस्तिका परीक्षण गर्ने, प्रत्येक तेस्रो दिन जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा अंक उपलब्ध गराउने तथा परीक्षा सकिएको चौथो दिनमै प्राप्तांक परीक्षा नियन्त्रण कार्यालयमा पुग्ने गरी व्यवस्थापन गरिएको थियो । यसलाई नतिजा प्रकाशनलाई छिटो, पारदर्शी र व्यवस्थित बनाउन अपनाइएको नयाँ कार्यप्रणालीका रूपमा लिइएको छ ।
बोर्डले विद्यार्थी तथा अभिभावकलाई एसएमएस, आईभीआर, युएसएसडी सेवा तथा विभिन्न वेबसाइट र मोबाइल एपमार्फत नतिजा हेर्न सकिने जनाएको छ । नेपाल टेलिकमको १६०० नम्बरमार्फत एसएमएस, युएसएसडी र आईभीआर सेवा उपलब्ध हुनेछ भने जानकी टेक्नोलोजी प्रालिको ३५००१ तथा एम्बिसन गुरु प्रालिको ३१००३ नम्बरमार्फत पनि नतिजा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।
यस वर्षको नतिजाले एकातिर उच्च जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या बढेको संकेत गरेको छ भने अर्कोतर्फ ठूलो संख्यामा विद्यार्थी नन–ग्रेडेड हुनु शिक्षा प्रणालीको गुणस्तर, सिकाइ उपलब्धि तथा मूल्यांकन पद्धतिमाथि थप गम्भीर समीक्षा आवश्यक रहेको संकेतका रूपमा पनि हेरिएको छ ।
काठमाडौँ । नेपाली सेनाले कोशी कोरिडोरको च्याम्ताङ्गदेखि घोङ्घप्पासम्मको १०.८१ कि.मि. सडक निर्माण कार्य सम्पन्न गरेको छ ।
कोशी कोरिडोरको खाँदवारी-किमाथांका सडक खण्ड अन्तर्गत संखुवासभा, भोटखोला गाउँपालिकास्थित च्याम्ताङ्गदेखि घोङ्घप्पासम्मको १०.८१ कि.मि. सडक निर्माण कार्य सम्पन्न गरेर उत्तर-दक्षिण (कोशी) सडक आयोजनालाई हस्तान्तरण गरेको नेपाली सेनाले जनाएको छ ।