काठमाडौँ । नेपाल आयल निगमले सनिबार आफ्नो स्थापना भएको ५६औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ ।
यस अवसरमा निगमले आम उपभोक्ता, पेट्रोलियम व्यवसायी तथा सम्पूर्ण निगम परिवारप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।
वार्षिकोत्सवकै अवसरमा निगमको नवनिर्मित केन्द्रीय कार्यालय भवनको औपचारिक समुद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय अनिल कुमार सिन्हाले गरेका छन् । समुद्घाटन समारोहमा मन्त्री सिन्हाको उपस्थितिलाई निगमले विशेष महत्वका साथ लिँदै उनिप्रति आभार प्रकट गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले निगमको ५६ वर्षे यात्रालाई स्मरण गर्दै वर्तमान र भविष्यप्रतिको प्रतिबद्धता स्पष्ट पारे। डा. भट्टले भने, “नेपाल आयल निगम केवल इन्धन आपूर्ति गर्ने संस्था मात्र होइन, यो देशको आर्थिक गतिविधि, जनजीवन र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको जिम्मेवार संस्था हो। ५६ वर्षको यात्रामा हामीले धेरै चुनौती पार गरेका छौँ र ती चुनौतीले नै हामीलाई अझ जिम्मेवार र सक्षम बनाएको छ।”
भट्टले नवनिर्मित केन्द्रीय कार्यालय भवनले निगमको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र आधुनिक बनाउने विश्वास समेत व्यक्त गरे।
“यो भवन केवल संरचना मात्र होइन, निगमको संस्थागत सुधार, सुशासन र सेवाग्राहीमैत्री व्यवस्थापनतर्फको महत्वपूर्ण कदम हो,” डा. भट्टले उल्लेख गरे।
भट्टका अनुसार निगमले पछिल्ला वर्षहरूमा पेट्रोलियम आपूर्तिलाई सुरक्षित, नियमित र भरपर्दो बनाउन संरचनागत सुधार, प्रविधिको प्रयोग र व्यवस्थापन प्रणालीमा सुधार गर्दै आएको छ। “आगामी दिनमा पनि उपभोक्ताको हितलाई केन्द्रमा राख्दै पारदर्शी मूल्य प्रणाली, सुरक्षित भण्डारण र निर्बाध आपूर्तिमा हामी दृढ रूपमा अघि बढ्नेछौँ,” उनले भने।
भट्टले निगमप्रति उपभोक्ता, व्यवसायी र सरोकारवाला निकायले देखाउँदै आएको विश्वासप्रति धन्यवाद दिँदै सम्पूर्ण कर्मचारीहरूको योगदानको प्रशंसा समेत गरे । “निगम आज यो अवस्थामा आइपुग्नुमा कर्मचारीहरूको मेहनत, अनुशासन र समर्पणको ठूलो भूमिका छ,” उनले थपे।
निगमले आगामी दिनमा पनि राष्ट्रिय आवश्यकता अनुसार पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्दै उपभोक्ताको भरोसा कायम राख्ने र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।




