काठमाडौं । नेपाली कांग्रेसभित्र आन्तरिक असन्तुष्टि चुलिँदै गएको संकेतका रूपमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीका महामन्त्रीद्वयबाट आफू धोका खाएको दाबी गरेका छन्।
सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा खड्काले विशेष महाधिवेशनसँग सम्बन्धित पछिल्ला छलफल र घटनाक्रमबारे जानकारी गराउँदै यस्तो धारणा राखेका हुन्।
बैठकमा सहभागी नेताहरूका अनुसार कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनका विषयमा भएका सहमति र समझदारी कार्यान्वयन नभएको भन्दै असन्तोष व्यक्त गरे। उनले पुस महिनामा तय गरिएको नियमित महाधिवेशनको कार्यतालिकाअनुसार काम अगाडि बढ्न नसकेपछि बाध्य भएर महाधिवेशनको समय बैशाखमा सारिएको प्रसंग उठाएका थिए।
खड्काले यस क्रममा भृकुटीमण्डपमा उम्मेदवारी दर्तासमेत भइसकेको अवस्थामा महामन्त्रीद्वयको भूमिकाले पार्टीलाई विभाजनको दिशातर्फ धकेलेको आरोप लगाएको बैठक स्रोतले जनाएको छ। उनका अनुसार आन्तरिक समन्वय र सहकार्यको सट्टा एकपक्षीय निर्णय र कदमहरूले पार्टीभित्र अविश्वास बढाएको छ।
कार्यवाहक सभापतिको यस ब्रिफिङपछि केन्द्रीय कार्यसमिति बैठकमा माहोल केही तनावपूर्ण बनेको बताइन्छ। कांग्रेसभित्र नेतृत्व, कार्यतालिका र विशेष महाधिवेशनको प्रक्रियालाई लिएर देखिएको मतभेद अब खुला रूपमा सतहमा आएको संकेत खड्काको भनाइले दिएको छ।
पार्टीको एकता, आगामी महाधिवेशन र नेतृत्व चयनको प्रक्रियालाई लिएर गम्भीर प्रश्न उठिरहेका बेला आएको खड्काको यो अभिव्यक्तिले कांग्रेसको आन्तरिक राजनीतिलाई थप तरंगित बनाएको छ।




