२०८३ बैशाख १३

अमेरिकाले इजरायललाई १२ हजार शक्तिशाली बमसहितका हतियार उपलब्ध गराउने

काठमाडौँ । अमेरिका- इजरायल र ईरानबीच जारी युद्ध आज आठौँ दिनमा पुगेको छ । यसैबीच अमेरिकाको विदेश मन्त्रालयले इजरायललाई करिब १५ करोड १८ लाख अमेरिकी डलर बराबरका हतियार तथा सैनिक सामग्री बिक्री गर्न स्वीकृति दिएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आपतकालीन अवस्थाका कारण तत्काल यस्तो सैनिक सामग्री उपलब्ध गराउन आवश्यक भएको बताएका छन् । इजरायली सञ्चारमाध्यम वाइनेटका अनुसार यस आपतकालीन सहयोग प्याकेजमा करिब १२ हजार शक्तिशाली बम समावेश छन् । यसका साथै ढुवानी, व्यवस्थापन तथा अन्य आवश्यक सहयोग सेवा पनि उपलब्ध गराइने जनाइएको छ ।

यता युद्धका क्रममा रुसले इरानलाई गोप्य जानकारीमार्फत सहयोग गरिरहेको खबर पनि सार्वजनिक भएको छ । मस्कोले पश्चिम एसियामा रहेका अमेरिकी युद्धपोत र सैनिक विमानको स्थानसम्बन्धी जानकारी ईरानलाई दिएको बताइएको छ ।

अमेरिकी पत्रिका वाशिङ्टन पोस्टले तीन जना अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रुसले इरानलाई त्यस्तो प्रकारको गोप्य लक्ष्यसम्बन्धी जानकारी उपलब्ध गराइरहेको जनाएको छ, जसको प्रयोग गरेर ईरानले अमेरिकी सैनिक अड्डालाई निशाना बनाउन सक्ने बताइएको छ ।