२०८३ बैशाख १३

६ क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीको सफलता, को–को भए निर्वाचित?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत हालसम्म सार्वजनिक मतपरिणाम अनुसार नेपाली कम्युनिष्ट पार्टीले देशका विभिन्न ६ वटा निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ। ती क्षेत्रमा पार्टीका प्रमुख नेतादेखि अन्य उम्मेदवारसम्म विजयी भएका छन्।

रुकुमपूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ १० हजार २४० मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का लीलामणि गौतम ले ३ हजार ४६२ मत प्राप्त गरेका छन्।

डोल्पाबाट धनबहादुर बुढा ६ हजार ८०२ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका लंकबहादुर रोकाय ले ५ हजार ३९६ मत पाएका छन्।

सल्यानमा रमेश मल्ल २३ हजार १८९ मतसहित निर्वाचित भएका छन्। उनका मुख्य प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका ललितकुमार चन्द ले २० हजार ९०४ मत प्राप्त गरेका छन्।

त्यस्तै रुकुम पश्चिमबाट गोपाल शर्मा २१ हजार ६०९ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजु केसी ले १६ हजार ६६१ मत प्राप्त गरेका छन्।

रोल्पाबाट वर्षमान पुन २७ हजार ४६० मतसहित विजयी भएका छन्। उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका सुदनकुमार वली ले १२ हजार ८ मत पाएका छन्।

कालिकोटमा महेन्द्रबहादुर शाही ११ हजार ३३८ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी एमालेका नगीन्द्र शाही ले १० हजार ३५२ मत प्राप्त गरेका छन्।

हालसम्म प्राप्त नतिजाले नेपाली कम्युनिष्ट पार्टीले केही क्षेत्रमा बलियो उपस्थिति कायम राख्दै प्रतिनिधिसभामा आफ्नो स्थान सुरक्षित गरेको देखिएको छ।