काठमाडौँ । सरकारले बेकरीजन्य वस्तुमा प्रयोग हुने ‘बेकरी सर्टेनिङ्ग’ (डाल्ला घिउ) को उत्पादन, प्याकेजिङ्ग र बिक्री वितरणमा नयाँ कडाइ लागू गरेको छ। अब १० किलोग्रामभन्दा कम तौलका प्याकेटमा यस्तो पदार्थ उत्पादन वा बिक्री गर्न पाइने छैन।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सोमबार सूचना जारी गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो। विभागका अनुसार अब कुनै पनि उद्योगले १० केजीभन्दा साना प्याकमा बेकरी सर्टेनिङ्ग उत्पादन, प्याकेजिङ्ग वा बिक्री वितरण गर्न पाउने छैनन्।
१५ दिनभित्र बजारबाट फिर्ता गर्न निर्देशन
यसअघि नै बजारमा पुगिसकेका १० केजीभन्दा कम तौलका प्याकेटहरू भने अनिवार्य रूपमा फिर्ता गर्नुपर्नेछ। विभागले सूचना जारी भएको मितिले १५ दिनभित्र यस्ता उत्पादन बजारबाट हटाई सम्बन्धित निकायलाई जानकारी गराउन निर्देशन दिएको छ।
उल्लङ्घन गरे कानुनी कारबाही
निर्णयको अवज्ञा गरेमा कडा कारबाही हुने विभागले चेतावनी दिएको छ। सूचनामा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार उत्पादन, बिक्री वा वितरण जारी राखेमा कानुनी कारबाही गरिने स्पष्ट उल्लेख गरिएको छ।
किन ल्याइयो यस्तो नियम?
बेकरी सर्टेनिङ्ग प्रायः औद्योगिक प्रयोजनका लागि प्रयोग हुने पदार्थ हो। तर साना प्याकेटमा उपलब्ध हुँदा यसको घरायसी प्रयोग बढ्दै जाने र त्यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने सम्भावनालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको अनुमान गरिएको छ। साथै, औद्योगिक मापदण्ड कार्यान्वयनलाई प्रभावकारी बनाउन पनि यो कदम चालिएको हुनसक्ने बताइएको छ।




