२०८३ बैशाख १५

चलचित्र ‘बा: एक योद्धा’ को प्रदर्शन मिति घोषणा

काठमाडौं । चलचित्र ‘बा : एक योद्धा’ को आधिकारिक प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षका अनुसार यो चलचित्र आगामी भदौ १९ गते बाट देशभरका सिनेमाघरमा एकसाथ प्रदर्शनमा आउने भएको हो ।

हरि लम्सालको निर्देशनमा निर्माण भएको निर्माण पक्षले वितरकहरूसँग भएको आपसी सहमति र सम्झौता अनुसार यो चलचित्रलाई कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्व सन्ध्यामा देशभरका सिनेमाघरमा प्रदर्शनमा ल्याउन लागिएको जानकारी दिएको छ ।

नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीतहरू दिइसकेका चर्चित संगीतकार लम्सालले यसै चलचित्रमार्फत निर्देशनमा डेब्यु गरेका हुन् । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण यो चलचित्रको कथा र पटकथा संगीत र गायनमा स्थापित लम्साल आफैँले तयार पारेका हुन् ।

संगीतमा आफ्नो छुट्टै पहिचान बनाइसकेका लम्सालको निर्देशकीय क्षमता कस्तो रहनेछ भन्नेमा कौतुहलता र चासो रहने भएको छ । चलचित्र ‘बा : एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । गायक तथा सर्जक समेत रहेका लम्सालले यस अघि अभिनेता विपिन कार्कीलाई लिएर चलचित्र ‘कर्मा निर्माण गरेका थिए ।

यो चलचित्रले नेपाली समाजको एउटा मार्मिक पक्षलाई उजागर गर्ने लक्ष्य राखेको छ । गत चैत्र ९ गतेदेखि छायांकन सुरु भएको चलचित्रको निर्माण पक्षले सुरुवाती दिनदेखि नै कलाकारको नामलाई लिएर ‘सस्पेन्स’ कायम राख्दै आएको थियो । केही दिनअघि छायांकन सेटबाट अभिनेत्री झरना थापा र उनकी छोरी सुहाना थापा र अभिनेता दिव्यदेव पन्त चलचित्रको मुख्य भूमिकामा रहेको जानकारी बाहिर ल्याएको थियो ।

झरना र सुहानाले पहिलो पटक पर्दामा एकसाथ अभिनय गर्न लागेका हुन् । वास्तविक जीवनका आमा-छोरी रहेका उनीहरु चलचित्रमा पनि आमा र छोरीकै भूमिकामा देखिनेछन् ।

चलचित्रको शीर्षकले यो एक शुद्ध सामाजिक कथाबस्तु हुने संकेत गर्छ । नेपाली परिवारमा बुवाको महत्त्व, उनले सन्तानको भविष्यका लागि गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरूलाई एउटा ‘योद्धा’को रूपमा चित्रण गर्न खोजिएको बुझिन्छ । विशेषगरी ग्रामीण तथा सहरी समाजमा एउटा बाबुले आफ्नो काँधमा बोक्ने जिम्मेवारीको कथालाई यो चलचित्रले पर्दामा उतार्नेछ ।

यो सिनेमामा शिवराम श्रेष्ठको छायाकंन रहेको छ । श्रेष्ठले यसअघि चर्चाको शिखरमा रहेका र व्यापारिक रूपमा ब्लकबस्टर सावित भएका चलचित्रहरू ‘पूर्ण बहादुरको सारङ्गी’, ‘बोक्सीको घर’ र ‘परान’ जस्ता सिनेमाहरू खिचेर आफ्नो कौशल प्रदर्शन गरिसकेका छन् । 

चलचित्र ‘बा : एक योद्धा’ भिजुअलका हिसाबले उत्कृष्ट हुने अपेक्षा गरिएको छ । चलचित्रको मुख्य सहायक निर्देशकमा तारा नाथ न्यौपाने रहेका छन् । आर्टिस्टिक इन्टरटेनमेन्टले यसअघि पनि स्तरीय प्रोजेक्टहरूमा काम गर्दै आएकाले यस चलचित्रबाट दर्शकलाई एक भावनात्मक र सामाजिक विषयवस्तुमा आधारित सोशल ड्रामा युक्त मनोरञ्जनात्मक सिनेमा दिने अपेक्षा राखेको छ ।