२०८३ बैशाख १५

मन्त्री सीता बादीको प्रतिबद्धता: नातावाद र भ्रष्टाचारविरुद्ध कडाइ, सुशासनमा जोड

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले नातावाद, भनसुन, भ्रष्टाचार तथा कानुनविपरीतका गतिविधिमा संलग्न नहुने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले करिब पाँच सातादेखि वहन गरिरहेको सार्वजनिक जिम्मेवारीलाई जनताको विश्वाससँग जोडिएको उल्लेख गरेकी छन्।

मन्त्री बादीले नातागोता, सम्बन्ध वा व्यक्तिगत चिनजानका आधारमा जागिर दिलाउने, नियुक्ति गर्ने तथा स्वार्थअनुकूल सरुवा–बढुवा मिलाउने कार्यमा आफू संलग्न नहुने स्पष्ट पारेकी छन्। साथै, कानुनविपरीत भनसुन गर्ने, शक्तिको दुरुपयोग गर्ने वा गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिलाई संरक्षण गर्ने कार्यबाट टाढा रहने उनको भनाइ छ।

उनले लागूऔषध, ठगी, जालसाजी, कुटपिट तथा तस्करीजस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कुनै पनि अवस्थामा संरक्षण नगर्ने र घुस, कमिसन वा भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न नहुने प्रतिबद्धता दोहोर्‍याएकी छन्।

मन्त्री बादीले महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति लगायत सीमान्तीकृत समुदायमाथि हुने हिंसा र अन्यायविरुद्ध सशक्त रूपमा उभिने बताएकी छन्।

यसैगरी, उनले राज्यका स्रोत–साधनको दुरुपयोग नगर्ने, सेवा प्रवाहमा भनसुन वा सिफारिस स्वीकार नगर्ने तथा मन्त्रीका रूपमा अनावश्यक सुविधा—जस्तै सरकारी आवास, घरभाडा वा कूटनीतिक राहदानी—नलिने स्पष्ट पारेकी छन्।

‘भोट दिएको आधारमा कुनै दबाब वा प्रभावमा नपरी सबै नागरिकलाई समान रूपमा सेवा गर्नेछु,’ उनले उल्लेख गरेकी छन्। साथै, नागरिकका समस्या र आपत्कालीन अवस्थाहरूमा सम्भव भएसम्म व्यक्तिगत रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले सुशासन नागरिकको सचेत सहभागिता र सामूहिक प्रयासबाट मात्र सम्भव हुने धारणा व्यक्त गरेकी छन्।

मन्त्री बादीले नियमको सम्मान, न्यायको पक्षमा उभिने र व्यक्तिगत स्वार्थभन्दा समाजको हितलाई प्राथमिकता दिन सबैलाई आह्वान गर्दै सुशासनको अभियानमा सहकार्य गर्न आग्रह गरेकी छन्।