काठमाडौं । दक्षिण सुडानको राजधानी जुबा नजिकै भएको विमान दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको छ। मृतकमध्ये १२ जना दक्षिण सुडानी र दुई जना केन्याली नागरिक रहेका छन्।
दक्षिण सुडानी नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त विमान जुबा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केही समयमै राजधानीबाट करिब २० किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको हो। विमान ग्रिनविच समयअनुसार बिहान ७ः१५ बजे उडेको जनाइएको छ।
प्रारम्भिक अनुसन्धानले प्रतिकूल मौसम र कम दृश्यता दुर्घटनाको प्रमुख कारण भएको संकेत गरेको छ। उद्धारमा संलग्न संयुक्त राष्ट्रसङ्घका एक सदस्यका अनुसार दुर्घटनास्थलमा पुगेको टोलीले विमानमा सवार सबै यात्रुको शव जलेको अवस्थामा फेला पारेको थियो, जसका कारण पहिचान गर्न कठिन भएको बताइएको छ।
दक्षिण सुडानमा अस्थिरता, द्वन्द्व र कमजोर पूर्वाधारका कारण हवाई सुरक्षामा चुनौती रहँदै आएको छ। विगतमा पनि त्यहाँ बारम्बार यस्ता दुर्घटनाहरू हुने गरेका छन्। सन् २०२५ को जनवरीमा उत्तरी क्षेत्रमा भएको एक विमान दुर्घटनामा २० जनाको मृत्यु भएको थियो भने सन् २०२१ मा विश्व खाद्य कार्यक्रमका लागि इन्धन बोकेको कार्गो विमान दुर्घटनामा पाँच जनाको ज्यान गएको थियो।
त्यस्तै, सन् २०१५ मा सोभियतकालीन एन्टोनोभ विमान जुबामै दुर्घटनाग्रस्त हुँदा ३६ जनाको मृत्यु भएको थियो। सन् २०१७ मा भएको अर्को घटनामा विमान धावनमार्गबाट चिप्लिएर बाहिरिए पनि विमानमा सवार सबै ३७ जना सकुशल बाँच्न सफल भएका थिए।




