काठमाडौँ । संसद् अधिवेशन स्थगित गरेर अध्यादेशमार्फत अघि बढ्ने सरकारको निर्णयप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले असन्तुष्टि जनाएको छ।
पार्टीले यस्तो कदमलाई गैर लोकतान्त्रिक भन्दै तत्काल संसद् अधिवेशन बोलाउन सरकारसँग माग गरेको हो ।
मंगलबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय संयोजन समिति बैठकले सरकारको पछिल्लो कदमप्रति आपत्ति जनाउँदै संसद् छलेर अध्यादेश ल्याउने प्रयास रोक्न आग्रह गरेको हो। बैठकपछि जारी धारणा अनुसार, “आफैँले आह्वान गरेको संसद् अधिवेशन आकस्मिक रूपमा स्थगित गरेर अध्यादेश अघि बढाउनु संसद्लाई छल्ने कार्य हो,” भन्दै नेकपाले यसको विरोध जनाएको छ।
पार्टीले लोकतान्त्रिक अभ्यासअनुसार महत्वपूर्ण कानुनहरू संसद्मै छलफल गरेर पारित गर्नुपर्नेमा जोड दिएको छ। विशेषगरी सङ्घीय निजामती सेवा, विद्यालय शिक्षा जस्ता संवेदनशील विषयमा सरोकारवाला पक्षको आवाज समेटेर मात्रै कानुन निर्माण गर्नुपर्ने नेकपाको धारणा रहेको छ ।
नेकपाले सरकारलाई यस्ता विषयमा गम्भीर हुन आग्रह गर्दै संसद्को भूमिका कमजोर पार्ने कुनै पनि कदम नचल्न चेतावनी दिएको छ। साथै, संसद् छलेर अघि बढ्ने प्रवृत्तिले लोकतान्त्रिक प्रणालीमै नकारात्मक असर पर्ने बताएको छ।




