२०८३ बैशाख १८

बल्खुका सुकुम्बासी बस्ती चार मेसिनले भत्काइँदै, बासिन्दालाई स्थानान्तरण प्रक्रिया सुरु

काठमाडौँ । काठमाडौंको बल्खुस्थित बागमती नदी किनारमा रहेका सुकुम्बासी बस्तीहरू हटाउने कार्य सुरु गरिएको छ। शुक्रबार बिहान साढे ८ बजेदेखि प्रशासनले डोजर प्रयोग गर्दै घर–टहरा भत्काउन थालेको हो।

यसअघि बिहान ७ बजेदेखि नै बस्ती खाली गर्न प्रशासनले निर्देशन जारी गरेको थियो। केही समयका लागि स्थानीय बासिन्दालाई आफ्ना घरभित्र रहेका सामान निकाल्ने अवसर दिइएपछि मात्रै भत्काउने काम अघि बढाइएको जनाइएको छ।

हाल चारवटा डोजर प्रयोग गरी बस्ती हटाउने काम तीव्र रूपमा भइरहेको छ। सो क्षेत्रमा ठूलो संख्यामा जनपद तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ।

बस्ती खाली गराइएका सुकुम्बासीहरूलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्क्रिनिङका लागि जान भनिएको छ। स्क्रिनिङपछि उनीहरूलाई होल्डिङ सेन्टरमा स्थानान्तरण गर्ने योजना रहेको छ।

यसैबीच, टेकुको वंशीघाटस्थित सुकुम्बासी बस्तीमा पनि यसअघि नै डोजर चलाएर संरचना हटाइसकिएको छ।