काठमाडौं । काठमाडौंमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले शिक्षा क्षेत्रमा ल्याइरहेको तीव्र परिवर्तन र यसको प्रभावकारी प्रयोगबारे केन्द्रित अन्तरक्रियात्मक संवाद सम्पन्न भएको छ।
नेपाल ज्येष्ठ प्राध्यापक समाजद्वारा आयोजित कार्यक्रममा शिक्षाविद्, प्राध्यापक तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
समाजका अध्यक्ष प्राडा सिद्धि कोइरालाको अध्यक्षतामा बसुन्धारास्थित साउथ वेस्टर्न कलेजमा शुक्रबार सम्पन्न उक्त कार्यक्रममा विश्वभरका कक्षाकोठामा एआईले ल्याएको रूपान्तरण, अवसर र चुनौतीहरूबारे विस्तृत बहस गरिएको थियो। कार्यक्रम औपचारिक प्रस्तुतिमा सीमित नरही सहभागी र वक्ताबीच प्रत्यक्ष संवाद र अनुभव आदान प्रदानमा केन्द्रित रह्यो।
छलफलका क्रममा लेखन कला, अनुसन्धान पद्धति, अध्यापन अभ्यासमा एआईको उपयोगिता, साथै यसको सीमा र सम्भावित जोखिमबारे खुला बहस भएको थियो। सहभागीहरूले एआई कहाँ उपयोगी छ र कहाँ सावधानी अपनाउनुपर्छ भन्ने विषयमा यथार्थपरक दृष्टिकोण विकास गर्नुपर्नेमा जोड दिएका थिए।
समाजका पुर्व अध्यक्ष बिमल शर्माका अनुसार कार्यक्रमले ‘सिकाउने र सिक्ने’ दुवै पक्षलाई एउटै मञ्चमा ल्याएर सहकार्यको वातावरण निर्माण गर्ने लक्ष्य राखेको हो। शर्माले भने- “हामीले यो कार्यक्रममार्फत शिक्षक र शिक्षार्थीबीच सहकार्यको संस्कृति विकास गर्ने प्रयास गरेका छौं। एआईसँग जोडिएका अवसर र चुनौतीलाई बुझ्दै आगामी दिनका लागि साझा मार्गनिर्देशन तयार पार्ने उद्देश्य पनि रहेको छ,” उनले बताए।
कार्यक्रमका प्रमुख वक्ता तथा सहजकर्ता एआई अभ्यासकर्ता एवं प्राध्यापक बिनीत शर्मा रहेका थिए। University of California, Santa Cruz Extension मा कार्यरत शर्माले एआईलाई शिक्षण, अनुसन्धान र लेखनमा प्रयोग गर्ने अन्तर्राष्ट्रिय अनुभव सहभागीहरूसँग साझा गरेका थिए ।
एआईको तीव्र विकासप्रति आफ्नो व्यक्तिगत अनुभूति व्यक्त गर्दै शर्माले विज्ञानको वर्तमान उपलब्धिप्रति गहिरो कृतज्ञता प्रकट गरे। “आजको वैज्ञानिक प्रगति हेर्दा म आफू सही समयमा जन्मिएकोमा अत्यन्त कृतज्ञ छु। यस्तो रूपान्तरण आफ्नै जीवनकालमा देख्न पाउनु सौभाग्य हो,” शर्माले भने। उनले थपे, “यो प्रविधिको अझै विकास हेर्न पाइयोस् भन्ने चाहनाले कहिलेकाहीँ १३५ वर्षसम्म बाँच्ने रहर पनि जाग्छ।” शर्माले विश्वव्यापी अभ्यासलाई नेपाली शिक्षाको सन्दर्भसँग जोड्दै एआईको प्रयोगलाई व्यवहारिक र जिम्मेवार बनाउनुपर्नेमा जोड दिएका थिए।
आयोजकका अनुसार कार्यक्रमले शिक्षा क्षेत्रमा एआईका अवसर र चुनौतीलाई नजिकबाट बुझ्ने महत्वपूर्ण अवसर प्रदान गर्नुका साथै भविष्यका लागि सहकार्य र अनुसन्धानको नयाँ बाटो खोल्ने विश्वास लिइएको छ।



