२०८३ बैशाख १९

सुकुमबासी बस्तीमा डोजर चलाउँदा कांग्रेस आक्रोशित, निर्मम व्यवहार तुरुन्त रोक्न आङ्देम्बेको माग

काठमाडौं । सुकुमबासी बस्ती हटाउने क्रममा सरकारले अपनाएको कार्यशैलीप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले सरकारको कदमलाई ‘निर्मम र दमनकारी’ भन्दै तत्काल रोक्न माग गरेका हुन्।

उनले सुकुमबासी बस्तीमा डोजर प्रयोग गरेर संरचना भत्काउने कार्य केवल भौतिक क्षति नभई राज्यको चरित्र झल्काउने घटनाका रूपमा टिप्पणी गरे। “के राज्य आफ्नै नागरिकसँग युद्ध लड्दैछ?” भन्दै उनले सरकारको नियतमाथि गम्भीर प्रश्न उठाए।

आङ्देम्बेका अनुसार वास्तविक सुकुमबासी पहिचान नगरी सबैलाई एउटै ढंगले व्यवहार गर्दै उठिबास गराउने कार्य अमानवीय र निन्दनीय हो। उनले सुरक्षा निकाय, विशेषगरी सेनासहितको परिचालनले राज्यलाई संरक्षणकर्ता भन्दा पनि त्रास सिर्जना गर्ने शक्तिका रूपमा प्रस्तुत गर्ने जोखिम बढाएको दाबी गरे।

उनले हालैका दुःखद घटनाहरूलाई पनि उल्लेख गर्दै सरकारको नीति र व्यवहारले मानवीय संकट गहिरिँदै गएको बताए। मनोहरा बस्तीका एक किशोर र बल्खुस्थित बागमती नदी किनारमा बसोबास गर्ने एक वृद्धले आत्महत्या गरेको घटनालाई उदाहरण दिँदै उनले पीडित परिवारलाई राहत र क्षतिपूर्ति दिन माग गरे।

त्यसैगरी, कीर्तिपुर स्थित होल्डिङ सेन्टरमा राखिएका सुत्केरी, ज्येष्ठ नागरिक तथा असहाय व्यक्तिहरूको अवस्था सुधार गर्न उनले सरकारको ध्यानाकर्षण गराए। बिरामीहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन पनि उनले जोड दिएका छन्।

आङ्देम्बेले जिल्ला प्रशासन कार्यालयमार्फत स्थानीय तहलाई बस्ती हटाउन निर्देशन दिने तथा सेनाबाट सुकुमबासीको लगत सङ्कलन गराउने कार्यलाई ‘गलत अभ्यास’ भन्दै आलोचना गरे। उनका अनुसार यस्तो कदम लोकतान्त्रिक मूल्य र मान्यताविपरीत छ।

“जनताले दिएको जनमतको परिणाम यदि यस्तो क्रूरतापूर्ण उठिबास हो भने हामी गम्भीर छौँ,” उनले चेतावनी दिँदै भने, “यस्ता अमानवीय गतिविधि तत्काल रोकिएन भने यसको परिणाम गम्भीर हुन सक्छ।”

नेपाली कांग्रेस संसदीय दलको तर्फबाट उनले सरकारको उक्त कदमको घोर भर्त्सना गर्दै सुकुमबासी समस्याको मानवीय र दीर्घकालीन समाधान खोज्न आग्रह गरेका छन्।