जनकपुर । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिमा विवाद बढेको छ ।
मुख्यमन्त्रीमा दाबि गरेका दुवै समुहले आफुलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दबाब दिन शुरु गरेपछि प्रदेश प्रमुखको कार्यालयको सुरक्षा गर्न सेना परिचालन गरिएको हो । मधेस प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले सुरक्षा चुनौती बढेपछि सुरक्षाका लागि सेनालाई आग्रह गरिएको जानकारी दिएका छन् ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज ४ बजेसम्मको समय दिएर सरकार गठनका लागि आव्हान गरेको समय भित्र लोसपा नेपालका नेता जितेन्द्र सोनल र कांग्रेस नेता कृष्ण यादवले मुख्यमन्त्रीमा दाबि पेश गरेका थिए । सोनलले पाँच दलको समर्थनमा दाबी पेस गरेका थिए भने कांग्रेस–एमालेसहित जनमतको नाम राख्दै कृष्ण यादवले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
यसैबीच दुवै पक्षले आफ्नो पार्टीको नाम समावेश गरेपछि जनमत पार्टीले मुख्यमन्त्रीमा लोसपा नेता जितेन्द्र प्रसाद सोनार (सोनल) लाई समर्थन रहेको आधिकारीक पत्र प्रदेश प्रमुखलाई बुझाएको छ ।




