काठमाडौं । नबिल बैंक लिमिटेडले पुँजी संरचना थप सुदृढ बनाउने उद्देश्यसहित जारी गरेको पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल ८५ अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ बाँडफाँट गरेको छ।
बैंकले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका पाँच करोड कित्ता अग्राधिकार शेयर अन्तिम रूपमा बाँडफाँट गरिएको हो ।
नेपाल धितोपत्र बोर्डको स्वीकृति प्राप्त गरेपछि बैंकले पुस १ गते संस्थागत लगानीकर्तामार्फत परिपत्र विधि (व्यक्तिगत तवर) बाट आवेदन आह्वान गरेको थियो। प्राप्त आवेदनका आधारमा अग्राधिकार शेयरको बाँडफाँट प्रक्रिया सम्पन्न गरिएको बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले अविमोच्य असञ्चिति अग्राधिकार शेयरसम्बन्धी नीतिगत व्यवस्था गरेपछि, यस किसिमको अग्राधिकार शेयर जारी गर्ने स्वीकृति पाउने नबिल बैंक पहिलो बैंक बनेको छ। निश्चित भुक्तानी अवधि नतोकिने तर बैंकले वितरणयोग्य मुनाफा आर्जन गरेको वर्षमा निश्चित लाभांश प्राप्त हुने विशेषताले यो पुँजी बजार उपकरणलाई लगानीकर्तामाझ आकर्षक बनाएको बैंकको भनाइ छ।
बैंकले यस पुँजी साधनमार्फत अतिरिक्त प्राथमिक पुँजी वृद्धि भई पुँजीगत आधार मजबुत हुने, जोखिम वहन गर्ने क्षमता बढ्ने र आगामी दिनमा व्यवसाय विस्तारमा थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरेको छ।




