काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आफ्नो प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आईपीओ बिक्री खुला गरेको हो।
कम्पनीका अनुसार प्रत्यक्ष रूपमा प्रभावित लमजुङको क्व्होलासोथार गाउँपालिका–४ का स्थानीय बासिन्दाका लागि ६ लाख कित्ता सेयर छुट्याइएको छ। त्यसैगरी अप्रत्यक्ष प्रभावित सोही गाउँपालिकाका वडा नम्बर १ देखि ९ सम्मका बासिन्दाका लागि ४ लाख कित्ता सेयर आरक्षित गरिएको छ। यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि कुल निष्काशनको १० प्रतिशत अर्थात १ लाख कित्ता सेयर छुट्याइएको छ।
वैदेशिक रोजगारीमा रहेका नेपाली लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत सबै स्वीकृत बैंक तथा वित्तीय संस्थाबाट सहजै आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित स्थानीय बासिन्दाले भने क्व्होलासोथार गाउँपालिका कार्यालय, वडा नम्बर ४ कार्यालय, साथै कुमारी, सानिमा, प्रभु र माछापुच्छ्रे बैंकको बेसिशहर शाखा तथा कम्पनीको सामाखुसीस्थित रजिस्टर्ड कार्यालयमार्फत आवेदन दिन पाउनेछन्। स्थानीय बासिन्दाले दरखास्त फाराम वापत २ रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। प्रभावित स्थानीय क्षेत्रका लागि आईपीओ पुस १७ गतेसम्म न्यूनतम अवधि रहनेछ भने, आवेदन नपुगेमा ढिलोमा माघ २ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा पुस ७ र ढिलोमा पुस १७ गते निष्काशन बन्द हुनेछ।
भुजुङ्ग हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। स्थानीय सहभागिता र वैदेशिक नेपालीको लगानीलाई जोड्ने उद्देश्यसहित ल्याइएको यस आईपीओप्रति लगानीकर्ताको चासो बढ्ने अपेक्षा गरिएको छ।




