काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले वित्तीय स्थायित्व कायम राख्दै मुलुकमा उच्च, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल राष्ट्र बैंकको ७१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले सरल नियमन, प्रभावकारी सुपरिवेक्षण, नीतिगत सुधार तथा प्रविधिमैत्री वित्तीय प्रणालीमार्फत आर्थिक समृद्धिमा योगदान पु-याउने बताएका हुन्।
गभर्नर पौडेलले पछिल्लो समय पश्चिम एसियामा जारी द्वन्द्वले विश्व अर्थतन्त्रमा पार्न सक्ने असरप्रति सचेत रहनुपर्नेमा जोड दिए। उनले यस्ता भूराजनीतिक तनावले आपूर्ति प्रणालीमा अवरोध, इन्धनको मूल्यमा उतारचढाव लगायतका समस्या निम्त्याउने भन्दै त्यसको नियमित अध्ययन आवश्यक रहेको बताए।
नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२) प्रस्तुत गर्दै उनले अन्तरराष्ट्रिय मुद्रा कोषको अद्यावधिक विश्व आर्थिक परिदृश्यलाई उद्धृत गरे। उक्त प्रतिवेदनअनुसार विश्व अर्थतन्त्र अहिले बढ्दो अनिश्चितता र जोखिमको घेरामा रहेको उल्लेख गरिएको छ।
कार्यक्रममा पूर्वगभर्नर युवराज खतिवडा ले अर्थतन्त्रलाई दिगो रूपमा बलियो बनाउन आन्तरिक उत्पादन वृद्धि अपरिहार्य रहेको बताए। उनले बाह्य स्रोतबाट देखिने सुधार दीर्घकालीन नहुने स्पष्ट पारे।
यसैबीच, कार्यक्रममा बैंकका एक जना सर्वोत्कृष्ट कर्मचारीसहित सात जना उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको थियो भने २० वर्ष सेवा पूरा गरेका १७ कर्मचारीलाई दीर्घकालीन सेवा सम्मान प्रदान गरिएको थियो।
राष्ट्र बैंकले आगामी दिनमा पनि आर्थिक स्थायित्व कायम गर्दै विकासमुखी नीतिहरूलाई प्राथमिकता दिने जनाएको छ।




