काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक भरतराज ढकालले नेपालमा कृषिमा देखिएका समस्या समाधानका लागि नै कम्पनी स्थापना गरिएको बताएका छन्। शुक्रबार काठमाडौंको लाजिम्पाटमा आयोजित आधुनिक थोक कृषि बजारसम्बन्धी कार्यशाला कार्यक्रममा सम्बोधन गर्दै उनले कृषिमा उत्पादनदेखि बजारसम्मको सम्पूर्ण चक्र निर्माण नभएसम्म समस्या समाधान नहुने धारणा राखे।
ढकालका अनुसार नेपालमा अन्तर्राष्ट्रियस्तरको थोक बजार अपरिहार्य छ। उत्पादनदेखि बजारसम्म युवाहरूलाई आकर्षित गर्न नसक्दा श्रमशक्ति निरन्तर विदेशिने प्रवृत्ति बढिरहेको भन्दै उनले कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्न सके युवाहरूलाई नेपालमै रोक्न सकिने बताए। “भाषणले मात्र युवा पलायन रोकिँदैन, युवालाई कृषिमा आकर्षक बनाउन ठोस कार्यक्रम आवश्यक छ,” ढकालले भने।
उनले कृषि क्षेत्रलाई सबल बनाउन बजार र उद्योगसँगै गुणस्तरीय उत्पादनका लागि प्रशोधन केन्द्र अनिवार्य रहेको उल्लेख गरे। कम्पनीले स्थापना कालदेखि नै कृषि क्षेत्रमा देखिएका समस्या पहिचान गर्दै समाधानका उपायहरू सरकारलाई सुझाव स्वरूप पेस गर्दै आएको उनले बताए।
सन् २०७५ सालमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनीले हालसम्म आधुनिक खेती प्रवर्द्धन, उत्पादकलाई प्रविधि हस्तान्तरण, बजार पहुँच सुनिश्चित गर्ने र कृषिमा युवाको सहभागिता बढाउनेतर्फ विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।
ढकालका अनुसार, कृषि चक्र निर्माण, थोक बजारको आधुनिकीकरण र प्रशोधन केन्द्र स्थापना जस्ता पहलहरूलाई प्राथमिकतामा राखी कम्पनीले आगामी दिनमा अझ ठोस कदम चाल्ने तयारी गरेको छ। यसले कृषिलाई व्यवस्थित र व्यवसायिक बनाउन सहयोग पुग्ने उनको विश्वास छ।




