२०८३ बैशाख १३

सुनचाँदीको मुल्य आजपनि बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य आजपनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाल सुनको मुल्य तोलाको ७ सयले बढेर तोलाको २ लाख ६० हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ५९ हजार ७ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले बढेर ४०८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४०५५ मा कारोबार भएको थियो ।

Read More

एमाले महाधिवेशनको प्रारम्भिक मतपरिणाम: अध्यक्षमा ओली अगाडि, महासचिवमा कडा प्रतिस्पर्धा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी मतगणनाबाट प्रारम्भिक नतिजा सार्वजनिक हुन थालेको छ। हालसम्म २२३ मत गणना हुँदा अध्यक्ष र महासचिव पदमा रोचक प्रतिस्पर्धा देखिएको छ।

अध्यक्ष पदतर्फ केपी शर्मा ओलीले १५६ मत प्राप्त गर्दै अग्रता बनाएका छन् भने उनका प्रतिद्वन्द्वी ईश्वर पोखरेलले ६७ मत पाएका छन्।

त्यसैगरी महासचिव पदमा भने प्रतिस्पर्धा निकै टाइट देखिएको छ। प्रारम्भिक गणनाअनुसार शंकर पोखरेलले ११५ मत ल्याउँदा सुरेन्द्र पाण्डेले १०८ मत प्राप्त गरेका छन्।

मतगणना अझै जारी रहेकाले अन्तिम नतिजा आउँदासम्म परिणाममा फेरबदल हुन सक्ने बताइएको छ। महाधिवेशनको नतिजाप्रति अहिले पार्टीभित्र र बाहिर दुबै ठाउँमा चासो बढेको छ।

Read More

एमाले महाधिवेशन: मतगणना शुरु

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना शुरु भएको छ ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार मतगणना शुरु भएको छ र करिब तीन घण्टामा मतपरिणाम सार्बजनिक हुने भएको छ । आयोगले सबै ३४२ पदको मत परिणाम एकै पटक सार्बजनिक गर्ने बताएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान ९: २० बजेदेखि सुरु भएको मतदान विहीबार बिहान करिब पौने ७ बजे सकिएको थियो । नयाँ नेतृत्व चयनका लागि २ हजार २६३ प्रतिनिधि चयन भएकोमा २ हजार २२७ मत खसेको थियो । यस अनुसार ९८.२७ प्रतिशत मतदान भएको छ । आजै मतगणना सकिएपछि महाधिवेशन स्थल भृकुटीमण्डपमा समापन समारोह गर्ने तयारी गरिएको छ ।

Read More

महाकाली पुल र बस्ती बचाउन तटबन्द वर्षायाम अघिनै सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

कञ्चनपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले चार लेनको महाकाली पुल र त्यस वरपरको बस्तीलाई बचाउन नदी किनार संरक्षणको काम तत्काल अगाडि बढाउन निर्देशन दिएका छन् । 

महाकाली पुल र महाकाली नदीले कटान गरेको क्षेत्रको जानकारी लिन त्यस क्षेत्रमा पुगेका मन्त्री घिसिङले तटबन्धको काम गराउनेमा हाल रहेको अन्यौललाई तत्काल निरुपण गरी निर्माण अगाडि बढाउनुपर्ने बताए । 

आगामी वर्षायाम अगाडिनै काम सम्पन्न गर्न नसकिएमा नदीमा आउने बाढीबाट पुल र नदीको वायाँ किनारतर्फको वस्ती नै जोखिममा पर्ने सम्भावना देखिएकाले तटबन्ध व्यवस्थापनको काम तत्काल अगाडि बढाउन सडक विभाग र महाकाली पुल योजना व्यवस्थापनलाई निर्देशन दिए । 

महाकाली पारीको दोधारा–चाँदनी नगरपालिकालाई सडक सञ्जालसँग जोड्ने र दोधारा चाँदनीमा निर्माणाधीन सुख्खा बन्दरगाहलाई लक्षित गरी महाकालीमा चार लेनको पक्की पुल निर्माण गरी सञ्चालनमा छ ।   

बाढीबाट पुललाई बचाउन मन्त्रिपरिषद्को ६ जेठ २०८२ को निर्णयबाट महाकाली पुल आसपास महाकाली नदी बीच भागमा जम्मा भएको नदीजन्य पदार्थ हटाइ व्यवस्थापन तथा बाढीजन्य विपद् न्यूनीकरणका लागि आवश्यक पर्ने अस्थायी नदी नियन्त्रणको काम सेनाबाट गराउने स्वीकृति भएको थियो । त्यसपछि अस्थायी संरचना सेनाबाट निर्माण गरिएका थिए । 

तत्कालीन वर्षाको जोखिमलाई ध्यान दिएर सेनाद्धारा आपत्कालीन रुपमा निर्माण गरिएका संरचना अस्थायी प्रकृतिका भएका कारण थप सवलीकरण गर्नुपर्ने छ । पुलबाट माथिल्लो तटीय बायाँ किनारमा नेपाली सेनाले करिब तीन सय मिटर निर्माण गरेको अस्थायी प्रकृतिको संरचनाको सवलीकरण आवश्यक रहेको हो । 

सवलीकरणको काम तत्काल अगाडि बढाउन निर्देशन दिंदै मन्त्री घिसिङले त्यसका लागि आवश्यक सहजीकरण गर्ने बताए । योजनाले सवलीकरण कार्यको डिजाइन तयार गरिसकेको छ ।

Read More

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, शेयरधनीलाई नगद र बोनस दुवै

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा आर्जन गरेको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको पुस २ गते बसेको सञ्चालक समिति बैठकले नगद तथा बोनस दुवै प्रकारको लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ८.५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। यससँगै नेशनल लाइफका शेयरधनीले यस वर्ष कुल १२.५ प्रतिशत बराबरको प्रतिफल पाउने भएका छन्।

घोषित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीको खातामा वितरण गरिनेछ। कम्पनीको यो निर्णयले बीमा क्षेत्रमा स्थिर प्रतिफल खोज्ने लगानीकर्तालाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ।

Read More

भुजुङ्ग हाइड्रोपावरको आईपीओ बिक्री खुला, स्थानीयदेखि वैदेशिक रोजगारीमा रहेकासम्मलाई अवसर

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आफ्नो प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीका अनुसार प्रत्यक्ष रूपमा प्रभावित लमजुङको क्व्होलासोथार गाउँपालिका–४ का स्थानीय बासिन्दाका लागि ६ लाख कित्ता सेयर छुट्याइएको छ। त्यसैगरी अप्रत्यक्ष प्रभावित सोही गाउँपालिकाका वडा नम्बर १ देखि ९ सम्मका बासिन्दाका लागि ४ लाख कित्ता सेयर आरक्षित गरिएको छ। यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि कुल निष्काशनको १० प्रतिशत अर्थात १ लाख कित्ता सेयर छुट्याइएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपाली लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत सबै स्वीकृत बैंक तथा वित्तीय संस्थाबाट सहजै आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित स्थानीय बासिन्दाले भने क्व्होलासोथार गाउँपालिका कार्यालय, वडा नम्बर ४ कार्यालय, साथै कुमारी, सानिमा, प्रभु र माछापुच्छ्रे बैंकको बेसिशहर शाखा तथा कम्पनीको सामाखुसीस्थित रजिस्टर्ड कार्यालयमार्फत आवेदन दिन पाउनेछन्। स्थानीय बासिन्दाले दरखास्त फाराम वापत २ रुपैयाँ शुल्क तिर्नुपर्नेछ।

आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। प्रभावित स्थानीय क्षेत्रका लागि आईपीओ पुस १७ गतेसम्म न्यूनतम अवधि रहनेछ भने, आवेदन नपुगेमा ढिलोमा माघ २ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा पुस ७ र ढिलोमा पुस १७ गते निष्काशन बन्द हुनेछ।

भुजुङ्ग हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। स्थानीय सहभागिता र वैदेशिक नेपालीको लगानीलाई जोड्ने उद्देश्यसहित ल्याइएको यस आईपीओप्रति लगानीकर्ताको चासो बढ्ने अपेक्षा गरिएको छ।

Read More

एमाले महाधिवेशनको मतगणना तयारी पूरा, सबै पदको नतिजा एकैपटक सार्वजनिक हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतपरिणाम एकैसाथ सार्वजनिक गरिने भएको छ। एमाले निर्वाचन आयोगका अनुसार अध्यक्षसहित सबै पदका उम्मेदवारको नतिजा छुट्टाछुट्टै नभई एकैपटक घोषणा गर्ने तयारी गरिएको हो ।

आयोगका अनुसार विद्युतीय भोटिङ मेसिनबाट चिप निकाल्ने काम अन्तिम चरणमा पुगेको छ। यो प्रक्रिया पूरा हुनासाथ मतगणना सुरु गरिनेछ। मतगणना सुरु भएपछि करिब तीन घण्टाभित्र सबै पदको अन्तिम परिणाम आउने अनुमान गरिएको छ।

नयाँ नेतृत्वका लागि भएको मतदानमा कुल २ हजार २६३ प्रतिनिधिमध्ये २ हजार २२७ जनाले मताधिकार प्रयोग गरेका थिए। बाँकी ३६ प्रतिनिधि विभिन्न कारणले मतदानमा सहभागी हुन सकेनन्।

लामो समयदेखि प्रतीक्षामा रहेका प्रतिनिधि, कार्यकर्ता र राजनीतिक वृत्तको नजर अहिले मतगणनाको सुरुवात र अन्तिम नतिजातर्फ केन्द्रित भएको छ। महाधिवेशनको नतिजाले एमालेको आगामी नेतृत्व र राजनीतिक दिशा निर्धारण गर्ने भएकाले पार्टीभित्र चासो थपिएको छ।

Read More

नबिल बैंकको नयाँ पुँजी साधन सफल, ५ अर्बको अविमोच्य अग्राधिकार शेयर बाँडफाँट

काठमाडौं । नबिल बैंक लिमिटेडले पुँजी संरचना थप सुदृढ बनाउने उद्देश्यसहित जारी गरेको पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल ८५ अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ बाँडफाँट गरेको छ।

बैंकले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका पाँच करोड कित्ता अग्राधिकार शेयर अन्तिम रूपमा बाँडफाँट गरिएको हो ।

नेपाल धितोपत्र बोर्डको स्वीकृति प्राप्त गरेपछि बैंकले पुस १ गते संस्थागत लगानीकर्तामार्फत परिपत्र विधि (व्यक्तिगत तवर) बाट आवेदन आह्वान गरेको थियो। प्राप्त आवेदनका आधारमा अग्राधिकार शेयरको बाँडफाँट प्रक्रिया सम्पन्न गरिएको बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले अविमोच्य असञ्चिति अग्राधिकार शेयरसम्बन्धी नीतिगत व्यवस्था गरेपछि, यस किसिमको अग्राधिकार शेयर जारी गर्ने स्वीकृति पाउने नबिल बैंक पहिलो बैंक बनेको छ। निश्चित भुक्तानी अवधि नतोकिने तर बैंकले वितरणयोग्य मुनाफा आर्जन गरेको वर्षमा निश्चित लाभांश प्राप्त हुने विशेषताले यो पुँजी बजार उपकरणलाई लगानीकर्तामाझ आकर्षक बनाएको बैंकको भनाइ छ।

बैंकले यस पुँजी साधनमार्फत अतिरिक्त प्राथमिक पुँजी वृद्धि भई पुँजीगत आधार मजबुत हुने, जोखिम वहन गर्ने क्षमता बढ्ने र आगामी दिनमा व्यवसाय विस्तारमा थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरेको छ।

Read More

ट्रम्प प्रशासनमा मस्कको काम बारे ह्वाइट हाउसकी चीफ अफ स्टाफ वाइल्सको अभिव्यक्ति विवादमा

काठमाडौँ । ह्वाइट हाउसकी वरिष्ठ अधिकारी सुसी वाइल्सले स्तब्ध पार्ने खुलासा गरेकी छिन् । उनले राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका व्यक्तिहरूको बारेमा स्पष्ट र आलोचनात्मक टिप्पणी गरेकी छिन् । उनले टेस्लाका सीईओ एलन मस्कले केटामाइन ड्रग्स प्रयोग गरेको पनि बताएकी छन् ।

एक अन्तर्वार्ताका क्रममा सुसीले उपराष्ट्रपति जेडी भान्सलाई ‘प्रमाण बिना हरेक प्रमुख घटनाको पछाडि गोप्य षड्यन्त्र रहेको विश्वास गर्ने व्यक्ति’ र बजेट प्रमुख रस भोटलाई ‘कट्टर दक्षिणपन्थी’ भनेर वर्णन गरेकी छन् । उनले जेफ्री एपस्टाइनसँग सम्बन्धित कागजातहरू ह्यान्डल गरेकोमा महान्यायाधिवक्ता पाम बोन्डीको पनि आलोचना गरेकी छन् ।

अन्तर्वार्ता बाहिर आएपछि ह्वाइट हाउसले उनको भनाइलाई गम्भीरतापूर्वक लिएको छैन । यद्यपि, सुसी वाइल्सले सामाजिक सञ्जालमा समाचारले महत्त्वपूर्ण सन्दर्भलाई बेवास्ता गरेको र जानाजानी गलत प्रस्तुत गरिएको दाबि गरेकी छन् ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले सुसी वाइल्सलाई समर्थन गर्दै भनिन्- ‘ट्रम्पको सुसी भन्दा ठूलो वा बढी वफादार सल्लाहकार छैन । सम्पूर्ण प्रशासन उनको स्थिर नेतृत्वको लागि कृतज्ञ छ र उनको पछाडि पूर्ण रूपमा उभिएको छ ।’ 

तर यो अन्तर्वार्ताले फेरि राष्ट्रपति र उनको नीतिहरूको बारेमा प्रश्न उठाउन सक्छ र पुरानो मतभेदहरू, विशेष गरी मस्कसँग पुन: उत्पन्न गर्न सक्ने बताइएको छ । वाइल्सले मस्कको बारेमा भनेकी छन्- ‘उनी पूर्ण रूपमा एक्लो छन् । मस्कसँग चुनौती भनेको उनको गतिसँग तालमेल मिलाउन गाह्रो छ ।’

एडोल्फ हिटलर, जोसेफ स्टालिन र माओत्सेतुङको समयमा लाखौं मृत्युको लागि सरकारी कर्मचारीहरू जिम्मेवार थिए भनी सोधिएको प्रश्नमा वाइल्सले भनिन्- ‘मलाई लाग्छ, उनी त्यतिबेला हल्का औषधि (माइक्रोडोजिङ) प्रयोग गरिरहेका थिए ।’ यद्यपि, विल्सले उनलाई मस्कको लागूपदार्थको प्रयोगको कुनै प्रत्यक्ष ज्ञान नभएको बताएकी छन् ।

मस्कले यसअघि पनि केटामाइन र अन्य औषधिहरू व्यापक रूपमा प्रयोग गरेको आरोप लगाइएको थियो । 

मस्कले सरकारी दक्षता विभागको नेतृत्व गरेका थिए, जसको उद्देश्य संघीय सरकार र यसको कार्यबल घटाउनु थियो । उनले सुरुमा अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी बन्द गर्ने लक्ष्य राखेका थिए । यो कदमले वाशिंगटनमा तरंग ल्यायो र धेरै मानवीय कार्यक्रमहरू बन्द गर्न बाध्य बनाएको थियो ।

वाइल्सले मस्कले ट्रम्पले बचत गर्न चाहेका कार्यक्रमहरू बन्द गर्दा उनी ‘सुरुमा छक्क’ परेको बताइन र उनले मस्कको सामना गरेको बताइन । वाइल्सले भनिन्- ‘मस्कको मनोवृत्ति भनेको कामहरू छिटो गर्नुपर्छ भन्ने हो । यस्तो दृष्टिकोणमा केही हानि हुन्छनै  । तर कुनै पनि समझदार व्यक्तिले युएसएड बन्द गर्ने प्रक्रिया राम्रो थियो भनेर भन्दैन ।’

ह्वाइट हाउसकी चीफ अफ स्टाफ रहेकी वाइल्सले यो अन्तर्वार्ता भ्यानिटी फेयर पत्रिकालाई दिएकी थिइन् ।

Read More

महाधिवेशनमा ३६ प्रतिनिधि किन मतदानबाट बाहिरिए ? एमालेभित्र चासो र चर्चा (नाम सहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया करिब २२ घण्टा लामो समयपछि बुधबार बिहान सम्पन्न भएको छ।

लामो प्रतीक्षापछि टुंगिएको मतदानमा कुल २ हजार २६३ प्रतिनिधिमध्ये २ हजार २२७ जनाले मात्र मताधिकार प्रयोग गरे, भने ३६ प्रतिनिधि मतदानमा सहभागी हुन सकेनन्।

बुधबार बिहान सुरु भएको मतदान प्रक्रिया रातभर चलेर आज बिहान मात्र सकिएको हो। महाधिवेशनमा ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि करिब ६४२ जनाको उम्मेदवारी परेको छ। यसपटक अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलले आ-आफ्नो प्यानलसहित प्रतिस्पर्धा गरेका छन्, जसले महाधिवेशनलाई थप रोचक बनाएको छ।

मतदान सकिएसँगै अहिले मतगणनाको प्रक्रिया सुरु गर्न मुचुल्का उठाउने र सहमति कायम गर्ने तयारी भइरहेको छ। पार्टी स्रोतका अनुसार मतगणना सुरु भएको तीन घण्टाभित्र नतिजा सार्वजनिक हुने दाबी गरिएको छ।

यद्यपि, मतदानमा अनुपस्थित भएका ३६ प्रतिनिधिको विषयले महाधिवेशन स्थलदेखि राजनीतिक वृत्तसम्म चासो र चर्चा बढाएको छ। को-को कारणवश मतदानबाट बाहिरिए भन्ने प्रश्न अहिले स्वाभाविक रूपमा उठ्न थालेको छ।

मतदानमा सहभागी हुन नसकेका प्रतिनिधिहरूको नामावली

केन्द्रीय कमिटीबाट
मुकुन्द न्यौपाने
बसन्त नेम्वाङ
बालकृष्ण काउछामगर
ब्रिजेश गुप्ता
राजकुमार गुप्ता
हरिबहादुर राजवंशी

अनुशासन आयोग
पोष्ट कुमार नेपाल
सरस्वती गौतम
सतिलाल राजवंशी
प्रदीप प्याकुरेल (सुशील) – उपस्थित भए पनि कार्ड नभएको

निर्वाचन आयोग
समिर नेपाल
रचना राजोपाध्याय

लेखा आयोग
अशोक केसी

विभाग तथा अन्य प्रतिनिधि
घनश्याम कोइराला
सन्जीव रोकाहा
कृष्णमाया भुजेल (झापा)
लक्ष्मी यादव (बारा)
शत्रुधन प्रसाद सिंह (सिरहा)
राजेन्द्र प्रसाद यादव (पर्सा)
अंशु आनन्द (पर्सा)
मनोज कुमार गुप्ता (पर्सा)
विजय कापर (सप्तरी)
जितेन्द्र चौधरी (महोत्तरी)
तेजकुमार बिक
पल्वराज भट्ट (कञ्चनपुर)
तिलक रिजाल (दैलेख)
गोमा नेपाली (कालीकोट)
दानबहादुर बिक
बब्लु शिवाकोटी

प्रवासबाट
सिर्जना नेपाली
अशिम कोइराला
दिनेश बास्तोला
बालुका बेलबासे
गिरिराज बेलबासे
मिना पोखरेल
राजेन्द्र अर्याल (गुल्मी)

महाधिवेशनको अन्तिम नतिजाले एमालेको भावी नेतृत्व मात्र होइन, आगामी राजनीतिक दिशासमेत तय गर्ने भएकाले अब सबैको ध्यान मतगणना र नतिजातर्फ केन्द्रित भएको छ।

Read More