काठमाडौँ । भाद्र २३ र २४ गते भएका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोग, २०८२ ले अनुसन्धानको दायरामा रहेका तीन जना पूर्व उच्च पदस्थ अधिकारीमाथि लगाइएको विदेश भ्रमण रोक्का तथा स्थानहद फुकुवा गरेको छ ।
आयोगले पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका पूर्व महानिरीक्षक चन्द्रकुवेर खापुङ र काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथि लगाइएका प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।
आयोगको सचिवालयका तर्फबाट उपसचिव कमलप्रसाद पाण्डेद्वारा आज जारी विज्ञप्तिमा यसबारे जानकारी दिइएको छ । आयोगका अनुसार छानबिनका क्रममा तीनै जनासँग आवश्यक बयान लिइसकिएको र त्यसपछि प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरिएको हो ।
यता, सोही घटनासँग जोडेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भने स्थानहद लगाइएको छ । उक्त निर्णयप्रति नेकपा एमालेले असहमति जनाउँदै आएको छ । आज सरकारी राजनीतिक संवाद समितिका सदस्यहरूसँगको भेटघाटमा एमाले नेताहरूले यो विषय उठाएका थिए । छलफलका क्रममा सरकारी प्रतिनिधिहरूले नेताहरूमाथि लगाइएको स्थानहद फुकुवा गर्न सकिने संकेत दिएका छन् ।





