काठमाडौँ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सरकार र प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच सहमति जुटेको छ । देशको वर्तमान राजनीतिक अवस्थाबाट निकास खोज्ने उपायका रूपमा निर्वाचनलाई अघि बढाउने विषयमा शीतल निवासमा भएको उच्चस्तरीय छलफलमा यस्तो समझदारी बनेको हो ।
मंगलबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा भएको छलफलमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार निर्वाचनका लागि अनुकूल वातावरण तयार पार्न आगामी दिनमा बालुवाटारमा थप विस्तृत छलफल गर्ने सहमति पनि भएको छ ।
छलफलका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले देशको अवस्था गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै यस्तो परिस्थितिमा राजनीतिक निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताए । निर्धारित मितिमा निष्पक्ष र सफल निर्वाचन गराउनु सबै राजनीतिक शक्ति र सरकारको साझा दायित्व भएकोमा उनले जोड दिएका थिए ।
राष्ट्रपतिले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूलाई आवश्यक सहकार्य र जिम्मेवारी देखाउन आग्रह गरेका छन् ।




