२०८३ बैशाख १३

कृषिमा प्रविधिको महाकुम्भ: माघ २ देखि ४ सम्म चितवनमा एग्रीटेक एक्स्पो

काठमाडौँ । नेपाली कृषि क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी ‘नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ आयोजना हुने भएको छ।

मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रा.लि.को आयोजनामा उक्त प्रदर्शनी माघ २ देखि ४ गतेसम्म भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ।

आयोजकका अनुसार प्रदर्शनीमा नेपाल, भारत, चीनसहित विभिन्न देशका कृषि क्षेत्रसँग सम्बन्धित कम्पनीहरूका १०० भन्दा बढी स्टल रहनेछन्। एकै स्थानमा कृषि क्षेत्रका अत्याधुनिक प्रविधि, उपकरण र सेवाबारे जानकारी लिन सकिने भएकाले यो प्रदर्शनी कृषक, उद्यमी र लगानीकर्ताका लागि विशेष अवसर बन्ने अपेक्षा गरिएको छ।

प्रदर्शनीमा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाईभैंसी पालन, डेरी व्यवसाय, कृषि औजार तथा उपकरण, पशु चिकित्सा सेवा, खाद्य प्रविधि, मल, बीउबिजन, कीटनाशक, कृषि तालिम तथा वित्तीय सुविधासम्बन्धी जानकारी र प्रविधि अवलोकन गर्न सकिनेछ।

देश तथा विदेशबाट आएका उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी, संघसंस्थाका प्रतिनिधि र आम कृषकहरूले आधुनिक कृषि प्रविधिको प्रत्यक्ष अवलोकन गर्न, डेमो हेर्न र आफ्ना जिज्ञासा समाधान गर्न पाउने आयोजकको विश्वास छ।

प्रदर्शनीमा प्रवेश निःशुल्क रहनेछ। यहाँ साना किसानका लागि उपयोगी तथा किफायती उपकरणदेखि लिएर डेरी मेसिनरी र पशुपन्छीपालन उद्योगमा प्रयोग हुने ठूला उपकरणसम्मको प्रदर्शन तथा प्रत्यक्ष प्रयोग (डेमो) गरिनेछ। आयोजकका अनुसार यो प्रदर्शनी नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणतर्फ एक महत्वपूर्ण कोशेढुंगा सावित हुने छ।

हाल प्रदर्शनीका लागि सीमित स्टलहरू मात्र बाँकी रहेको र स्टल बुकिङ तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ।

आयोजकले यस प्रदर्शनीबाट नेपालको कृषि क्षेत्रका लागि उपयुक्त नवीनतम प्रविधि र सेवाको पहिचान हुने, त्यसको प्रयोगबाट कृषि उत्पादन बढ्ने र मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीको प्रवद्र्धकको रूपमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको छ। सहयोगी संस्थाका रूपमा राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ, राष्ट्रिय कृषक समूह महासंघ नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ नेपाल तथा चितवन उद्योग संघ रहेका छन्।