२०८३ बैशाख १३

मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

धनुषा । गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमबीच एकदिवसीय मधेश  प्रदेशस्तरीय सुरक्षा गोष्ठी  जनकपुरमा सम्पन्न भएको छ । बुधबार नेपाल सरकार गृह मन्त्रालय र गृह सञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेशद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।

उक्त अवसरमा गृहमन्त्री अर्यालले समाजमा शान्ति सुव्यवस्था कायम गर्नु वर्तमान सरकारको मुख्य उद्देश्य रहेको चर्चा गर्दै गोष्ठीले प्रदेश अन्तर्गतका जिल्लाहरूको शान्ति सुरक्षा प्रभावकारी बनाउन र भएका समस्या एवम् चुनौतीलाई समाधान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । जस्तोसुकै आपराधिक गतिविधि नियन्त्रण गर्न सरकार सदैव कटिबद्ध रहेको बताउँदै नागरिकसँगको समन्वय तथा सहकार्यमा अपराध तथा हिंसा नियन्त्रण गरी जनसमुदायमा सुदृढ सेवा प्रवाह गर्नुपर्नेमा उहाँले जोड दिए । आसन्न निर्वाचनलाई निर्धारित समयमै सम्पन्न गराउन नेपाल सरकार प्रतिबद्ध रहेको समेत उनले बताए । 

सो अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव, मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र मधेश प्रदेशका कायम मुकायम प्रमुख सचिव कमल प्रसाद भट्टराईले आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।  

गोष्ठीमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रभावकारी सुरक्षा व्यवस्थापननै सुशासन, समृद्धि र विकासको आधार भएको चर्चा गर्दै प्रदेशमा चुनौतीको रूपमा रहेको खुला सिमाना, लागूऔषध ओसारपसार, सडक दुर्घटना लगायतका अपराध नियन्त्रणको लागि अन्य सरोकारवाला निकायहरूसँग समन्वय तथा सहकार्य गरी प्रभावकारी प्रहरी परिचालन गर्नुपर्नेमा उनले जोड दिए । सुरक्षा सम्बन्धि बहुआयामिक विषयहरूमा केन्द्रित यस गोष्ठीबाट भएको मार्गनिर्देशन तथा पृष्ठपोषणको उच्चतम सदुपयोग गर्दै प्रदेश अन्तर्गत सुरक्षा व्यवस्था मजबुत पार्न तथा आसन्न निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन समेत उपस्थित प्रहरी कर्मचारीहरूलाई उनले निर्देशन दिए । 

नेपाली सेनाका रथी प्रदिपजंग केसी, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीले प्रदेशस्तरीय सुरक्षा गोष्ठीको बारेमा आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए । गृह मन्त्रालय शान्ति सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख आनन्द काफ्लेले प्रदशको सुरक्षा अवस्था र सुरक्षा चुनौति सम्बन्धी प्रस्तुतीकरण गरेको उक्त कार्यक्रममा  गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीले स्वागत मन्तव्य तथा गोष्ठीको उद्देश्यका बारेमा जानकारी दिएका थिए । गोष्ठीमा मधेश प्रदेश अन्तर्गत ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गरेका थिए । 

गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव राजकुमार श्रेष्ठले मन्तव्य सहित गोष्ठी समापन गरे । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

Read More

किशोरीलाई खेलौना बनाउने तालिमको रकम हिनामिना गर्ने नगर प्रमुखसहित ८ जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ । सर्लाहीको बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकर प्रसाद कुशवाहासमेत ८ जनाविरुद्ध गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकामा किशोरीहरुलाई खेलौना बनाउने तालिमका लागि विनियोजित ३ लाख ८२ हजार ५३ रुपैयाँ हिनामिना गरेको आरोपमा नगर प्रमुख कुशवाहासहित वडा नम्बर ५ का वडा अध्यक्ष मनोज मोहन कुमार सिंह, प्रमुख प्रशासकीय अधिकृत सुशिल कुमार साह र लेखापाल राज कुमार महतो, तत्कालीन योजना शाखा प्रमुख उदय कुमार साह, शान्ति विकास कल्याण केन्द्र नेपाल, गौर-८, रौतहटका अध्यक्ष सविन्द्र नारायण साह, सदस्य उमेश कुमार पासवान र सदस्य जाजुल मिया कवारीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।

Read More

काँग्रेस संस्थापन पक्ष निर्वाचन आयोगमा, महामन्त्रीद्वयलाई गरेको कारवाहीको दियो जानकारी

काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन पक्षले आफुले गरेको निर्णय निर्वाचन आयोगलाई जानकारी गराएको छ ।

संस्थापन पक्षले निर्वाचन आयोग पुगेर केन्द्रीय समितिको बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई गरेको कारवाही बारे पनि जानकारी दिएको छ ।

यसअघि विशेष महाधिवेशन पक्षधरले पनि पार्टीको विशेष महाधिवेशन जारी रहेको र विशेष महाधिवेशनमा उपस्थित महाधिवेशन प्रतिनिधिको सुची समेत जानकारी गराएको थियो । 

Read More

देउवा नेतृत्वको केन्द्रीय समिति अस्ति नै भंग भएको हो, निर्णयप्रति प्रतिक्रिया छैन- गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समिति भंग भएर नयाँ नेतृत्व चयन गर्ने बताएका छन् ।

विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले आफुहरु आधिकारिक काँग्रेस भएको बताउदै बहुमत महाधिवेशन प्रतिनिधि भृकुटीमण्डपमा रहेको बताए । 

सानेपाको केन्द्रीय समिति अस्ति नै भंग भएकाले त्यसले गर्ने निर्णयमा आफ्नो कुनै प्रतिक्रिया नभएको उनले बताए । नेपालको निर्वाचन आयोग र कानुनप्रति विश्वास भएको बताउदै विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी रहेको विश्वले हेरिरहेको बताए ।

Read More

विश्वप्रकाशको प्रतिक्रिया- विशेष महाधिवेशनले देशलाई सहि दृष्टिकोण दिएको र अब सहि नेतृत्व दिन्छ

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय समितिले पार्टीबाट निष्काशित भएपछि प्रतिक्रिया दिदै विधान अनुरूपको बिशेष महाधिवेशनले देशलाई सहि दृष्टिकोण दिएको र अब सहि नेतृत्व दिने बताएका छन् ।

उनले सहमतिका लागि प्रस्तावित ८ बुँदामध्ये कुन बुँदा काँग्रेस र देशको अहितमा थियो भन्ने प्रश्न गर्दै काँग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र आफु दुवै दृढ रहेको बताएका हुन् । उनले भनेका छन्- ‘मुस्कुराउँदै फेरि पढें यी बुँदा, मेरो प्रतिक्रिया केवल यत्ति छ- काँग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म, दुवै दृढ छौँ l बिधान अनुरूपको बिशेष महाधिवेशनले देशलाई सहि दृष्टिकोण दिएको छ, अब सहि नेतृत्व दिनेछ !’

आजै बसेको केन्द्रीय समितिको बैठकले महामन्त्रीद्वय थापा र शर्मालाई पार्टीबाट निष्काशित गर्ने निर्णय गरेको थियो । विशेष महाधिवेशन पक्षधरले आजै नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ ।

Read More

कांग्रेसमा भूकम्प: देउवाको एक्सन, गगन-विश्वप्रकाश पाँच वर्षका लागि निलम्बित

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक तनाव निर्णायक मोडमा पुगेको छ। पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पाँच वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको छ। यही निर्णय अन्तर्गत सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पनि पाँच वर्षका लागि निलम्बन गरिएको छ।

बैठकमा सहभागी केन्द्रीय सदस्य दिनेश कोइरालाका अनुसार पार्टीभित्र गहिरिँदै गएको विवाद र विभाजनको अवस्थालाई ध्यानमा राख्दै बहुमत केन्द्रीय सदस्यहरूको उपस्थितिमा यस्तो कठोर निर्णय लिइएको हो। संस्थापन पक्षले महामन्त्रीद्वयले पार्टीलाई विभाजनको रेखातर्फ धकेलेको आरोप लगाउँदै कारबाही अपरिहार्य भएको निष्कर्ष निकालेको बताइएको छ।

बैठक स्रोतका अनुसार आज बिहानसम्म सभापति देउवाले पार्टी फुट्न नदिन अधिकतम पहल गरेका थिए। तर विशेष महाधिवेशन पक्षधरहरूले उम्मेदवारी दर्ता पूरा गर्दै मतदान प्रक्रियातर्फ अघि बढेपछि संस्थापन पक्ष थप कडा र निर्णायक रूपमा प्रस्तुत भएको बुझिन्छ।

यसैबीच, सभापति पदमा गगन थापाको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित हुने अवस्था बनेको छ। यही सन्दर्भलाई लिएर संस्थापन पक्षले पार्टीको विधान, अनुशासन र एकतामाथि गम्भीर प्रश्न उठेको भन्दै नेतृत्व तहमा कठोर कारबाही आवश्यक भएको निष्कर्ष निकालेको बताइएको छ।

कांग्रेसभित्र नेतृत्व, विशेष महाधिवेशन र भावी दिशालाई लिएर देखिएको यो टकरावले पार्टीको आन्तरिक राजनीतिलाई झनै तरंगित बनाएको छ। निलम्बनको यो निर्णयले कांग्रेसको आगामी राजनीतिक यात्रा र संगठनात्मक संरचनामा गहिरो असर पार्ने अनुमान गरिएको छ।

Read More

नेप्सेमा सामान्य वृद्धि, ६ अर्ब २० करोडको कारोबार

काठमाडौँ । नेप्से आज सामान्य बढेको छ । बुधबार नेप्से १.५२ अंकले बढेर २६४१.४३  विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२० कम्पनिका एक करोड २५ लाख ४ हजार ९७० कित्ता शेयर ६ अर्ब २० करोड ९४ लाख ३८ हजार ९०६ मा कारोबार भएको थियो ।

आज बैंकिङ, जीवन वीमा, उत्पादन, माइक्रोफाइनान्स र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज सुपर मादी हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ९.९४ प्रतिशतले बढेको छ भने थ्री स्टार हाइड्रोको शेयर ८.२३ प्रतिशतले बढेको छ । त्यस्तै आज आइसीएससी फाइनान्स डिभेन्चरको शेयर सबैभन्दा बढी ३.३० प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी  राढ़ी जलविद्युतको २६ करोड २४ लाख बराबरको कारोबार भएको छ भने युनियन हाइड्रोको २३ करोड २६ लाख बराबरको कारोबार भएको छ ।

Read More

कार्यवाहक सभापति खड्काको कडा ब्रिफिङ: महामन्त्रीद्वयबाट धोका भयो

काठमाडौं । नेपाली कांग्रेसभित्र आन्तरिक असन्तुष्टि चुलिँदै गएको संकेतका रूपमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीका महामन्त्रीद्वयबाट आफू धोका खाएको दाबी गरेका छन्।

सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा खड्काले विशेष महाधिवेशनसँग सम्बन्धित पछिल्ला छलफल र घटनाक्रमबारे जानकारी गराउँदै यस्तो धारणा राखेका हुन्।

बैठकमा सहभागी नेताहरूका अनुसार कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनका विषयमा भएका सहमति र समझदारी कार्यान्वयन नभएको भन्दै असन्तोष व्यक्त गरे। उनले पुस महिनामा तय गरिएको नियमित महाधिवेशनको कार्यतालिकाअनुसार काम अगाडि बढ्न नसकेपछि बाध्य भएर महाधिवेशनको समय बैशाखमा सारिएको प्रसंग उठाएका थिए।

खड्काले यस क्रममा भृकुटीमण्डपमा उम्मेदवारी दर्तासमेत भइसकेको अवस्थामा महामन्त्रीद्वयको भूमिकाले पार्टीलाई विभाजनको दिशातर्फ धकेलेको आरोप लगाएको बैठक स्रोतले जनाएको छ। उनका अनुसार आन्तरिक समन्वय र सहकार्यको सट्टा एकपक्षीय निर्णय र कदमहरूले पार्टीभित्र अविश्वास बढाएको छ।

कार्यवाहक सभापतिको यस ब्रिफिङपछि केन्द्रीय कार्यसमिति बैठकमा माहोल केही तनावपूर्ण बनेको बताइन्छ। कांग्रेसभित्र नेतृत्व, कार्यतालिका र विशेष महाधिवेशनको प्रक्रियालाई लिएर देखिएको मतभेद अब खुला रूपमा सतहमा आएको संकेत खड्काको भनाइले दिएको छ।

पार्टीको एकता, आगामी महाधिवेशन र नेतृत्व चयनको प्रक्रियालाई लिएर गम्भीर प्रश्न उठिरहेका बेला आएको खड्काको यो अभिव्यक्तिले कांग्रेसको आन्तरिक राजनीतिलाई थप तरंगित बनाएको छ।

Read More

सुमन सायमी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं । अभियन्ता सुमन सायमी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

बुधबार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सायमीलाई पार्टीमा स्वागत गरेका हुन । सायमी चर्चित गुठी आन्दोलनसहित काठमाडौंमा विभिन्न खालका सामाजिक जागरण अभियानको नेतृत्व गर्दै आएका छन् ।  राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) सँग भ्रष्टाचार नियन्त्रण, गुठी आन्दोलन, सहकारी आन्दोलनको मर्मअनुसार अघि बढने संकल्पसहितको समझदारी गरिएको नेपाली कम्युनिष्ट पार्टीले जनाएको छ ।

आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनाव लड्ने तयारीमा रहेका सायमी चुनावअघि नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन् । 

२०७९ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेका सायमीले  १३ हजार ७७० जना मत प्राप्त गरेका थिए । त्यस्तै पछिल्लो प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ-८ बाट उम्मेदवार बनेर रास्वपाका विराज भक्त श्रेष्ठसँग पराजित भएका थिए । विराजले १० हजार ११२ मत प्राप्त गरेर विजयी भएका थिए भने सायमीले ६ हजार १७९ मत प्राप्त गरेका थिए ।

Read More

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारवाही

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समितिले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारवाही गरिएको छ ।

केन्द्रीय समितिको बैठकले दुवै महामन्त्रीद्वयलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ । त्यस्तै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पार्टीले कारवाही गरेको छ । त्यस्तै बैठकले विशेष महाधिवेशनमा संलग्नलाई पार्टीमा सामेल हुन आग्रह गरेको छ ।

Read More