२०८३ बैशाख १३

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-९ बस्ने कञ्चनुर भीमदत्त नगरपालिका-१८ घर भएकी ५१ वर्षीया गीता भण्डारीलाई प्रहरीले पक्राउ गरेको  छ । 

गीताले क्यानडा पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट २७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ बाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।

Read More

गभर्नर पौडेलसँग संयुक्त राष्ट्रसंघकी आवासीय समन्वयकर्ता यहियाको शिष्टाचार भेट

काठमाडौँ । गभर्नर विश्वनाथ पौडेलसँग संयुक्त राष्ट्रसंघकी आवासीय समन्वयकर्ता लिला पिटर्स यहियाले शिष्टाचार भेट गरेकी छन् ।

मंगलबार बिहान भेटपछि भएको छोटो छलफलमा नेपालको वर्तमान आर्थिक अवस्था र आर्थिक स्थायित्वमा देखिएका नयाँ चुनौतीबारे कुराकानी भएको बताइएको छ ।

Read More

हत्या गरेको अभियोगमा बाजुराबाट पक्राउ

बाजुरा  । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका-२ पुडेनी बस्ने ३५ वर्षीय सर्बाश बुढाको हत्या गरेको अभियोगमा ४० वर्षीय धन बहादुर महतरालाई प्रहरीले पक्राउ गरेको छ । 

धन बहादुर र उनकै १८ वर्षीय छोराले ढुङ्गा प्रहार गर्दा सर्बाशको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट मुक्तिकोटबाट खटिएको प्रहरीले धन बहादुरलाई पक्राउ गरेको हो ।

प्रहरीले हाल फरार धन बहादुरको छोराको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More

पितृशोकमा रहेका ओलीलाई भेट्न पुगे राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पितृ शोकमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । 

मंगलबार ओली निवास गुण्डु पुगेर राष्ट्रपति पौडेलले अध्यक्ष ओलीका पिताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदन व्यक्त गरेका हुन् ।

ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो ।

Read More

रास्वपाको नवनिर्वाचित सांसदहरुलाई दुई दिवसीय अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई दिवसीय अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।

नवनिर्वाचित प्रतिनिधि सभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रमको उद्घाटन उपसभापतिद्वय डिपी अर्याल र डा. स्वर्णिम वाग्लेले घण्टी बजाएर गरेका थिए ।

कार्यक्रमलाई दुवै उपसभापतिले सम्बोधन गर्दै रास्वपाले पाएको ऐतिहासिक जनादेशको सम्मान गर्दै सम्हालिएर देशको नेतृत्व गर्ने जिम्मेवारी आएको बताएका थिए ।

भोलीसम्म जारी रहने अभिमुखीकरण कार्यक्रममा समुहमा छलफल, संसदको संरचना, अधिकार र जिम्मेवारी बारे प्रशिक्षण, कानुन निर्माणको प्रक्रियामा सांसदको भूमिका, चुनावी प्रतिवेदन प्रस्तुत र छलफल, विभिन्न विषय विज्ञहरुको प्रस्तुति लगायतका कार्यक्रम रहेको जानकारी दिइएको छ ।

Read More

जनताको अपेक्षा अनुसारको काम गर्ने समय आयो- डिपी अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्यालले जनादेशपछि जनताको अपेक्षाअनुसार अब बन्ने सरकारले काम गर्ने बताएका हुन् ।

आजदेखि शुरु भएको नवनिर्वाचित प्रतिनिधि सभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति अर्याल जनताको अपेक्षा अनुसारको काम गर्नुपर्ने समय आएको बताएका हुन् ।

उनले जनताले रास्वपालाई अति मन पराएर मात्र मत नदिएको भन्दै विगतमा पुराना दलले गरेको कामबाट निराश भएर तथा वरिष्ठ नेता बालेन शाह र सभापत रवि लामिछानेप्रति जनताले देखाएको विश्वास समेत भएको बताएका छन् ।

उपसभापति अर्यालले आफुहरुका हरेक गतिबिधिलाई जनताले हेरिरहेको भन्दै इतिहास लेख्ने अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् । उनले सबै नवनिर्वाचित सांसदहरुलाई आफ्नो जिम्मेवारी निभाउन तयार हुन आग्रह गरेका छन् ।

आपसी खिचातानीमा नअल्मल्लिएर जिम्मेवारी निभाउनु पर्ने आवश्यकता भएको भन्दै  उनले कार्यक्रममा सिकेका कुरा व्यबहारमा लागु गर्नुपर्नेमा जोड दिए ।

Read More

रास्वपाले ऐतिहासिक जनादेश पायो, यसलाई जोगाएर लैजान्छौं- डा. स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले निर्वाचनमा रास्वपाले एतिहसिक जनादेश पाएको बताउदै यसलाई जोगाएर लैजाने बताएका छन् ।

आजदेखि शुरु भएको नवनिर्वाचित प्रतिनिधि सभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति डा. वाग्लेले रास्वपाले निर्वाचनमा अत्यन्त गरुङ्गो जनादेश पाएको र यसलाई बचाएर जोगाएर लैजानु पर्ने चुनौती रहेको बताएका हुन् ।

उनले २०१५ सालमा विपी कोइराला नेतृत्वको काँग्रेसले पाएको जनादेश भन्दा पनि अभूतपूर्व भएको बताएका छन् । उनले यस अघि दलहरुले पाएका जनादेशबाट के सिक्ने र नसिक्ने भन्नेमा स्पष्ट हुनुपर्ने बताएका छन् । उनले सांसदहरुको मुख्य काम कानुन बनाउनु पर्ने भएपनि आफ्नै सरकार भएपनि प्रश्न गर्नुपर्ने र आवाज बुलन्द गर्नुपर्नेमा जोड दिए ।  

उनले आर्थिक विकास निर्माणमा ध्यान दिनुपर्ने बताउदै बाचा पत्र अनुसार सिस्टम बसाल्नेमा रास्वपाको सरकार केन्द्रित हुने बताए । उनले भने- ‘नेपाली जनताले रास्वपालाई काम गरेर देखाउनुपर्ने जनादेश दिनुभएको छ । यो ऐतिहासिक जनादेशको सम्मान गरेर काम गर्नुपर्ने जिम्मेवारी रहेको छ ।’ 

उनले नवनिर्वाचित सांसदहरुलाई प्रजातान्त्रिक व्यवस्थाको नियम सिक्नुपर्ने भन्दै गम्भीर भएर पदको गरिमालाई न्याय गर्न थप मिहिनेत गर्नुपर्नेमा जोड दिएका छन् । उनले संविधानप्रति प्रतिबद्ध रहेको बताउदै संबिधानकै दयारामा रहेर यसलाई सुधार गर्ने स्पष्ट गरे ।

उनले सांसदहरुलाई २०७९ र यस पटकको बाचा पत्र पढ्न आग्रह गर्दै रास्वपा कुन स्प्रिटमा जन्मियो भन्ने अध्ययन गर्न सुझाव दिएका छन् । त्यस्तै उनले अब सांसदहरुको जीवनशैली पारदर्शी हुनुपर्ने भन्दै जुन कुराका लागि पुराना दललाई गाली गरियो त्यो दोहोराउने छुट नभएको स्पष्ट गरेका छन् ।

Read More

अमेरिकी युद्धपोतमा आगलागी, निभाउन ३० घण्टा लागेको दाबी

काठमाडौँ । विशाल अमेरिकी युद्धपोत युएसएस जेराल्ड आर. फोर्डमा आगलागी भएको छ । मिडिया रिपोर्टका अनुसार आगलागी निभाउन ३० घण्टाभन्दा बढी समय लागेको दाबि गरिएको छ  ।

यस घटनामा दुई जनालाई सामान्य चोट लागेको बताइएको छ भने नौसेनाले आगलागी लडाईंको कारणले भएको नभएको र अहिले नियन्त्रणमा रहेको बताएको छ ।

आगलागीले जहाजको अवस्था केही कठिन बनाएको छ । लगभग ६०० सेवा सदस्यहरूको बेडमा क्षति पुगेको र उनीहरू भुइ र टेबलमा सुत्न बाध्य रहेको उल्लेख गरिएको छ । युद्धपोत हाल लाल सागरमा तैनाथ छ । यद्यपि, आगोले जहाजको सैन्य सञ्चालनलाई असर गरेको छैन ।

Read More

आयोगले ५ गते राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित अन्तिम प्रतिवेदन आगामी चैत ५ गते राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रस्तुत गर्ने तयारी गरेको छ। सो दिन दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा प्रतिवेदन बुझाइने कार्यक्रम तय गरिएको आयोगले जनाएको छ।

यसअघि आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित सांसदहरूलाई आज प्रमाणपत्र वितरण गर्दैछ। उक्त प्रक्रिया सम्पन्न भएसँगै यसपटकको निर्वाचन औपचारिक रूपमा पूरा भएको मानिनेछ। त्यसपछि आयोगले समग्र प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नेछ।

हालै सम्पन्न निर्वाचनबाट ६ वटा दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन्। समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै ५७ सिट हासिल गरेको छ भने नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समान ४–४ सिट पाएका छन्।

संवैधानिक व्यवस्था अनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचनबाट र ११० जना समानुपातिक प्रणालीमार्फत चयन हुने प्रावधान रहेको छ।

Read More

सार्बजनिक ऋण बढेर २८ खर्ब ७८ अर्बभन्दा बढी पुग्यो

काठमाडौँ । फागुनसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ । 

सार्बजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको फागुन मसान्तसम्मको ऋण प्रतिवेदन अनुसार सार्वजनिक ऋणमध्ये आन्तरिक १३ खर्ब ४८ अर्ब ११ करोड र बाहृय १५ खर्ब ३० अर्ब १८ करोड रहेको छ ।  गत असार मसान्तको तुलनामा फागुन मसान्तसम्म तिर्न बाँकी सार्वजनिक ऋण २ खर्ब ४ अर्ब २५ करोड थपिएको प्रतिवेदनमा उल्लेख छ । गत असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो । 

यो सार्बजनिक ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपातमा ४७.१३ प्रतिशत हो ।

चालु आर्थिक बर्षमा जम्मा ५ खर्ब ९५ अर्ब सार्बजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा फागुन मसान्तसम्म २ खर्ब ९५ अर्ब  १९ करोड ऋण प्राप्त भएको छ । बार्षिक लक्ष्यको तुलनामा  कुल सार्बजनिक ऋण प्राप्ति ५०.४४ प्रतिशत रहेको छ ।

चालु आर्थिक बर्षमा ऋण सेवा खर्चमा ४ खर्ब ११ अर्ब १ करोड विनियोजन भएकोमा फागुन मसान्तसम्म २ खर्ब ४२ अर्ब २६ करोड भुक्तानी भएको सार्बजनिक ऋण व्यवस्थापन कार्यालयले उल्लेख गरेको छ । यो बार्षिक बजेट विनियिजनको आधारमा ५८.९४ प्रतिशत हो । कुल गार्हस्थ उत्पादनको आधारमा माघ मसान्तसम्म कुल ऋण सेवा खर्च ३.९७ प्रतिशत रहेको छ । 

Read More