२०८३ बैशाख १३

दार्चुला केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । दार्चुलाको सिताउला केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

मंगलबार बिहान १० बजेर १२ मिनेटमा  दार्चुलाको सिताउला आसपास केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

Read More

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ४०० रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ९ मा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख ९ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७० रुपैयाँले बढेर ५३३५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५२६५  मा कारोबार भएको थियो ।

Read More

इन्धन बचत गर्न श्रीलंकामा सरकारी कार्यालय र शिक्षण संस्था सातामा चार दिन खुल्ने

काठमाडौँ । श्रीलंका सरकारले इन्धन बचत गर्न महत्वपूर्ण निर्णय गर्दै हप्तामा चार दिन मात्रै काम गर्ने व्यवस्था लागू गर्ने जनाएको छ ।

विश्वव्यापी रूपमा इन्धन आपूर्तिमा परेको असरलाई ध्यानमा राख्दै यस्तो कदम चालिएको सरकारको भनाइ छ । अब सरकारी कार्यालय, विद्यालय र क्याम्पसहरू हप्तामा चार दिन मात्र सञ्चालन हुनेछन् ।

सरकारले सर्वसाधारणलाई अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरेको छ, ताकि पेट्रोल र डिजेलको खपत घटाउन सकियोस् । यसैबीच निजी क्षेत्रलाई पनि सोही व्यवस्था अपनाउन अपिल गरिएको छ । निजी कम्पनीहरूलाई पनि हप्तामा एक दिन अतिरिक्त बिदा दिन आग्रह गरिएको छ ।

यद्यपि अस्पताल, बन्दरगाह तथा आकस्मिक सेवा भने पहिलेझैँ नियमित रूपमा सञ्चालन हुने जनाइएको छ ।

Read More

अफगानिस्तानमाथि पाकिस्तानको भिषण आक्रमण, चार सयको मृत्यु

काठमाडौँ । पाकिस्तानले अफगानिस्तान माथि पुनः हवाई आक्रमण गरेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी लडाकु विमानले राजधानी काबुलका विभिन्न स्थानमा बम प्रहार गरेका छन्, जसमा एक अस्पताल समेत परेको बताइएको छ । आक्रमणमा करिब ४ सय जनाको मृत्यु भएको र २५० भन्दा बढी घाइते भएका छन् । प्रतिवेदनअनुसार दारुलअमान, अरजान किमत, खैरखाना तथा काबुल अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा ठूलो विस्फोट र गोलीबारीको आवाज सुनिएको थियो ।

तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले काबुलस्थित नशा मुक्ति केन्द्रमा बम खसालेको आरोप लगाएका छन् । तालिबानले घटनाको कडा निन्दा गर्दै यसलाई मानवताविरुद्धको अपराध भनेको छ र अफगान हवाई क्षेत्रको उल्लंघन भएको दाबी गरेको छ ।

यता पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका प्रवक्ता मोशर्रफ जैदीले यी आरोप असत्य भएको बताएका छन् । उनले काबुलमा कुनै अस्पताललाई निशाना नबनाइएको दाबी गरेका छन् ।

अफगान सरकारका उपप्रवक्ता हमदुल्लाह फितरत का अनुसार स्थानीय समयअनुसार राति करिब ९ बजे आक्रमण भएको हो । करिब दुई हजार शय्याको अस्पतालमा ठूलो क्षति पुगेको जनाइएको छ । सञ्चारकर्मी घटनास्थल पुग्दा अस्पतालका केही भागमा आगलागी भइरहेकाले क्षति अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

यस घटनापछि अफगान क्रिकेट खेलाडी राशिद खान ले कडा आलोचना गर्दै घटनाको छानबिन गर्न अन्तर्राष्ट्रिय समुदायसँग माग गरेका छन् । उनले सर्वसाधारण बसोबास गर्ने क्षेत्र, विद्यालय र अस्पताल आसपास आक्रमण हुनु अन्तर्राष्ट्रिय कानुनअनुसार गम्भीर अपराध हुने बताएका छन् ।

पाकिस्तान र अफगानिस्तानबीचको तनाव गत फागुन १० गतेदेखि बढ्दै आएको छ । त्यसपछि दुवै पक्षबाट आक्रमण र जवाफी कारबाही भइरहेको छ । सीमा क्षेत्रमा पछिल्ला हप्ताहरूमा पटक-पटक झडपसमेत भएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार पछिल्ला सैन्य कारबाहीमा दर्जनौं सर्वसाधारणको ज्यान गएको छ भने एक लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

Read More

न्यायको मागमा अडिग परिवार: १० दिनदेखि अस्पतालमै इनिशाको शव

काठमाडौं । सुर्खेतमा मृत अवस्थामा फेला परेकी १६ वर्षीया इनिशा विकको शव घटना भएको १० दिन बितिसक्दा पनि अझै अस्पतालमै राखिएको छ। निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै परिवारले शव बुझ्न अस्वीकार गरेको हो।

गत फागुन २३ गते वीरेन्द्रनगर नगरपालिका–४ स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा इनिशा मृत अवस्थामा भेटिएकी थिइन्। त्यसयता उनको शव सुर्खेतस्थित प्रदेश अस्पतालमा राखिएको छ।

परिवारका अनुसार पोस्टमार्टम प्रतिवेदनले अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखाएको छ। उनीमाथि बलात्कारपछि हत्या गरिएको आशंका गर्दै घटनाको न्यायिक छानबिन हुनुपर्ने मागसहित सुर्खेतसहित देशका विभिन्न स्थानमा विरोध प्रदर्शन पनि भइरहेको छ।

घटनाबारे प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीमार्फत विस्तृत अनुसन्धान अघि बढाइरहेको जनाएको छ। सुर्खेत प्रहरीका सूचना अधिकारी डीएसपी मोहनजंग बुढथापाका अनुसार प्रहरी निरीक्षकको नेतृत्वमा पुगेको विशेषज्ञ टोलीले वीरेन्द्रनगरमा शनिबारदेखि अनुसन्धानलाई तीव्रता दिएको छ।

त्यसैगरी घटनासँग सम्बन्धित प्रमाण संकलनका क्रममा पीडित र आरोपित पक्षका मोबाइलसहित केही विद्युतीय सामग्री परीक्षणका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

पीडित परिवारको उजुरीका आधारमा थप अनुसन्धानका लागि भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्य नेतृत्वको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुनः परीक्षण गरेर प्रतिवेदनसमेत तयार गरेको छ। प्रतिवेदनमा जबरजस्ती करणीका क्रममा मृतकको संवेदनशील अंगमा गम्भीर क्षति पुगेको र त्यसपछि भएको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको उल्लेख गरिएको बताइएको छ।

घटनासम्बन्धी अनुसन्धानका क्रममा प्रहरीले चार किशोरलाई नियन्त्रणमा लिएर म्याद थप गर्दै अनुसन्धान अघि बढाएको छ। गुर्भाकोट–६ बडाखोली स्थायी घर भएकी इनिशा फागुन २३ गते बिहान ट्युसन पढ्न भन्दै घरबाट निस्केकी थिइन्।

परिवारले घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन गरी दोषीलाई कानुनी कारबाही नभएसम्म शव नउठाउने अडान दोहोर्‍याएको छ।

Read More

होर्मुज क्षेत्रमा तनाव बढ्दा भारतका दुई युद्धपोत तैनाथ

काठमाडौं । अमेरिका, इजरायल र इरानबीच बढ्दो तनावका बीच भारतले होर्मुज स्ट्रेट आसपास आफ्नो नौसैनिक उपस्थिति बढाएको छ। भारतले उक्त क्षेत्रमा दुईवटा युद्धपोत तैनाथ गरी व्यापारिक जहाजहरूको सुरक्षा व्यवस्था कडा बनाएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय नौसेनाको टास्क फोर्स अन्तर्गत रहेका ती युद्धपोतहरूले भारततर्फ आउने तेल तथा ग्यास बोकेका व्यापारी जहाज र ट्याङ्करलाई सुरक्षा प्रदान गर्ने उद्देश्य राखेका छन्।

यसैबीच, युद्धको संवेदनशील परिस्थितिका बीच भारततर्फ आउने ऊर्जा आपूर्ति पनि निरन्तर जारी छ। भारतको पहिलो एलपीजी बोकेको जहाज ‘शिवालिक’ आज गुजरातस्थित मुन्द्रा बन्दरगाहमा सुरक्षित रूपमा आइपुगेको छ।

उक्त जहाजमा करिब ४६ हजार मेट्रिक टन एलपीजी रहेको बताइएको छ, जुन झण्डै ३२ लाख ४० हजार घरायसी ग्यास सिलिन्डर बराबर हुने जनाइएको छ।

त्यस्तै, ‘नन्द देवी’ र ‘जग लडकी’ नामका दुई थप भारतीय जहाज पनि तेल तथा ग्यास लिएर भारततर्फ आउँदै छन्। ती जहाजहरू भोलिसम्म भारतको बन्दरगाहमा पुग्ने अपेक्षा गरिएको छ।

Read More

शिखर पावरको आइपिओ बाँडफाँड सम्पन्न

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडको आइपिओको बाँडफाँड सम्पन्न भएको छ ।

कम्पनीको आइपिओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँड गरिएको हो ।

कम्पनीका अनुसार आईपीओमा २६ लाख ८७ हजार ३४७ जना आवेदकबाट कुल २ करोड ८८ लाख १६ हजार ९९० कित्ताका लागि आवेदन परेको थियो । तीमध्ये ३६ हजार ५०० जना आवेदकले दिएको ४ लाख २२ हजार २०० कित्ताको आवेदन विभिन्न कारणले अस्वीकृत भएको थियो । 

स्वीकृत भएका आवेदनमध्ये गोलाप्रथाबाट १ लाख ८४ हजार २६० लगानीकर्ताले १०-१० मात्र शेयर प्राप्त गरेका छन् ।

आइपिओको नतिजा सिडीएसीको आइपिओ रिजल्ट र मेरोशेयरको वेभसाइटमा हेर्न सकिने छ । 

Read More

‘कराईबाट उम्केको माछा भूँग्रामा’ जस्तो अवस्था नआओस्: बाबुराम

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कार्की आयोगले तयार पारेको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नगरिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन्। देश जेन–जी आन्दोलनपछि नयाँ राजनीतिक चरणतर्फ अघि बढिरहेको अवस्थामा यस्तो महत्त्वपूर्ण प्रतिवेदन गोप्य रहनु उपयुक्त नहुने उनको भनाइ छ।

उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै जेन–जी आन्दोलनको पृष्ठभूमिमा बनेको सरकारले युवासँग १० बुँदे सहमति पनि गरेको स्मरण गराएका छन्। त्यसैले अहिलेको अन्तरिम सरकारले कुनै ढिलाइ वा बहाना नगरी उक्त प्रतिवेदन सार्वजनिक गर्नु नै उचित हुने उनले बताएका छन्।

भट्टराईका अनुसार प्रतिवेदन अहिले सार्वजनिक भएमा आगामी दिनमा बन्ने नयाँ सरकारले कानुनी प्रक्रिया पूरा गरेर त्यसलाई कार्यान्वयन गर्न सहज हुनेछ।

उनले प्रतिवेदन लुकाएर राखे जनताको अपेक्षा पूरा नहुने र विशेष गरी जेन–जी पुस्ताका युवामा निराशा बढ्न सक्ने चेतावनी पनि दिएका छन्। यस्तो अवस्था आएमा ‘कराईबाट उम्केको माछा भूँग्रामा’ परेको जस्तै अवस्था बन्न सक्ने उनको टिप्पणी छ।

भट्टराईले आन्दोलनबाट बनेको सरकार भएकाले पारदर्शिता र जवाफदेहिता देखाउँदै कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्नु अहिलेको आवश्यकता भएको जोड दिएका छन्।

Read More

उदयपुरमा हावाहुरीको असर, बालिकासहित पाँच घाइते २ को मृत्यु

काठमाडौं । आइतबार साँझ आएको तीव्र हावाहुरीले उदयपुरको कटारी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। हावाहुरीका कारण रुख ढल्दा दुई जनाले ज्यान गुमाएका छन् भने पाँच जना घाइते भएका छन्।

ज्यान गुमाउनेमा कटारी नगरपालिका–८ थलीयाटारकी ४९ वर्षीया मिनामाया तामाङ र कटारी नगरपालिका–५ का ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन्।

प्रहरीका अनुसार कटारी–५ मा रहेको राधा कृष्ण मन्दिर नजिक टिन र काठले बनाइएको खाजा घरमाथि हावाहुरीसँगै ढलेको सुकेको सालको रुखले च्याप्दा वीरेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको हो। सोही घटनामा अन्य पाँच जना घाइते भएका छन्।

घाइते हुनेमा ४ वर्षीया बिनिशा चौधरी, आहालेडाँडाका २७ वर्षीय युवराज कार्की, बलाहाका ४६ वर्षीय लीला बहादुर दनुवार, सोही स्थानका ४६ वर्षीय प्रेमचन्द्र दनुवार तथा कटारी–१२ बसेरीकी १६ वर्षीया अस्मिता परियार रहेका छन्। उनीहरू सबैको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको छ।

घटनामा परेकी बालिका बिनिशा चौधरीलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा करिब ४० मिनेटपछि सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिएका छन्।

त्यसैगरी मिनामाया तामाङ भने घर नजिकै खसी–बाख्रा सार्ने क्रममा हावाहुरीले भाँचिएको रुखको हाँगाले लागेर गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी पुर्‍याइएको भए पनि चिकित्सकले राति करिब ९ः१० बजे मृत घोषणा गरेका थिए।

घाइतेमध्ये टाउकोमा गम्भीर चोट लागेका लीला बहादुर दनुवारलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ।

Read More

को हुन् ओस्कार विजेता अभिनेता माइकल बी. जोर्डन ?

काठमाडौँ । ओस्कार अवार्ड जितेपछि हलिवुड अभिनेता माइकल बी. जोर्डनको चर्चा फेरी चुलिएको छ । यस वर्षको ओस्कर ‘सिनर्स’ स्टार माइकल बी. जोर्डनका लागि धेरै विशेष थियो । उनले ९८औं एकेडेमी अवार्डमा पहिलो पटक सर्वश्रेष्ठ अभिनेताको ओस्कर जितेर इतिहास रचे ।

उनी मुख्य अभिनेता श्रेणीमा ओस्कर जित्ने छैटौं अश्वेत अभिनेता पनि बनेका छन् । आफ्नो भावनात्मक स्वीकृति भाषणमा, माइकल बी. जोर्डनले काला कलाकारहरूको लागि मार्ग प्रशस्त गर्ने दिग्गज अभिनेताहरूलाई सम्झेका थिए । आफ्नो सम्बोधनमा उनले विशेष रूपमा सिडनी पोइटियर र विल स्मिथको उल्लेख गरे । उनले भने-‘यी महान कलाकारहरूमा समावेश हुन पाउनु सम्मानको कुरा हो ।’

यस श्रेणीमा, माइकल बी. जोर्डनले टिमोथी चालमेटको ‘मार्टी सुप्रीम’, लियोनार्डो डिक्याप्रियोको ‘वन ब्याटल आफ्टर अनदर’, इथान हकीको ‘ब्लू मुन’ र वाग्नर मौराको ‘द सेक्रेट एजेन्ट’ सँग प्रतिस्पर्धामा थिए ।

‘सिनर्स’ फिल्म १९३० को दशकमा सेट गरिएको छ, जसमा माइकल बी. जोर्डनले जुम्ल्याहा दाजुभाइ स्मोक र स्ट्याकको भूमिका निर्वाह गरेका छन् । पहिलो विश्वयुद्ध पछि दाजुभाइहरू दक्षिण अमेरिका फर्कन्छन् र जुक जोइन्ट खोल्छन् । तर चाँडै नै, सानो शहरमा भ्याम्पायरहरूले आक्रमण गर्छन्, र कथाले रोमाञ्चक मोड लिन्छ ।

फिल्म रायन कुगलरद्वारा निर्देशित छ । फिल्मले उत्कृष्ट चलचित्र र उत्कृष्ट निर्देशक सहित कुल १६ ओस्कर नामांकनहरू प्राप्त गरेको थियो । ‘सिनर्स’ ले बक्स अफिसमा पनि असाधारण रूपमा राम्रो प्रदर्शन गरेको थियो, विश्वव्यापी रूपमा लगभग ३७० मिलियन डलर कमाई गरेको थियो ।

माइकल बी. जोर्डनको जन्म फेब्रुअरी ९, १९८७ मा संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाको सान्ता आनामा भएको थियो । उनको पूरा नाम माइकल बाकारी जोर्डन हो । उनले आफ्नो करियर मोडेलको रूपमा सुरु गरे र पछि टेलिभिजन र चलचित्रहरूमा काम गरे । उनले सुरुमा धेरै टेलिभिजन कार्यक्रमहरूमा साना भूमिकाहरू खेले, तर उनको वास्तविक पहिचान टिभी सिरिज ‘द वायर’ र ‘फ्राइडे नाइट लाइट्स’ बाट भयो । यी कार्यक्रमहरू पछि उनको करियर द्रुत गतिमा अगाडि बढ्यो ।

माइकल बी. जोर्डनले ‘क्रिड’, ;ब्ल्याक प्यान्थर’. ‘क्रिड २’,  ‘क्रिड ३’ लगायत धेरै ब्लकबस्टर फिल्महरूमा अभिनय गरेका छन् र अब उनको नाम ओस्कार विजेता अभिनेताको सूचीमा आवद्ध भएको छ । यी सबै फिल्महरूमा उनको अभिनयको दर्शक र समीक्षक दुवैले अत्यधिक प्रशंसा गरेका छन् ।

माइकल बी. जोर्डन एक अभिनेता मात्र होइनन्, एक फिल्म निर्माता र निर्देशक पनि हुन् । उनले क्रिड ३ बाट निर्देशनको दुनियाँमा उल्लेखनीय रूपमा प्रवेश गरे । आज, माइकल बी. जोर्डन हलिउडका सबैभन्दा लोकप्रिय र प्रतिभाशाली अभिनेताहरू मध्ये एक हुन् ।

Read More