२०८३ बैशाख १३

इजरायलको जासुसी आरोपमा एक व्यक्तिलाई इरानमा मृत्युदण्ड

काठमाडौँ । इरानले इजरायलको जासुसी आरोपमा एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ । ती व्यक्तिमाथि इजरायलको गुप्तचर निकायका लागि काम गरेको आरोप लागेको थियो ।

इरानको सरकारी समाचार एजेन्सी तसमिनका अनुसार उक्त व्यक्तिले देशका संवेदनशील क्षेत्रहरूको तस्बिर र जानकारी बाहिर पठाएको आरोप लागेको थियो ।

रिपोर्टअनुसार उनलाई गत वर्ष जुन महिनामा सवजबलाघ सहरबाट पक्राउ गरिएको थियो । त्यतिबेला इरान र इजरायलबीच १२ दिनसम्म द्वन्द्व चलिरहेको थियो । इरानले ती व्यक्ति अनलाइनमार्फत भर्ती भएको जनाएको छ । उनले एक यात्रा समूहको लिंकमा आफ्ना विवरण राखेपछि फारसी भाषा बोल्ने एक गुप्तचर अधिकारीले सम्पर्क गरेको बताइएको छ ।

Read More

खोटाङमा हेलिकप्टर दुर्घटना

काठमाडौँ । खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ ।

खोटाङको केपिलासगढी गाउँपालिका-२ बालाबेसीमा  काठमाडौंबाट शव लिएर गएको एयर डाइनास्टीको हेलिकप्टर दुर्घटना भएको हो ।

दुर्घटनामा हेलिकप्टर पुर्णरूपमा क्षतिग्रस्त भएको छ भने मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । उक्त हेलिकप्टर ल्याण्डिङ भैसकेपछि अर्को ठाउँ थोरै सार्ने क्रममा दुर्घटना भएको स्थानीयले बताएका छन् ।

Read More

सीताराम दुधको बिक्रीमा रोक

काठमाडौँ । सीताराम गोकुल मिल्क्सले उत्पादन गर्ने दुधको बिक्री रोक्का गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कम्पनीको स्थलगत अनुगमन गर्दा कम्पनीको प्याकेट प्रशोधित दुध सरकारले तोकेको गुणस्तरभन्दा कम पाइएपछि विक्रीमा रोक लगाएको हो । विभागका अनुसार दुधको चिल्लो पदार्थ तीन प्रतिशत हुनुपर्नेमा १.४ प्रतिशत मात्रै रहेको पाइएको थियो । 

विभागले भनेको छ- ‘प्रशोधित दुधको लागि नेपाल सरकारले तोकेको न्यूनतम अनिवार्य गुणस्तर मापदण्डमा दुधको चिल्लो पदार्थ ३.० प्रतिशत हुनपर्नेमा उद्योगमा रहेको लगबुकमा १.४ प्रतिशत मात्र पाइएको ( उत्पादन मितिः २०८२-१२-०२, ब्याच नं: २८६१) हुँदा उत्पादन भई विक्री वितरणको लागि कोल्ड स्टोरमा तयारी अवस्थामा रहेको सोही ब्याचको प्रशोधित दुधलाई उद्योगमा रहेको प्रयोगशालामा परिक्षण गर्दा पनि दुधमा चिल्लो पदार्थको मात्रा नेपाल सरकारले प्रशोधित दुधको लागि तोकेको न्यूनतम अनिवार्य गुणस्तर मापदण्ड भन्दा कम पाइएको छ ।’

विभागकी प्रवक्ता डा. बाल कुमारी शर्माले उत्पादन भई विक्री वितरणको लागि कोल्ड स्टोरमा तयारी अवस्थामा रहेको ५१९ क्रेट (५०० मिलि * २० पोका प्रति क्रेट) प्रशोधित दुध खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा (३३) बमोजिम विक्री वितरण नगर्ने निर्देशन सहित रोक्का राखिएको जानकारी दिएकी छन् । 

साथै थप अनुसन्धानको लागि प्रयोगशाला परिक्षणनार्थ उक्त ब्याचको दुधको नमुना संकलन गरिएको उनले बताएकी छन् ।

Read More

प्रधानमन्त्री कार्कीबाट निर्वाचन सफल पार्न भूमिका खेलेकोमा नेकपाका नेताहरुलाई धन्यवाद

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल कम्युनिस्ट पार्टीलाई पनि निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएकी छन् ।

नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्वप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरु प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुगेका थिए ।

उनीहरुबीच हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री कार्कीले भनिन्- ‘तपाईँहरुले निर्वाचनमा भाग लिइदिनुभयो। यो निर्वाचनको पक्षमा वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका खेल्नुभयो। यसका निम्ति धेरै धन्यवाद छ।’

उनले निर्वाचनमा विजय भएका नेताहरुलाई बधाई दिइन् र अन्य नेताहरुलाई अर्कोपटकका लागि शुभकामना दिएकी थिइन् ।

नेकपाका नेताहरुले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न भई देशले निकास पाएको भन्दै बधाई दिएका थिए । संयोजक प्रचण्डले भने- ‘यो निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो। यसमा जुन साहस र मेहनतका साथ तपाईँले काम गर्नुभयो, यो निकै महत्त्वपूर्ण र प्रशंसालायक छ । हामीले सुरुबाटै निर्वाचनको विकल्प छैन भनेर उभिएका हौँ। इफ बट केही नभनी निर्वाचन हुनुपर्छ भन्ने त्यतिबेला हामी मात्रै थियौँ ।’

पूर्वप्रधानमन्त्री नेपालले भने- ‘प्रधानमन्त्रीमा सुशीला कार्की आउने भन्ने सुनेको दिन निकै राहतको महसुस भएको थियो। तर पछि तपाईँले नआउने भन्नुभयो भन्ने समाचार पनि आयो। त्यस कुराले हामी सबै आत्तिएका थियौँ। तपाईँ आइदिएपछि संविधान बाँच्छ, व्यवस्था जोगिन्छ र अवस्था सम्हालिन्छ भन्ने विश्वास थियो ।’

अस्तव्यस्त अवस्था सम्हालेर ६ महिनाभित्रै चुनाव गराउने कार्य निकै चुनौतीपूर्ण भए पनि प्रधानमन्त्री कार्कीको छवि, इमान र दृढताका कारण सम्पन्न भएको उनीहरुको भनाइ थियो।

Read More

धुरन्धर-२ ले बनायो अग्रिम टिकट बुकिङमा नयाँ किर्तिमान

काठमाडौँ । बलिवुड फिल्म ‘धुरन्धर-२ द रिभेन्ज प्रति दर्शकको प्रतीक्षा अन्ततः सकिने भएको छ । यो फिल्म बिहीबारदेखि प्रदर्शनमा आउँदैछ ।

फिल्मप्रति दर्शकमाझ निकै ठूलो आकर्षण देखिएको छ । अग्रिम टिकट बुकिङका तथ्यांकले पनि यसको लोकप्रियता पुष्टि गरेका छन् । अग्रिम बुकिङको मामिलामा यसले ‘बाहुबली २’ लाई समेत पछि पारेको छ । गत वर्ष मंसिरमा प्रदर्शनमा आएको ‘धुरन्धर’ ले आम्दानीका धेरै कीर्तिमान बनाएको थियो । त्यसैले यसको दोस्रो भागले पनि त्यस्तै सफलता दोहोर्याउने अपेक्षा गरिएको छ । हालको अग्रिम बुकिङ हेर्दा चलचित्रले राम्रो सुरुआत गर्ने संकेत देखिएको छ ।

बुधबारदेखि केही स्थानमा विशेष प्रदर्शन समेत हुँदैछ । ती प्रदर्शनबाट मात्रै करिब ३० करोड रुपैयाँसम्म आम्दानी हुने अनुमान गरिएको छ ।

अग्रिम बुकिङतर्फ हेर्दा अहिलेसम्म नौ लाखभन्दा बढी टिकट बिक्री भइसकेका छन् । हालसम्म झण्डै ९ लाख ९० हजार ५०० टिकट बिक्री भएका छन्, जुन करिब १२ हजार ४२२ शोका लागि हो । भारतमा अग्रिम बुकिङमै ४२ करोड ७१ लाख रुपैयाँ आम्दानी भइसकेको छ ।

पहिलो दिनमै चलचित्रले घरेलु बजारमा १०० करोड भारुसम्म कमाउन सक्ने अनुमान गरिएको छ । विश्वभर भने यो रकम २०० करोड रुपैयाँसम्म पुग्ने अपेक्षा गरिएको छ ।

अग्रिम बुकिङकै आधारमा ‘धुरन्धर २’ ले ‘बाहुबली २’ को कीर्तिमान तोडेको छ । यसअघि ‘बाहुबली २’ ले पहिलो दिन करिब ६ लाख ५० हजार टिकट बिक्री गरेर शीर्ष स्थानमा थियो, तर अहिले त्यो स्थान ‘धुरन्धर २’ ले लिएको छ ।

Read More

नेतान्याहूको मृत्युको हल्ला चलेपछि ट्रम्पले यकिन गर्न पठाए विशेष दुत

काठमाडौँ । पश्चिम एसियामा जारी युद्ध १९औं दिनमा प्रवेश गरेको छ, र त्यसबेला पनि, युद्ध शान्त हुनुको सट्टा फैलिँदै गएको देखिन्छ । विश्वव्यापी चिन्ताहरू सतहमा उठेका छन्, जबकि विगत केही दिनदेखि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको मृत्युको हल्ला चलिरहेको छ ।

सामाजिक सञ्जालमा सनसनीपूर्ण चर्चा, एआई भिडियोको दाबी र राजनीतिक बयानबाजी पछि, नेतान्याहूको बारेमा सत्यताको बारेमा प्रश्नहरू उठिरहेको प्रश्न बारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि चिन्तित बनाएको देखियो । स्थिति यहाँसम्म पुग्यो कि अमेरिकी राष्ट्रपति ट्रम्पले नेतान्याहू जीवित रहेको यकिन गर्न एक दूत नै पठाउनु पर्यो, जसले गर्दा नेतान्याहूले आफ्नो जीवित रहेको पुष्टि गर्न फेरि एक पटक भिडियो जारी गरे । सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा, नेतान्याहूले आफ्नो मृत्युको बारेमा हल्ला र अनुमानहरूको कडा प्रतिवाद गरे, आफ्नो जीवित रहेको दाबी गर्दै स्पष्ट रूपमा भने, ‘म जीवित छु ।’

यस भिडियोमा नेतान्याहूसँगै अमेरिकी राजदूत माइक हुकाबी पनि देखिए । भिडियोमा, हुकाबीले मजाक गर्दै ट्रम्पले उनलाई नेतान्याहू ठीक छन् कि छैनन् भनेर जाँच गर्न विशेष रूपमा पठाएको बताएका थिए । यसमा, नेतान्याहू मुस्कुराउँछन् र जवाफ दिन्छन्, ‘हो, म जीवित छु ।’

वास्तवमा, केही दिन अघि, नेतान्याहूको एउटा भिडियो बाहिर आएको थियो, जुन एआईद्वारा सिर्जना गरिएको दाबी गरिएको थियो । मानिसहरूले उनको हातमा छ वटा औंला भएको जिकिर गरे, जसले भिडियोको बारेमा शंका उत्पन्न गरायो । यसले सामाजिक सञ्जालमा चर्को बहस निम्त्यायो । सामाजिक सञ्जालमा रहेको च्याटबोट ग्रोकले पनि भिडियोलाई डीपफेक घोषणा गर्‍यो, जसले गर्दा अफवाहहरू अझ बढ्यो ।

यी दाबीहरू पछि, नेतान्याहूले लगातार धेरै भिडियोहरू पोस्ट गरेका छन् । एउटा भिडियोले उनलाई कफी हाउसमा देखाएको थियो, तर त्यसले पनि प्रश्नहरू उठायो । नेतान्याहूले अब अमेरिकी राजदूतसँगको नयाँ भिडियो पोस्ट गरेर आफ्नो उपस्थिति प्रमाणित गर्ने प्रयास गरेका छन् ।

Read More

आजदेखि टुँडिखेलमा सभा-समारोह र सार्वजनिक कार्यक्रम गर्न रोक, हरियाली बनाउने योजना

काठमाडौं । काठमाडौं महानगरपालिकाले टुँडिखेल क्षेत्रमा आयोजना हुने सबै प्रकारका सभा–समारोह, खेलकुद तथा सार्वजनिक कार्यक्रमहरूमा तत्काल प्रभावबाट रोक लगाएको छ। महानगरले एक सूचना जारी गर्दै चैत ८ गतेदेखि उक्त क्षेत्रमा निर्माण कार्य सुरु हुने जानकारी दिएको हो।

महानगरका अनुसार टुँडिखेलको दक्षिण भाग, विशेषगरी सैनिक मञ्चको दक्षिणतर्फको खुला चउरमा घाँसे मैदान निर्माण गरिनेछ। यो परियोजना चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत बजेटअन्तर्गत अघि बढाइएको हो, जसले भविष्यमा व्यवस्थित खुला स्थानको रूपमा विकास गर्ने लक्ष्य राखेको छ।

निर्माण प्रक्रिया जारी रहँदा सो क्षेत्रमा हुने विभिन्न सांस्कृतिक, खेलकुद तथा अन्य सार्वजनिक गतिविधिहरू प्रभावित हुनेछन्। यस कारण महानगरले आयोजनाहरूलाई अस्थायी रूपमा अन्यत्र सार्न आग्रह गरेको छ।

महानगरले निर्माण सम्पन्न नहुँदासम्म टुँडिखेल प्रयोग नगर्न सबै सरोकारवालालाई अनुरोध गर्दै वैकल्पिक स्थानको व्यवस्था गर्न आग्रह गरेको छ।

Read More

सुनचाँदीको मुल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको २२ सयले घटेर तोलाको ३ लाख ७ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख ९ हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १८५ रुपैयाँले घटेर ५१५० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५३३५ मा कारोबार भएको थियो ।

Read More

रवि-बालेन ‘एक्सन मोड’मा, ठूला दल भने हारको कारण खोज्दै

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनपछि नयाँ सरकार गठनको प्रक्रिया तीव्र बन्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्व तह रणनीतिक तयारीमा जुटेको छ। पार्टीभित्र सरकार निर्माण, नेतृत्व चयन र आगामी कार्यदिशाबारे आन्तरिक छलफल र गृहकार्य दुवै समानान्तर रूपमा अघि बढिरहेका छन्।

निर्वाचनमा उल्लेखनीय सफलता हासिल गर्दै सबैभन्दा ठूलो दल बनेको रास्वपाले आफ्ना नवनिर्वाचित सांसदहरूका लागि विशेष अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ। यससँगै संसदीय दलको नेता चयन, पार्टी संरचनामा आवश्यक परिमार्जन तथा सरकार गठनका आधारहरू तय गर्न समेत तयारी भइरहेको छ।

यता, सम्भावित प्रधानमन्त्रीका रूपमा चर्चा गरिएका बालेन्द्र शाह (बालेन) भने प्रशिक्षण कार्यक्रममा सहभागी नभई सरकार गठनका व्यावहारिक पक्षमा केन्द्रित देखिएका छन्। मन्त्रिपरिषद्को संरचना, सदस्य छनोटका मापदण्ड र प्रारम्भिक कार्ययोजनामा उनी सक्रिय रहेको स्रोतहरूले बताएका छन्।

अर्कोतर्फ, नेपाली कांग्रेस र नेकपा (एमाले) लगायतका प्रमुख दलहरू भने चुनावी परिणाम अपेक्षाअनुसार नआएको निष्कर्षसहित समीक्षा प्रक्रियामा लागेका छन्। कांग्रेसले केन्द्रीय समिति बैठकमार्फत औपचारिक समीक्षा गर्ने तयारी गरिरहेको छ भने मातहतका निकायबाट प्रतिवेदन संकलन गरिरहेको छ।

एमाले पनि आन्तरिक छलफलमा व्यस्त छ। अध्यक्ष केपी शर्मा ओली व्यक्तिगत कारणले सक्रिय नभए पनि पार्टी नेतृत्वले डिजिटल माध्यमबाट समीक्षा प्रक्रिया अघि बढाइरहेको छ। महासचिव शंकर पोखरेलले पार्टीका विभिन्न तहलाई हारका कारणहरू विश्लेषण गरी प्रतिवेदन पठाउन निर्देशन दिएका छन्।

समग्रमा, एकातिर नयाँ शक्ति सरकार निर्माणको तयारीमा तीव्र गतिमा अघि बढिरहेको छ भने अर्कोतिर पुराना दलहरू आफ्नो कमजोर प्रदर्शनको कारण खोज्दै भविष्यको रणनीति बनाउने दिशामा उन्मुख देखिन्छन्।

Read More

पशुपतिनाथमा प्रधानमन्त्री कार्कीले गरिन् रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप उक्त पूजा गरेकी हुन् । 

मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उनले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना पनि गरेको उनको सचिवालयले जनाएको छ ।

सो अवसरमा संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशीलगायत सहभागी रहेका थिए ।

Read More