२०८३ बैशाख १६

सिटौला हटाउने प्रयासमा देउवा समूहको आपत्ति, ‘पार्टीलाई घाटा हुन्छ’

काठमाडौँ । नेपाली कांग्रेसभित्र फेरि आन्तरिक विवाद सतहमा आएको छ। राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला लाई हटाउने प्रयास भइरहेको चर्चा चलिरहेका बेला शेरबहादुर देउवा निकट समूहले त्यसप्रति कडा असन्तुष्टि जनाएको छ।

मंगलबार महाराजगञ्जस्थित एक होटलमा बसेको देउवा पक्षको भेलामा नेताहरूले पार्टीभित्र एकलौटी निर्णय लिन खोजिएको भन्दै आपत्ति जनाएका हुन्। उनीहरूले यस्तो कदमले पार्टीलाई फाइदा भन्दा बढी नोक्सानी हुने चेतावनी दिएका छन्।

भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता मीन विश्वकर्मा ले सिटौलाको नाम नलिइकनै राष्ट्रिय सभामा अनुभवी र सिनियर नेताको नेतृत्व परिवर्तन गर्नु आवश्यक नदेखिएको संकेत गरे।

उनले पार्टीभित्रको आन्तरिक विवादमा अल्झिनु भन्दा राष्ट्रिय राजनीति र लोकतन्त्रको संरक्षणमा केन्द्रित हुनुपर्नेमा जोड दिए। “राष्ट्रिय सभाको दलको नेता हुनु ठूलो जिम्मेवारी हो, तर त्यो पदलाई लिएर अनावश्यक विवाद सिर्जना गर्नु उपयुक्त हुँदैन,” उनले भने, “अहिलेको अवस्थामा पार्टी निर्माण, लोकतन्त्रको रक्षा र सरकारमाथि प्रभावकारी खबरदारी गर्नु प्राथमिकता हुनुपर्छ।”

भेलामा सहभागी नेताहरूले पार्टी नेतृत्वलाई सहमति र सहकार्यका आधारमा अघि बढ्न सुझाव दिएका थिए। उनीहरूको भनाइमा अहिलेको राजनीतिक परिस्थिति आन्तरिक खिचातानी गर्ने समय नभई संगठन सुदृढ बनाउने समय हो।

देउवा समूहले आन्तरिक विषयमा अनावश्यक विवाद बढ्दा त्यसले पार्टीको छवि मात्रै नभई समग्र लोकतान्त्रिक अभ्यासमै असर पार्न सक्ने चेतावनी समेत दिएको छ।