काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले लामो समयदेखि प्रतिक्षामा रहेको नेताहरूको कार्यविभाजन अन्ततः टुंग्याएको छ।
मंगलबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय संयोजन समिति बैठकले प्रदेशदेखि विशेष संरचनासम्मको जिम्मेवारी निर्धारण गरेको हो।
पार्टी प्रवक्ता प्रकाश ज्वाला का अनुसार पार्टी एकताको भावनालाई ध्यानमा राख्दै इन्चार्ज र सहइन्चार्ज फरक–फरक धारबाट राखिएको छ, जसले आन्तरिक सन्तुलन कायम गर्ने अपेक्षा गरिएको छ। निर्णयअनुसार कोशी प्रदेशको इन्चार्ज राजेन्द्र राई र सहइन्चार्ज सावित्रिकुमार काफ्ले तोकिएका छन्। मधेस प्रदेशमा महिन्द्र राय यादव इन्चार्ज हुँदा सहइन्चार्जमा मात्रिका यादव र रामकुमार भट्टराई रहेका छन्।
बागमती प्रदेशको इन्चार्ज डा. गङ्गालाल तुलाधर र सहइन्चार्ज हितबहादुर तामाङ छन्। गण्डकी प्रदेशमा भने सुरुआती निर्णय फेरबदल गर्दै देवेन्द्र पौडेल लाई इन्चार्ज बनाइएको छ भने श्रीनाथ बराल सहइन्चार्जमा राखिएका छन्।
त्यसैगरी लुम्बिनी प्रदेशको जिम्मा चक्रपाणि खनाल लाई दिइएको छ भने सहइन्चार्ज मेटमणि चौधरी छन्। कर्णाली प्रदेशमा चन्द्र बहादुर शाही इन्चार्ज तोकिएका छन्।
सुदूरपश्चिम प्रदेशको इन्चार्जमा डा. भीम रावल रहेका छन् भने सहइन्चार्जमा खगराज भट्ट र रञ्जिता श्रेष्ठ लाई जिम्मेवारी दिइएको छ। यद्यपि रावलले जिम्मेवारी अस्वीकार गरेमा भानुभक्त जोशी लाई ल्याउने विकल्प खुला राखिएको स्रोतले जनाएको छ।
यस्तै, उपत्यका विशेष प्रदेशको इन्चार्ज हितमान शाक्य र सम्पर्क प्रदेशको जिम्मेवारी यशोदा सुवेदी लाई दिइएको छ।
नेकपाले कार्यविभाजनमार्फत संगठनलाई थप व्यवस्थित बनाउने र एकता प्रक्रियालाई संस्थागत गर्ने लक्ष्य लिएको जनाएको छ।




