२०८३ बैशाख १६

सीप, प्रविधि र उत्पादनशीलता: जिफन्टको नयाँ श्रमिक दृष्टिकोण

काठमाडौँ । बदलिँदो प्रविधि, श्रम बजार र सामाजिक–आर्थिक संरचनालाई ध्यानमा राख्दै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले श्रमिक आन्दोलनलाई नयाँ दिशामा लैजाने घोषणा गरेको छ।

मे दिवस २०२६ को पूर्वसन्ध्यामा सार्वजनिक गरिएको घोषणापत्रमार्फत जिफन्टले अबको आन्दोलन केवल तलब वृद्धि वा पारिश्रमिकका मागमा सीमित नहुने स्पष्ट गरेको छ। संगठनले श्रमिक आन्दोलनलाई दक्षता विकास, डिजिटल रूपान्तरण र उत्पादनशीलतासँग प्रत्यक्ष जोड्ने नयाँ दृष्टिकोण अघि सारेको हो।

महासंघका महासचिव लक्ष्मण शर्मा का अनुसार विश्व श्रम बजारमा भइरहेको तीव्र परिवर्तनका कारण पुराना ढाँचाबाट मात्रै श्रमिकका समस्या समाधान सम्भव छैन। उनले अबको आन्दोलनलाई “नयाँ सामाजिक सम्झौता” को रूपमा बुझ्नुपर्ने बताए।

उनका अनुसार प्रविधिको विस्तारले कार्यथलोको स्वरूप नै परिवर्तन गरेको छ, जसले श्रमिकको सीप र क्षमता विकासमा नयाँ चुनौती थपेको छ। “परिस्थिति बदलिसकेको छ, अब हामी पुरानै ढर्रामा टिक्न सक्दैनौं,” उनले भने।

घोषणापत्रमा श्रम बजारलाई आधुनिक बनाउन श्रम कानुनमा समयानुकूल सुधार, रोजगारदातासँग नयाँ प्रकारको सहकार्य र निरन्तर संवाद आवश्यक रहेको उल्लेख गरिएको छ। जिफन्टले सरकारसँग समन्वय गरेर श्रमिकका विद्यमान समस्या समाधान गर्ने पनि जनाएको छ।

जिफन्टले आगामी महाधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रिया नभई श्रमिक आन्दोलनको नयाँ दिशा तय गर्ने अवसरका रूपमा लिएको छ। प्रविधिमैत्री कार्यस्थल, सुरक्षित श्रम सम्बन्ध र सीपमा आधारित रोजगार प्रणालीलाई संगठनले मुख्य प्राथमिकतामा राखेको छ।

घोषणापत्रमा “सीपको अभिवृद्धि र प्रविधिसँग प्रगति” भन्ने मूल नारासमेत अघि सारिएको छ। यसले श्रमिकलाई केवल श्रम गर्ने वर्गका रूपमा होइन, दक्ष र प्रतिस्पर्धी जनशक्तिका रूपमा विकास गर्नुपर्ने सन्देश दिएको छ।

यसैगरी, सामाजिक सुरक्षा प्रणालीलाई अझ समावेशी बनाउने, देशभित्रै रोजगारी सिर्जना गर्ने र राष्ट्रिय उत्पादन वृद्धि गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ। महिला, युवा र सीमान्तकृत समुदायको श्रम बजारमा सहभागिता बढाउनुपर्नेमा पनि जोड दिइएको छ।

जिफन्टको यो घोषणापत्रले अबको श्रमिक आन्दोलनलाई परम्परागत मागभन्दा माथि उठाएर दीर्घकालीन रूपान्तरणतर्फ लैजाने संकेत गरेको छ।