काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई मजबुत बनाउन नीति र व्यवहारबीच एकरूपता आवश्यक रहेको बताएका छन्।
प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रमअन्तर्गत आयोजित समसामयिक शासन प्रणाली सम्बन्धी नीति संवाद कार्यशालालाई सम्बोधन गर्दै उनले संघीयताको सफल कार्यान्वयनका लागि नीति निर्माण गर्ने र कार्यान्वयन गर्ने निकायबीच समन्वय अनिवार्य भएको बताए।
मुख्यमन्त्री बानियाँले संघीय संरचनामार्फत जनताको जीवनस्तर सुधार गर्ने लक्ष्य हासिल गर्न नेतृत्वमा स्पष्ट दृष्टिकोण र निर्णय गर्ने साहस आवश्यक पर्नेमा जोड दिए। उनका अनुसार अहिलेको मुख्य चुनौती बोली र व्यवहारबीच देखिएको अन्तर हो, जसका कारण अपेक्षित नतिजा हासिल हुन नसकेको हो।
उनले अब बन्ने नीति स्पष्ट, व्यवहारिक र नतिजामुखी हुनुपर्नेमा जोड दिँदै अस्पष्ट वा दोहोरो अर्थ लाग्ने नीति निर्माणको युग समाप्त हुनुपर्ने बताए।
बानियाँका अनुसार संघीयताको प्रभावकारिता बढाउन सबै तहका सरकारबीच सहकार्य, पारदर्शिता र जिम्मेवारीबोध आवश्यक छ। उनले जनअपेक्षाअनुसार काम गर्न सकिए मात्र संघीय प्रणालीप्रति विश्वास अझ बलियो हुने धारणा व्यक्त गरे।




