२०८३ जेष्ठ २

बागमती प्रदेश सभाको चालु सत्रौ अधिवेशन अन्त्य

काठमाडौँ ।  बागमती प्रदेश सभाको चालु सत्रौ अधिवेशन अन्त्य भएको छ । 

प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति ११: ५९ बजेदेखि अन्त्य गरेको प्रदेस प्रमुखको कार्यालयले जानकारी दिएको छ । 

कार्यालयले प्रदेश प्रमुख देवकोटाले नेपालको संबिधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गरेको जानकारी दिएको छ । 

बागमती प्रदेश सभाको सत्रौ अधिवेशन गत चैत्र २३ गतेदेखि शुरु भएको थियो ।

Read More

ट्रम्प भन्छन्- चीनसँग उत्कृष्ट व्यापार सम्झौता भयो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमणको अन्तिम दिन चीनका राष्ट्रपति सी जिनपिङसँग निर्णायक चरणको भेटवार्ता गरेका छन् । उक्त भेट बेइजीङस्थित झोङनानहाई परिसरमा भएको हो, जसलाई चीनको शीर्ष नेतृत्वको अत्यन्त सुरक्षित र गोप्य सत्ता केन्द्रका रूपमा लिइन्छ ।

भेटपछि ट्रम्पले चीनसँग ‘उत्कृष्ट व्यापार सम्झौता’ भएको दाबी गरेका छन् । उनका अनुसार यी सहमतिबाट अमेरिका र चीन दुवै देशलाई फाइदा पुग्नेछ । उनले भनेका छन्- ‘हामीले केही उत्कृष्ट सम्झौताहरू गरेका छौँ, जसले दुवै देशका लागि राम्रो हुनेछ ।’ तर उनले ती सम्झौताबारे विस्तृत विवरण भने सार्वजनिक गरेनन् ।

अमेरिका र चीनबीच पछिल्ला वर्षहरूमा व्यापार, प्रविधि र सुरक्षाका विषयलाई लिएर तनाव रहँदै आएको छ। यद्यपि दुवै देश सम्बन्ध सुधार गर्ने प्रयासमा पनि रहेको देखिन्छ ।

भेटका क्रममा दुवै नेताका लागि विशेष लन्चको व्यवस्था गरिएको थियो । ह्वाइट हाउसका अनुसार भोजनमा समुद्री खाना सूप, कोड माछा, क्रिस्पी तथा स्टर फ्राई गरिएको लोब्स्टर, मशरूम भरिएको बीफ फिलेटलगायत परिकार समावेश थिए ।

ट्रम्पले आफ्नो चीन भ्रमणको अन्तिम समय बेइजीङस्थित सी जिनपिङको निजी निवासमा बिताएका छन्, जुन निषेधित सहर नजिक रहेको र अत्यन्त कम विदेशीले मात्र पहुँच पाउने स्थान मानिन्छ ।

विदेशी समाचार माध्यमका अनुसार ट्रम्पले त्यहाँ सी जिनपिङसँग लन्च गरेका थिए र त्यसपछि दिउँसो चीनबाट प्रस्थान गर्ने कार्यक्रम रहेको थियो । उनी करिब ४८ घण्टा अघि चीन पुगेका थिए ।

यसैबीच ट्रम्पले इरानबारे आफ्नो र सी जिनपिङको धारणा धेरै हदसम्म समान रहेको बताएका छन्। उनले दुवै देश इरानमा आणविक हतियार नहोस् भन्ने पक्षमा रहेको र समुद्री मार्गहरू खुला रहनुपर्नेमा सहमत भएको बताए ।

ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै सी जिनपिङले छोटो अवधिमा अमेरिकाले हासिल गरेका उपलब्धिको प्रशंसा गरेको दाबी पनि गरेका छन् । साथै उनले अमेरिका–चीन सम्बन्ध अझ मजबुत हुने आशा व्यक्त गरेका छन् ।

Read More

सामाजिक सञ्जालमार्फत महिलालाई धम्की दिदै ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत महिलालाई धम्की दिई ब्ल्याकमेल गर्दै आर्थिक लाभ लिने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

ब्यूरोका अनुसार टिकटक लगायतका सामाजिक सञ्जालमा पीडित महिलाको तस्बिर प्रयोग गरी धम्की दिने, व्यक्तिगत फोटो तथा भिडियो सार्वजनिक गरिदिने चेतावनी दिँदै पैसा असुल्ने गरेको उजुरी परेको थियो । सोही उजुरीका आधारमा प्राविधिक अनुसन्धान र विश्लेषणपछि आरोपीको पहिचान गरिएको हो ।

पक्राउ पर्ने व्यक्ति काभ्रेपलान्चोक जिल्ला, रोशी गाउँपालिका–११ स्थायी ठेगाना भएका २३ वर्षीय समिर तामाङ रहेको प्रहरीले जनाएको छ । उनलाई काठमाडौं महानगरपालिका–१३ कलंकी क्षेत्रबाट पक्राउपछि उनलाई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी विद्युतीय कारोबारसम्बन्धी कसुर र आपराधिक लाभ सम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइएको साइबर ब्यूरोले जनाएको छ ।

प्रहरीले सामाजिक सञ्जालमा हुने यस्ता धम्की, ब्ल्याकमेल तथा अवैध आर्थिक असुलीका घटनाप्रति सतर्क रहन पनि सर्वसाधारणलाई आग्रह गरेको छ ।

Read More

राष्ट्रपति पौडेलसँग राष्ट्र सङ्घकी नेपालस्थित आवासीय समन्वयकर्ता याहियाको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्र सङ्घकी नेपालस्थित आवासीय समन्वयकर्ता लीला पिटर्स याहियाले शिष्टाचार भेट गरेकी छन् ।

शुक्रबार राष्ट्रपतिको कार्यालयमा भएको उक्त भेटमा नेपालका विकास प्राथमिकता तथा नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।

भेटका क्रममा आपसी सहयोगलाई अझ प्रभावकारी बनाउँदै विकासका साझा लक्ष्यहरू हासिल गर्ने विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Read More

सी जिनपिङले अमेरिकालाई ‘ढल्दो देश’ भनेपछि ट्रम्पको यस्तो स्पष्टीकरण

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हाल चीनको भ्रमणमा रहेका बेला चीनका राष्ट्रपति सी जिनपिङले दिएको भनिएको एक अभिव्यक्तिलाई लिएर उनले सामाजिक सञ्जालमा लामो प्रतिक्रिया दिएका छन् ।

सी जिनपिङले लामो समयदेखि पश्चिमी देशहरू ‘पतनतर्फ उन्मुख’ रहेको टिप्पणी गर्दै आएका छन्। तर चिनियाँ सञ्चारमाध्यमले त्यसलाई प्रायः अमेरिका लक्षित भन्दै व्याख्या गर्दै आएका छन् ।

शुक्रबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत लामो पोस्ट गर्दै भने, ‘सी जिनपिङले जब अमेरिकालाई ‘ढल्दो देश’ भनेका थिए, त्यसको इङ्गित वर्तमान प्रशासन होइन, पूर्व राष्ट्रपति जो बाइडेनको समयतर्फ थियो ।’

यो पोस्टलाई ह्वाइट हाउसले पनि पुनः साझा गरेको छ । ट्रम्पले आफ्नो पोस्टमा बाइडेन नेतृत्वको समयलाई लक्षित गर्दै अमेरिका ठूलो क्षतिमा परेको दाबी गरे । उनले खुला सीमा नीति, उच्च कर, अपराध दर र व्यापार सम्झौताहरूलाई लिएर अघिल्लो प्रशासनको आलोचना गरे । उनका अनुसार पछिल्ला १६ महिनामा अमेरिकाले आर्थिक र सैन्य क्षेत्रमा तीव्र प्रगति गरेको छ । उनले शेयर बजारको वृद्धि, रोजगारीका तथ्यांक र विदेशी लगानीलाई उदाहरण दिँदै अमेरिका फेरि आर्थिक रूपमा बलियो बनेको दाबी गरे ।

ट्रम्पले विश्वभरबाट करिब १८ ट्रिलियन डलर बराबरको लगानी अमेरिका भित्रिएको पनि उल्लेख गर्दै अमेरिकी रोजगारी बजार इतिहासकै सबैभन्दा बलियो अवस्थामा पुगेको दाबी गरेका छन् ।

उनले इरान र भेनेजुएलासँग सम्बन्धित अमेरिकी नीति र सैन्य कारबाहीबारे पनि उल्लेख गरेका छन् । ट्रम्पका अनुसार सी जिनपिङले पनि छोटो समयमा अमेरिकी प्रशासनको उपलब्धिको प्रशंसा गरेको बताएका छन् । उनले भने- ‘दुई वर्षअघि अमेरिका पतनतर्फ थियो भन्ने कुरासँग म सहमत थिए, तर अहिले अमेरिका विश्वकै सबैभन्दा बलियो र चर्चित देश बनेको छ ।’ ट्रम्पले अमेरिका–चीन सम्बन्ध अझ मजबुत हुन सक्ने आशा पनि व्यक्त गरेका छन् । तर राष्ट्रपति सी जिनपिङले ट्रम्पको वर्तमान भ्रमणका क्रममा त्यस्तो कुनै टिप्पणी गरेको स्पष्ट प्रमाण भने सार्वजनिक भएको छैन ।

बरु सी जिनपिङले बिहीबारको प्रारम्भिक सम्बोधनमा ‘थ्युसिडाइड्स ट्र्याप’ भन्ने ऐतिहासिक अवधारणाको उल्लेख गरेका थिए । उनले भनेका थिए- ‘विश्व नयाँ मोडमा पुगेको छ। के चीन र अमेरिकाले शक्ति संघर्षको पुरानो चक्रबाट बाहिर निस्केर नयाँ सम्बन्ध मोडेल बनाउन सक्छन् ?’

यो अवधारणा हार्भर्ड विश्वविद्यालयका प्राध्यापक ग्राहम एलिसनले प्रस्तुत गरेका हुन् । यसको आधार प्राचीन इतिहासकार थ्युसिडाइड्सको विचार हो, जसले एथेन्सको उदय र स्पार्टामा उत्पन्न डरका कारण पेलोपोनेशियन युद्ध अनिवार्य बनेको तर्क गरेका थिए ।

Read More

सुन तोलाको ४ हजारले घट्यो, चाँदीमा पनि गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको ४ हजार घटेर तोलाको २ लाख ९८ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख २ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५५  रुपैयाँले घटेर ५३९०  मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५७४५ मा कारोबार भएको थियो ।

Read More

जेनजी आन्दोलनका अगुवाहरुको संविधान संशोधन सम्बन्धी छलफलमा भाग लिन अस्वीकार

काठमाडौं । जेनजी आन्दोलनका अगुवाहरूले संविधान संशोधन सम्बन्धी छलफलमा सहभागी नहुने घोषणा गरेका छन् । 

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह नेतृत्वको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले जेनजी प्रतिनिधि भन्दै छलफल गर्न आज बोलाएका २५ जना प्रतिनिधिहरुले संयुक्त विज्ञप्ति जारी गर्दै छलफलमा सहभागी नहुने घोषणा गरेका हुन् । उनीहरूले आफूहरूसँग विगतमा भएको सम्झौता कार्यान्वयन नभएको र सरकार अपारदर्शी ढंगले अघि बढेको आरोप लगाएका छन् ।

उनीहरुले लिखित रूपमै सम्पन्न भइसकेको सम्झौताको कार्यान्वयन नगरेर ३ मिनेट सुझाव दिन आमन्त्रण गर्ने कार्य केवल औपचारिकता पूरा गर्न मात्रै बोलाइको भन्ने संशय उत्पन्न भएको बताउदै छलफलमा सहभागी हुन के कस्तो प्रक्रिया र आधारमा छनौट गरिएको हो भन्ने समेत स्पष्ट नभएको उनीहरुले बताएका छन् ।

संयुक वक्तय जारी गर्नेमा अमृता वन, अमित खनाल उर्जा, अर्णव चौधरी, आयुष बस्याल, उपार्जुन चाम्लिङ, कमल मगर, जनक पोखरेल, तनुजा पाण्डे, प्रभात लाभ, प्रज्वल विक्रम राणा, पेमा वाङमो लामा, माजिद अन्सारी, मोनिश चौधरी, मोनिका निरौला, यतिष ओझा, यादव अर्याल, रक्षा बम, रिजन राना मगर, रुक्शना कपाली, लक्ष्मीई घिमिरे, विप्लवी न्यौपाने, सरिस्मा थापा, सांकेंन राई र सुदिप सेठ रहेका छन् ।  

उनीहरुले  यस्ता किसिमका छलफलमा पुनः आमन्त्रण गर्नुअघि हाम्रा निम्न बमोजिमका मागहरू पूरा गर्न नेपाल सरकारसमक्ष अपिल गरेका छन् ।

१- मिति २०८२ मङ्सिर २४ मा भएको जेन-जी जनआन्दोलनको सम्झौता अक्षरशः कार्यान्वयन ।

२- भदौ २३, २४ को आन्दोलनमा सहभागी भएकै कारण झुट्ठा मुद्दा लगाई पक्राउ परेका, जेल चलान भएका, मुद्दा चलेका आन्दोलनकारीको तत्काल रिहाई र मुद्दा फिर्ता ।

३- शहीद परिवार र घाइते साथीहरूलाई न्याय ।

४- वि.सं. २०८२ सालको जेन-जी आन्दोलन लगायत विभिन्न राजनीतिक सामाजिक आन्दोलन (२०४६ सालको पहिलो जनआन्दोलन, २०६२।६३ सालको दोश्रो जनआन्दोलन, मधेश आन्दोलन, थरुहट आन्दोलन) लगायतका आन्दोलनहरुको जाँचबुझ र छानबिन आयोगका प्रतिवेदन सार्वजनिक र कार्यान्वयन ।

५- भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासी लगायतका नेपाली नागरिकमाथि राज्यले गरिरहेको मानवअधिकार उल्लङ्घन तथा दमनका कार्यमा तत्काल रोक तथा न्यायोचित व्यवस्थापन ।

६- संविधान संशोधन गर्नका लागि जेन-जी जनआन्दोलनको सम्झौताको धारा ५ बमोजिम संविधान संशोधन सुझाव आयोग गठन गरी संशोधन योग्य विषय ग्रहण गर्नका लागि यसै आयोगले स्थानीय, प्रदेश र सङ्घीय तहमा व्यापक बहस, संवाद, अन्तरक्रिया गरी महिला, दलित, मधेशी, आदिवासी जनजाति, थारू, मुस्लिम, पिछडिएको वर्ग, अल्पसङ्ख्यक, सीमान्तकृत, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक रूपमा विविध पहिचान भएका समुदाय, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रूपमा विपन्न खस आर्य, सशस्त्र द्वन्द्व पीडित लगायतका सरोकारवाला समुदाय एवम् आम नेपाली नागरिकसँग परामर्श सञ्चालन गरेर मात्रै विषय निर्धारण गरी संशोधनको प्रक्रिया अगाडि बढाउने ।

Read More

चलचित्र ‘गौँथली’ साउन १ गतेबाट प्रदर्शनमा आउने

काठमाडौं । चलचित्र ‘गौँथली’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले सिनेमाका दुईवटा पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक दुई पोस्टरमा चलचित्रका दुई मुख्य पात्र छन् । एउटामा नायक र नायिका दुवै अटाएका छन् भने अर्कोमा नायिका मात्रै छिन् ।

पोस्टरले सिनेमा ग्रामीण समाजको कथामा बनेको प्रस्ट पार्ने प्रयास गरेको छ । पहिलो पोस्टरमा नायक अरुण क्षेत्री र सिम्रन खड्का फिचर्ड छन् । उनीहरू दुलाहा–दुलहीको भेषमा छन् । दौरासुरुवाल, कोट, ढाका टोपी र दुबोको माला अथवा बेहुलाको पहिरनमा छन् । उनले बाँधेको पटुकीमा गुलेली सिउरिएका छन् । उनका हातमा औंला केही एबनर्मल देखिएका छन् । उनका हातका औंलाको पोजिसन र पटुकीमा सिउरिएको गुलेलीले उनमा शारीरिक रूपमा केही समस्या रहेको संकेत गर्छ ।

उनको मुहारमा जोस देखिन्छ । यता सँगै बेहुलीको पहिरनमा रहेकी सिम्रनको मुहारमा भने तनाव झल्किएको छ । पृष्ठभूमिमा रहेको घर र उभिएको आगनले उनीहरू कुनै गाउँका स्थानीय हुन् भन्ने प्रष्ट पार्छ । खरले छाएको सानो झुपडीले उनीहरू गरिब परिवारको रहेको संकेत गरेको छ ।

अर्को पोस्टरमा सिम्रन एक्लै छिन्, जसमा उनी डोकोमा स्याउला बोकेर हिँडिरहेकी छन् । खाली खुट्टा रहेकी उनी डोकोमा स्याउला बोकेर हिँडिरहेकी छिन् । तर, उनी पढिरहेकी छन् । यसले उनी बिहे गरेपछि पनि घरको काम गर्दै पढ्दै गरेको बुझाउँछन् । पढ्ने तीव्र चाहना हुँदाहुँदै उनको विवाह भएको तर आफ्नो पढ्ने उद्देश्यबाट विचलित नभएको यो पोस्टरले संकेत गर्छ । पर देखिने हिमालले उनको घर उच्च पहाडमा रहेको जनाउँछ । सार्वजनिक दुई पोस्टरले पहाडमा बस्ने एक गरिब परिवारको कथा चलचित्रले देखाउने गरेको छ ।

‘गौँथली’ साउन १ गतेबाट प्रदर्शनमा आउँदैछ । डा. कपिल रिजालले निर्देशन गरेको चलचित्र ‘गौँथली’मा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन् । यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।

डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् । चलचित्रमा ‘गौँथली’को प्रतीकात्मक अर्थ घर, परिवार र आपसी सामीप्यता रहेको  निर्माण पक्षले जनाएको छ । भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् ।

शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको यस चलचित्रमा पाश्र्व संगीत एलिस कार्कीको छ । चलचित्रलाई हरि हुमागाईंले खिचेका हुन् भने मिलन श्रेष्ठले सम्पादन गरेका छन् । गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस चलचित्रमा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन, रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ ।

यो चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफ.डी. कम्पनीले वितरण गर्ने छन् । डिजिटल पार्टनर ‘ओएसआर डिजिटल’ रहेको छ । ‘गौँथली’ नाममा डा. भोला रिजालले दुई दशकअघि चलचित्र निर्माण गरेका थिए । उक्त चलचित्रलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ । ‘गौथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो ।

अहिले सोही नाममा डा. भोला रिजालका छोरा तथा निर्देशक डा. कपिल रिजालले नयाँ चलचित्र ‘गौँथली’ निर्देशन गरिरहेका छन् ।

Read More

डिजिटल अर्थतन्त्रदेखि कृषि आधुनिकीकरणसम्म : बजेट २०८३/८४ मा सरकारका प्राथमिकता सार्वजनिक

काठमाडौं   सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सूचना प्रविधि, कृषि, ऊर्जा, पूर्वाधार र सामाजिक क्षेत्रलाई केन्द्रमा राख्दै आर्थिक रूपान्तरणको आधार तयार गर्ने नीति सार्वजनिक गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार संघीय संसद्का दुवै सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै डिजिटल सार्वजनिक सेवा, उत्पादनमुखी अर्थतन्त्र, लगानीमैत्री वातावरण र संरचनागत सुधारलाई आगामी बजेटको मुख्य आधार बनाइने बताएका हुन्।

सरकारले ‘एकद्वार, समयबद्ध र डिजिटल प्रशासन’ लागू गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने, कृषि उत्पादन र निर्यात वृद्धि गर्ने तथा नेपाललाई क्षेत्रीय ‘टेक हब’का रूपमा विकास गर्ने नीति अघि सारेको छ।

क्षेत्रगत बजेट प्राथमिकता तथा नीतिहरू

क्षेत्रबजेट प्राथमिकतानीतिगत व्यवस्था
डिजिटल प्रशासनडिजिटल सेवा विस्तार‘एकद्वार’ प्रणाली, नागरिक एप, राष्ट्रिय परिचयपत्रमा आधारित एकीकृत डाटाबेस
सूचना प्रविधि (IT)डेटा सेन्टर, क्लाउड, AI र साइबर सुरक्षाडिजिटल सेवा निर्यात, रिमोट वर्क र डिजिटल नोम्याडलाई कानुनी मान्यता
कृषिउत्पादन क्लष्टर, सिँचाइ, प्रशोधन उद्योगन्यूनतम समर्थन मूल्य, व्यावसायिक कृषि मोडल, कृषि बीमा
ऊर्जाजलाशययुक्त आयोजना र प्रसारण लाइनहरित हाइड्रोजन, ऊर्जा व्यापार र नवीकरणीय ऊर्जा उद्योग
पूर्वाधारद्रुतमार्ग, आर्थिक करिडोर, सुरुङमार्गPPP मोडल, रणनीतिक आयोजना ‘मिसन मोड’मा सञ्चालन
पर्यटनपर्यटन सर्किट र ट्रेकिङ मार्गधार्मिक, सांस्कृतिक, साहसिक तथा समुदायमा आधारित पर्यटन
शिक्षाप्राविधिक तथा अनुसन्धानमुखी शिक्षाराष्ट्रिय अनुसन्धान तथा नवप्रवर्तन कोष स्थापना
स्वास्थ्यआधारभूत अस्पताल र टेलिहेल्थस्वास्थ्य बीमा पुनःसंरचना, मानसिक स्वास्थ्यमा प्राथमिकता
सामाजिक सुरक्षारोजगार र उद्यमशीलता कार्यक्रम‘कमाउँदै सिक्दै’ अवधारणा, श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध
सहरी विकासमास ट्रान्जिट र फोहोर व्यवस्थापनढल प्रशोधन, चक्रीय सहरी अर्थतन्त्र
लगानी तथा वित्तदीर्घकालीन पुँजी परिचालनपूर्वाधार बन्ड, हरित बन्ड, डायस्पोरा लगानी
सहकारी क्षेत्रपुनःसंरचना र नियमनबचतकर्ताको सुरक्षा र वित्तीय अनुशासन
वैदेशिक नीतिविदेशी लगानी र प्रविधि हस्तान्तरणडायस्पोरा साझेदारी र जलवायु वित्त पहुँच विस्तार

बजेटका मुख्य बुँदा

  • सार्वजनिक सेवा पूर्ण रूपमा डिजिटल प्रणालीमा लैजाने तयारी
  • निजी क्षेत्रको लगानी आकर्षित गर्न कानुनी तथा संस्थागत सुधार
  • कृषि, पर्यटन, ऊर्जा र IT क्षेत्रलाई आर्थिक वृद्धिको मुख्य आधार बनाउने नीति
  • अधुरा राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्न प्राथमिकता
  • नेपाललाई ‘उच्च मूल्य सिर्जना गर्ने डिजिटल अर्थतन्त्र’मा रूपान्तरण गर्ने लक्ष्य
  • शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा विस्तारमा जोड

निष्कर्ष

सरकारले आगामी बजेटमार्फत आर्थिक वृद्धि, डिजिटल रूपान्तरण, पूर्वाधार विस्तार र सामाजिक सेवा सुधारलाई केन्द्रमा राखेको छ। सूचना प्रविधि, हरित ऊर्जा, कृषि आधुनिकीकरण र निजी क्षेत्रको लगानीलाई प्राथमिकता दिइएको यो नीति आगामी आर्थिक वर्षको आर्थिक दिशा तय गर्ने आधारका रूपमा हेरिएको छ।

Read More

भारत-ए टिममा वैभव सूर्यवंशी

काठमाडौँ । भारतका १५ वर्षीय क्रिकेटर वैभव सूर्यवंशीलाई एकदिवसीय त्रिदेशीय सिरिजका लागि भारत ए टोलीमा समावेश गरिएको छ । तिलक बर्माको कप्तानीमा घोषणा गरिएको भारतीय ए टिममा सुर्यबंशीलाई सामेल गरिएको हो ।

सूर्यवंशी यसअघि एशिया कप राइजिङ स्टार्स तथा १९ वर्षमुनिको विश्वकपमा भारतको प्रतिनिधित्व गरिसकेका खेलाडी हुन् । यही वर्ष जनवरीमा भएको १९ वर्षमुनिको विश्वकप फाइनलमा उनले १७५ रनको शानदार इनिङ्स खेलेका थिए । उत्कृष्ट प्रदर्शनकै आधारमा उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

वैभवले आगामी जुनमा श्रीलंकामा हुने एकदिवसीय त्रिदेशीय सिरिज खेल्नेछन् । प्रतियोगितामा भारत–ए, श्रीलंका–ए र अफगानिस्तान–ए टोली सहभागी रहनेछन् । सूर्यवंशीले जारी आइपिएलमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

सूर्यवंशीको क्रिकेट यात्रा १२ वर्षको उमेरमै रणजी ट्रफीबाट सुरु भएको थियो । उनले जनवरी २०२४ मा बिहारका लागि रणजी ट्रफीमा पदार्पण गरेका थिए । त्यतिबेला उनी १२ वर्षका मात्र थिए । उनले मुम्बई र छत्तीसगढविरुद्ध दुई प्रथम श्रेणी खेल खेल्दै ३१ रन बनाएका थिए ।

यससँगै उनले सचिन तेन्दुलकर र युवराज सिंहको कीर्तिमान तोड्दै घरेलु प्रथम श्रेणी क्रिकेटमा सबैभन्दा कम उमेरमा डेब्यु गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए ।

१३ वर्षको उमेरमा उनले अस्ट्रेलियाविरुद्धको १९ वर्षमुनिको युवा टेस्ट शृंखलामा ५८ बलमै शतक प्रहार गरेका थिए । यो १९ वर्षमुनिको टेस्ट क्रिकेट इतिहासकै दोस्रो सबैभन्दा छिटो शतक थियो । उनले ६२ बलमा १०४ रन बनाउने क्रममा १४ चौका र ४ छक्का प्रहार गरेका थिए ।

उनले लिस्ट–ए क्रिकेटमा हालसम्म ८ खेल खेल्दै ४४.१२ को औसत र १६४.९५ को स्ट्राइक रेटमा ३५३ रन बनाएका छन् । यस क्रममा उनको उच्च स्कोर १९० रन रहेको छ । उनले यस ढाँचामा एक शतक र एक अर्धशतक प्रहार गरेका छन् । साथै ३७ चौका र २३ छक्का पनि हानेका छन् ।

आइपिएलको २०२५ मा उनले केवल ७ खेलमा २५२ रन बनाएका थिए । जसमा एक शतक र एक अर्धशतक समावेश थियो । यिनै प्रदर्शनका आधारमा भारतीय क्रिकेट नियन्त्रण बोर्डले उनलाई भारत–ए टोलीमा स्थान दिएको हो ।

एशिया कप राइजिङ स्टार्स टी–२० प्रतियोगिता २०२५ मा वैभवले ४ खेलमा ५९.७५ को औसत र २४३.८७ को स्ट्राइक रेटमा २३९ रन बनाएका थिए । यस क्रममा उनले १४४ रनको उत्कृष्ट इनिङ्स खेलेका थिए । प्रतियोगितामा उनले एक शतक प्रहार गर्नुका साथै २० चौका र २२ छक्का पनि हानेका थिए ।

जुनमा हुने त्रिदेशीय एकदिवसीय सिरिजका लागि भारत–ए टोलीमा प्रियांश आर्य, वैभव सूर्यवंशी, आयुष बडोनी, निशान्त सिन्धु र अंशुल कम्बोजजस्ता युवा खेलाडीलाई अवसर दिइएको छ । विकेटकिपरतर्फ प्रभसिमरन सिंह र कुमार कुशाग्र टोलीमा रहेका छन् ।

प्रतियोगिताका सबै खेल दाम्बुलामा खेलाइनेछन् । त्यसपछि भारत–ए टोलीले श्रीलंका–एसँग दुई बहुदिवसीय खेल पनि खेल्नेछ । त्यसका लागि छुट्टै टोली पछि घोषणा गरिने बताइएको छ ।

भारत–ए टोलीमा तिलक वर्मा कप्तान रहेका छन् भने प्रियांश आर्य, वैभव सूर्यवंशी, रियान पराग, आयुष बडोनी, निशान्त सिन्धु, हर्ष दुबे, सूर्यांश शेडगे, प्रभसिमरन सिंह, कुमार कुशाग्र, विपराज निगम, यश ठाकुर, युधवीर सिंह, अंशुल कम्बोज र अरशद खान समावेश छन् ।

Read More